+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसमा क्रियाशील सदस्यता लिनबाट बञ्चित गर्न खोजेको नवप्रवेशीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते ७:५९

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा बढी विवाद देखिएको हो ।

मकवानपुरको हेटौंडामा सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका अधिकांशले आफूलाई क्रियाशील सदस्यताबाट बन्चित गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले मादपण्ड अनुसार क्रियाशील सदस्यता लिन खोज्दा पनि आफूहरुलाई सदस्यता नदिइएको गुनासो गरेका हुन् । ‘हामी पार्टी सभापतिबाट सदस्यता लिएर कांग्रेसमा प्रवेश गरेका हौं’, स्थानीय अमित अग्रवालले भने, ‘पार्टीको प्रक्रिया अनुसार नै क्रियाशील सदस्यता लिन खोज्दा पनि हामीमाथि नै राजनीति गर्ने काम भएको छ ।’ उनले क्रियाशील सदस्यता नदिएर पार्टीभित्र निरुत्साहित गर्ने काम भएको बताए ।

अघिल्लो वर्ष पार्टी कार्यक्रममा हेटौंडा पुगेका देउवाले राप्रपाबाट ठूलो संख्यामा स्थानीय नेता कार्यकर्तालाई कांग्रेसको सदस्यता दिएका थिए । कांग्रेस प्रवेश गर्नेमा हेटौंडा उपमहानगरपालिका-२ र ९ मा धेरै थिए ।

कांग्रेस उपसभापति विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताको क्रियाशील सदस्यता स्वतः नवीकरण हुने भनिए पनि अन्य पार्टीबाट प्रवेश गरेकाको हकमा भने वडाबाटै सिफारिश हुनुपर्ने मापदण्ड कांग्रेसले बनाएको छ ।

‘राप्रपाबाट कांग्रेसमा आउनुभएका साथीहरुले सबै प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता पाउनुभएको हो,’ नगर सभापति आनन्दराज पराजुलीले भने, ‘अन्य पार्टीबाट आएका साथीहरुलाई सदस्यतामै रोक्ने हो भने पार्टी संगठन कसरी बलियो हुन्छ ?’
राप्रपालगायत अन्य पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ताको क्रियाशील बदर माग गर्दै केहि नेताहरु धर्नामा बसेपछि विवाद भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६-१९ सम्म काठमाडौंमा हुँदैछ । १२ साउनमा वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता नटुंगिएसम्म अधिवेशन सम्भव हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?