Comments Add Comment

भगवान हनुमानका नाममा परिचयपत्र जारी, राजस्थानमा हंगामा

hanuman

बुवाको नाम पवनजी, ठेगाना वडा नं. ६, पंचायत समितिको नजिग , रामगढ सीकर दातारामगढ, राजस्थान-३३२७०३, परिचयपत्रको नम्बर २०९४७०५१९५४१ । यो कुनै जोक होइन । भारत सरकारले जारी गरेको हनुमान देवताको नाउँको बायोमेटि्रक परिचयपत्रको विवरण हो ।

भगवान हनुमानको नाममा बायोमेटि्रक परिचयपत्र जारी भएको घटनाले अहिले राजस्थानमा हंगामा मच्चिएको छ । प्रहरीले यसको अनुसन्धान समेत सुरु गरिसकेको छ ।

हनुमानकै स्वरुपको तस्वीर अंकित उक्त परिचयपत्रमा हनुमानको फोन नम्बर पनि उल्लेख गरिएको छ ।

बीबीसी हिन्दीका अनुसार हुलाकका कर्मचारीले उक्त परिचयपत्र सम्बन्धित ठेगानामा पूराउन लग्दा पवनजीको छोरा हनुमानजी फेला पर्न सकेनन् । त्यसपछि उनले परिचयपत्रको तस्वीर हेरे । तब उनी झसँग भए, त्यहाँ त भगवान हनुमानकै तस्वीर छ । त्यसपछि उनले त्यो कुनै भद्दा फट्याइँ हो भन्ने थाहा पाए ।

कार्डमा उल्लेखित फोन नम्बरमा फोन गर्दा फोन नलागेको राजस्थानको हुलाक विभागले जनाएको छ । अब उक्त कार्डलाई युनिक आइडेन्टिफिकेसन अथोरिटी अफ इन्डियाको बैंगलोर अफिसमा पठाइने बताइएको छ ।

यस्तो फर्जी कार्ड तयार पार्ने स्थानीय केन्द्र तथा अपरेटरलाई कारवाही गरिने सरकारी अधिकारीले जनाएका छन् । यस्तो काम गर्ने अधिकारीलाई सेवाबाट स्थायी रुपमा बर्खास्त गरिने र त्यस्तो एजेन्सीको दर्ता खारेज गरिने उनको भनाइ छ ।

भारतमा सन् २०१० देखि राष्ट्रिय परिचय पत्र वितरणको अभियानलाई तिब्रता दिइएको छ । यस अन्तरगत १ अर्ब २० करोड जनसंख्याको आँखाको आइरिस, औँठाछाप तथा तस्वीर सहितको बायोमेटि्रक परिचयपत्र बनाउने योजना सरकारको छ । यहीँ परिचयपत्रको आधारमा नागरिकले राज्यप्रदत्त सेवा सुविधा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment