
२८ साउन, काठमाडौं। महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि बूढानीलकण्ठमा ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई ज्ञापन बुझाएको हो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिन र कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्ने वातावरण सिर्जना गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । साथै उनले सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने जानकारी युवा नेताहरुलाई दिएका थिए । सभापति देउवालाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरुले धर्ना दिएका थिए ।
प्रतिक्रिया 4