
२० जेठ, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
तीमध्ये ताप्लेजुङ, सप्तरी र मुस्ताङमा आंशिक निषेधाज्ञा लगाइएको छ ।
खोटाङमा भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी नगरे पनि स्थानीय तह, व्यापार संघ, यातायात व्यवसायी संघ लगायतले आफैं बजार, पसल र यातायात बन्द गर्ने गरेका छन् । उनीहरुले अत्यावश्यक बाहेक सम्पूर्ण सवारी साधन चलाउन बन्द गरेका छन् भने दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्ने गरेको खोटाङ सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।
‘जिल्लामा संक्रमण दर पनि घट्दै गएको र स्थानीयवासी, व्यापार संघ, यातायात व्यवसायीहरुले स्वतःस्फूर्त रुपमा यातायात र बजार बन्द गर्ने गरेका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।
खोटाङ जिल्लाभर हाल ६३६ जना सक्रिय कोरोना संक्रमित रहेको र ५ जनाको मृत्यु भइसकेको श्रेष्ठले बताए ।
यस्तै हिमाली जिल्ला मनाङमा भने निषेधाज्ञा लगाउनुपर्ने आवश्यकता नै नदेखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जनसंख्या कम भएकाले मानिसहरुको सम्पर्क पनि पातलो हुने भएकाले संक्रमण दर तीव्र रुपमा नबढेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन् । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने कडाइ गरिरहेको उनको भनाइ छ ।
मनाङमा हाल २९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया 4