
२० जेठ, काठमाडौं । टोकियो ओलम्पिक २०२० की अध्यक्ष सेइको हाशिमोतोले प्रतियोगिता हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएकी छिन् ।
यद्यपि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर फैलिरहेको अवस्थामा भने यो प्रतियोगिता दर्शक बिना नै आयोजना हुन सक्ने उनको भनाइ छ ।
सेइको हाशिमेतोले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘मेलाई विश्वास छ कि खेल हुने सम्भावना शतप्रतिशत छ र यो हामी गर्नेछौं ।’
विश्वको सबैभन्दा ठूलो खेल प्रतियोगिता हुन अब ५० दिन बाँकी छ । ओलम्पिक जुलाई २३ देखि सुरु हुनेछ ।
यद्यपि पछिल्लो समय जापानमा कोरोनाको संक्रमण बढेसँगै यो प्रतियोगिताबारे चिन्ता बढेको छ । जापानले मुलुकको ठूलो क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्य आपतकाल लगाएको छ । हाशिमेतोले अहिले कसरी सुरक्षित खेल खेलाउन सकिन्छ भन्ने ठूलो प्रश्न रहेको बताएकी छिन् ।
‘हाम्रो सामू सबैभन्दा ठूलो चुनौती यो छ कि कसरी मानिसको संख्या नियन्त्रण गर्ने ? यदि प्रतियोगिता जारी रहेकै समयमा महामारी अनियन्त्रित भयो भने मलाई लाग्छ कि प्रतियोगिता दर्शक बिना नै गर्नुपर्ने हुन्छ’, उनले थपिन् ।
टोकियोमा गत वर्ष ओलम्पिक खेल हुने तय थियो तर कोरोना महामारीको कारण अन्तिम समयमा खेल स्थगित भएको थियो ।
प्रतिक्रिया 4