Comments Add Comment

चारबुँदे सहमतिपछि ललितपुर महानगरमा शनिबार नगरसभा

१८ असार, काठमाडौं । ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका विषयमा देखिएको बिवाद समाधान गर्नका लागि नेकपा एमाले, माओवादी केन्द्र र महानगरपालिकाका मेयर चिरीबावु महर्जनबीच चार बुँदे समझदारी भएको छ ।

विधि र प्रक्रिया नै पुरा नगरी मेयर महर्जनले नीति र बजेट पारित गर्ने तयारी गरेको भन्दै एमाले र माओवादीले विरोध गर्दै आएका थिए । महानगरको कार्यपालिका र नगरसभा दुबैमा मेयर अल्पमतमा छन् । अल्पमतमा परेका कारण महानगरको नीति र बजेट अहिलेसम्म पारित हुनसकेको छैन ।

विवाद समाधानका लागि त्रिपक्षीय बैठकबाट चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको महानगरको वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए । विभिन्न समयमा राखेका ध्यानाकर्षण, त्रापन र असहमतिका पत्रका सम्बन्धमा २०७८ असार २३ गतेभित्र कार्यपालिकामा छलफल गरी टुंग्याउने, कार्यपालिकाको बैठक नियमित रुपमा राख्दै जाने, आगामी दिनमा त्रिपक्षीय समन्वय, सहमति र सहकार्यका आधारमा छलफल गरी कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयन गर्ने र एक आपसका कमजोरीहरु देखिएमा आपसी छलफलका माध्यमबाट सुधार गर्ने सहमति जुटेको उनले बताए ।

सहमतिपत्रमा मेयर महर्जन, नेकपा एमालेका तर्फबाट श्रीगोपाल महर्जन र माओवादी केन्द्रका तर्फबाट रवीन्द्र महर्जनले हस्ताक्षर गरेका छन् । मेयर महर्जनले बिहीबार नगरसभा बैठक बोलाएका थिए । नीति तथा कार्यक्रमका विषयमा अध्ययन गर्न बहुमत नगरसभा सदस्यहरुले आग्रह गरेपछि शनिबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

भोलि ११ बजे बस्ने बैठकमा नीतिमा केके संशोधन गर्नुपर्छ भन्ने राय पेश गर्ने विपक्षीहरुको तयारी छ । बजेटका सन्दर्भमा भने आर्थिक विधेयक र विनियोजन विधेयक समेत कार्यपालिका बैठकमा हालसम्म पेश गरिएको छैन । कार्यपालिबाट पारित नगरी आएको विधेयक मान्य नहुने कार्यपालिका सदस्य श्रीगोपाल महर्जन बताएँछन् । कार्यपालिबाट पास भएर आए सबैलाई स्वीकार्य हुने उनले बताए ।

‘हामीले विरोधका लागि विरोध गरेका होइनौं, काम गर्दा विधि र प्रक्रिया पुरा गरेर गर्नुपर्छ भन्ने हाम्रो कुरा हो,’ वडाध्यक्ष महर्जन भन्छन्,’विधि र प्रक्रिया पुरा गर्ने हो भने हामी सहमतिमा जान्छौं, यसो गर्दा सबैका लागि राम्रो हुन्छ ।’

हरेक स्थानीय तहहरुले १० असारमै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । ललितपुरले पनि गत १० गते नै बजेट ल्याउने तयारी गरेको भए पनि मेयरले विधि र प्रक्रिया पुरा नगरेको भन्दै बहुमत नगरसभा सदस्यहरुले नगरसभा बैठक नै बहिष्कार गरेका थिए ।

नेपाली कांग्रेसबाट ललितपुर महानगरमा मेयर महर्जन र उपमेयर गिता सत्याल विजयी भएका थिए । ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

नगर कार्यपालिकाका ३९ सदस्यीयमध्ये २६ जना मेयरको विपक्षमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष महर्जन बताउँछन् । मेयरको पक्षमा १३ जनामात्रै छन् ।

नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । नगरसभामा बहुमत नभएका कारण बुधबार नगरसभामा पेश भएको नीति तथा कार्यक्रम पनि पारित भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment