Comments Add Comment

६ महिनामा फैसला हुनुपर्ने डनको मुद्दा १६ महिनासम्म विचाराधीन

११ भदौ, काठमाडौं । विशेष अदालतले हेर्दै आएको सम्पत्ति शुद्धीकरणको मुद्दाको फैसलामा ढिलासुस्ती देखिएको छ । मुद्दाको चाप बढेको भन्दै विशेष प्रकृतिको भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्न विशेष अदालत गठन गरिए पनि विशेष अदालतले चुस्त दुरुस्त भएर काम गर्न सकेको छैन् ।

विशेष अदालत ऐन २०५९ मा भ्रष्टाचार, अनियमितता, नक्कली शैक्षिक प्रमाणपत्र र घुस रिस्वतसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ महिनाभित्र फैसला गरिसक्नुपर्ने उल्लेख छ । तर, मुद्दाको अत्यधिक चापले गर्दा १६ महिनाअघि ०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण विभागले अदालतमा दर्ता गरेको चर्चित डन चक्रे मिलन, दीपक मनाङ्गे, परशुराम बस्नेत, अभिशेष गिरी र गणेश लामाको मुद्दामा अझै फैसलान हुन नसकेको बुधबार साप्ताहिकमा खबर छ ।

पर्याप्त जनशक्तिको अभाव र एउटै मात्र इजलास भएकाले अदालतले अपेक्षाकृत रुपमा काम गर्न नसकेको रजिष्ट्रार नातीबाबु लामिछाने बताउँछन् । ‘गठन हुँदाताका नै भ्रष्ट्राचारसम्बन्धी मुद्दाको चाप यति फराकिलो होला भन्ने नसोचिएकाले अदालतको संरचना सानै बनाइयो तर, अहिले चाप बढेकाले अपुग हुन थालेको छ,’-लामिछानेले भने । अदालतमा अहिले क र ख दुई फाँटमा क्रमश १ सय र ९४ गरी एकसय ९४ मुद्दा चालू छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ महिनाअघि चक्रे मिलन भनिने मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङविरुद्ध मुद्दा दायर गरेकोमा बल्ल आएर फैसलाका लागि पेशीमा चढेको छ । त्यस्तै अर्का चर्चित डन दीपक मनाङे भनिने राजीव गुरुङ र उनकी श्रीमती पासाङ डोल्मा गुरुङविरुद्ध परेको उजुरी पनि फैसला प्रक्रियातिर गएको बताइएको छ । भदौ १६ का लागि साक्षी र बकपत्र बुझ्न तोकिएको छ । सो बुझेपछि मुद्दा फैसलाका लागि पेशीमा चढ्नेछ । त्यस्तै पर्शुराम बस्नेत विरुद्धको मुद्दामा भदौ ३० का लागि पेशी तोकिएको छ ।

उजुरीमा गणेश लामाको सम्पत्ति २७ करोड १ लाख रहेको, दीपक मनाङेको १४ करोड ७३ लाख रहेको, पर्शुराम बस्नेतको ११ करोड ४१ रहेको, चक्रे मिलनको ७ करोड ८ लाख रहेको र अभिषेक गिरीको २ करोड ९ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment