Comments Add Comment

एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

shesh-ghaleअष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको कुराकानी ।

एनआरएनको अध्यक्षको रुपमा कार्यकालकोआधा समय पूरा गर्नुभएको छ, यो एक वर्षलाईकसरी समीक्षा गर्नुहुन्छ ?
मैले जे वाचा गरेर एनआरएनको नेतृत्व लिएको थिएँ, र एनआरएनको छै्रठौं ग्लोबल सम्मेलनले मलाई जे म्याण्डेट दिएको थियो, ती लक्ष्य हाँसिल गर्न यो एक बर्षको छोटो समयमा पनि निकै द्रुत गतिमा काम अगाडि बढाइएको छ । यहाँलाई थाहा छ, स्रोत साधनको कमी र संस्थाको प्रकृतिका कारण धेरै सीमितता छन् । त्यसका बाबजुद पनि म एक पूर्णकालीन अध्यक्षका रुपमा एनआरएन अभियानलाई नेतृत्व गरिरहेको छु र विश्वभर रहेका नेपालीहरुको उत्साहपूर्ण साथले म उर्जाशील बनिरहेको छु ।

मलाई थाहा छ, हामीसँग थोरै समय छ र अवसरहरु पनि थोरै छन् । त्यसैले मैले आफूले सकेजति गम्भीरताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिस गरिरहेको छु । मैले कसरी काम गरिरहेको छु, मैले के गर्न खोजिरहेको छु, मैले कति गर्न सकेँ वा सकिान, यो मैले भन्दा पनि संसारभर छरिएर रहेका एनआरएन साथीहरुले मूल्याङ्कन गर्ने विषय हो । मैले आफ्नो कार्यकाल पूरा गर्ने बेलासम्म उहाँहरुले पक्कै पनि यसबारे समीक्षा गर्नुहुनेछ ।

मलाई व्यक्तिगत रुपमा चाहिँ यो निकै चुनौतीपूर्ण समय हो । सारा व्यक्तिगत काम र बिजनेसलाई एकातिर छाडेर दिनरात यही संस्थालाई सम्वृद्ध बनाउन लागिरहेको छु । यसमा कसैलाई मलाई बाध्य पारेको हैन, समुदाय र संस्थाप्रतिको कर्तव्यवोध गरेर निकै उत्साहका साथ काम गरिरहेको छु । भर्खरै मात्र ‘ग्लोबल टुर’ समापन गरेँ । यसक्रममा विभिन्न मुलुक पुगेर एनआरएन साथीहरुसँग अन्तरक्रिया गरेँ । यसो गर्नुलाई मैले आफ्नो पहिलो कर्तव्य ठान्दछु । यो अभियानको अंग बन्न पाएकोमा म गौरवान्वित छु ।

तपार्इले जुन सोचका साथ नेतृत्व लिनु भएकोथियो, त्यो सोच अनुरुप एक वर्षको काममासन्तुष्ट हुनुहुन्छ ?

एकदमै सन्तुष्ट छु । मैले माथि नै भनेँ कि यो संस्था भर्खर संस्थागत हुने चरणमा छ र यसका धेरै सीमितता छन् । यसको संस्कार र गतिशीलता पनि मैले राम्रोसित बुझेको छु । यस्तो कठिन परिस्थितिबीच मेरो नेतृत्वमा रहेको कार्यसमितिले जे जति गर्न सक्यो, संसारभरका गैरआवासीय नेपालीहरुले निःसर्त र निस्वार्थ जसरी हामीले अघि सारेका कामलाई सहयोग गर्नुभयो, त्यसबाट म अत्यन्तै सन्तुष्ट छु ।

यो संस्थाबाट मैले लिनु केही छैन । तर यति धेरै मनकारी साथीहरु पाएको छु, उहाँहरुको साथ र सहयोग मेरा लागि अमूल्य छ ।

तपार्इले यो एक वर्षे अवधिमा एनआरएनअभियानलाई अघि बढाउँदा मुख्य चुनौती के पाउनु भयो ?

हाम्रो संस्था निकै ठूलो भइसक्यो । यसको बढ्दो स्वरुप र बढ्दो आकांक्षावीच हामीले गर्न सक्ने काम निकै कम छन् । हामीसँग पर्याप्त स्रोत साधन छैन ।काम गर्नका लागि आफ्नै एउटा कार्यालय पनि छैन । संस्थालाई सञ्चालन गर्ने दिगो स्रोत र पर्याप्त जनशक्ति छैन । तर, यी चुनौती र समस्याको पहाडमात्र हैनन्, अवसर पनि हुन् । त्यसैले मेरो ध्यान यी चुनौतीलाई अवसरका रुपान्तर गर्ने र एनआरएन अभियानलाई दिगो बनाउनेतिरै केन्दि्रत छ । यी सबै चुनौतीलाई सामना गर्दै हामीले जेजति गर्न सकेका छौं, त्यो नितान्त निस्वार्थ भावनाले मातृभूमि र संस्थाको हितका खातिर गरिएको योगदान हो । कामको यही गतिलाई कायम राख्न सकियो भने अबको केही बर्षमै एनआरएन सम्बृद्ध र स्रोतसाधनयुक्त संस्था बन्ने छ र हामी मुलुकको सम्बृद्धिको साझेदार बन्न सहज हुने छ ।

यो एक वर्षे अवधिमा तपार्इ एनआरएनअभियानलाई लिएर नेपाल लगायत विश्वकाविभिन्न मुलुकका नियमित रुपमा भ्रमण गर्दैआउनु भएको छ, यी भ्रमणमा तपार्इका मुख्य प्राथमिकताका विषय के के रहे ?

यहाँलाई भनिहालौं कि, यो उमेरमा निरन्तर धपेडीयुक्त यात्रा गर्नु मेरा लागि सजिलो काम पक्कै हैन । तर, बिश्वभरका नेपाली समुदायमाझ पुगेर उहाँहरुसँग अन्तरक्रिया गर्नु, उहाँहरुको दुःख सुखमा सहयात्री बन्नु, उहाँहरुका समस्या बुझ्नु मेरो कर्तब्य र जिम्मेवारी हो । उहाँहरुका समस्या सुनेर केही हदसम्म भए पनि समाधानका लागि कोसिस गर्न पाउँदा मैले आफ्नो कर्तव्य पूरा गरेको ठान्दछु ।

भिन्नभिन्न देशमा जाँदा भिन्नभिन्न इस्यु र एजेण्डा भए पनि, निःसन्देह, एनआरएन संस्थाप्रति गैरआवासीय नेपाली समुदायको विश्वास जगाउनु नै यो दौडधुपयुक्त यात्राको एकमात्र उद्देश्य हो । वाचामात्र हैन, हामी काम पनि गर्छौ भनेर सावित गर्नु पनि हो ।

एनआरएनलाई अझ गतिशील बनाउन यसकोसंरचनामा कुनै परिर्वतन आवश्यक देख्नु हुन्छ ?

जुनसुकै संस्थामा समयसापेक्ष संरचनागत सुधार जरुरी हुन्छ । एनआरएनमा पनि यसलाई दिगो र समयानुकूल बनाउन निरन्तर सुधारको जरुरी छ । हाम्रो संस्थाले यसले एउटा उचाइ हाँसिल गरिसकेको छ र संरचनागत सुधारका लागि यही नै सबैभन्दा उत्तम समय हो । जसले गर्दा आगामी १०/२० वर्ष हामी कहाँ जाने र के गर्ने भन्ने स्पष्ट मार्गनिर्देश गर्नेछ र संस्थाको दिगो विकाश पनि हुने छ ।

यस सन्दर्भमा मैले आफ्नो कार्यकाल सुरु भएसँगै केही काम पनि थालेको छु । संरचनागत समीक्षा गरी केही परिवर्तन पनि भएका छन् । यही नै पर्याप्त नहुन सक्छ, समयको मागबमोजिम निरन्तर परिवर्तन जरुरी छ ।

नेपाल सरकार लगायत बिभिन्न पक्षबाट योवीचमा भएको सहयोग र समन्वयनबाट कत्तिकोसन्तुष्ट हुनुहन्छ ?

सरकारले एनआरएन अभियानलाई जुन तहमा रेस्पोन्स गरेको छ र सहयोग तथा समन्वयका लागि अग्रसरता देखाएको छ, त्यो सन्तोषजनक नै छ । तर, हामी निकै लामो यात्रा छौं र धेरै काम गर्न बाँकी छ । हामीले आफ्नो विश्वनीयता वृद्धि गरी हामी ‘नेपालीका लागि नेपाली’को नारालाई सार्थक बनाउन दत्तचित्त छौं भन्ने हामीले सावित गरिरहनुपर्छ ।

तपार्इले निर्वाचित हुने वित्तिकै एनआरएनकोअपनत्व हुनेगरी मातृभूमिमा आफ्नै भवननिर्माण गर्ने घोषणा गर्नु भएको थियो, यो अभियान कहिले कहाँ पुगेको छ ?

भवन निर्माणका लागि लाग्ने १५ करोड रुपैयाँएनआरएन साथीहरुकै संलग्नताबाट संकलन गर्ने हाम्रो योजना लगभग पूरा हुने अवस्थामा पुगेको छ । हामी केही समयभित्रै भवनको शिलान्यास गर्ने तयारी गर्दैछौं ।

हामीले कुनै सिर्जनशील र नौलो काम गर्न खोजेको हैन, केवल एउटा कार्यालय भवन हो । तर, संसारभरिका एनआरएन साथीहरुको अपनत्व गराउनु र सबैलाई यो अभियानमा सहभागी बनाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले हामीले अभियानै चलाएर रकम संलकन गर्‍यौं । अब एनआरएन भवन बन्ने निश्चित भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाका लागि तपार्इले विषेश चिन्ता व्यक्त गर्नुभएको थियो, उनीहरुको उद्दार र सहयोगका लागि संरचना निर्माण गर्ने काम कसरी अघि बढिरहेको छ ?

म आफैंले १ करोड रुपैयाँ राखेर कोष स्थापनाको सुरुवात गरेको हुँ । कम्तमा ५ करोडको कोष बनाउने हाम्रो लक्ष्य छ । त्यसलाई कसरी सञ्चालन गर्न सकिन्छ, कसरी वास्तविक पीडित नेपालीसमक्ष राहत पुर्‍याउन सकिन्छ भनेर हामीले सघन गृहकार्य गरिरहेका छौं । सरकार, विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग यसबारेमा गम्भीर छलफल भइरहेको छ । त्यसको नतिजा छिटै जानकारी गराउने छौं ।

भर्खरै संविधानसभाको राजनीतिक संवाद समितिले गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने सहमति गरेको छ । यसबाट तपाई कति सन्तुष्ट हुनुहुन्छ ? यो विषय संविधानसभामा संवोधन हुने कुरामा कति विश्वस्त हुनुहुन्छ ?
हामीले भनेजस्तै नभए पनि संविधानसभाको राजनीतिक संवाद समितिमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने सहमति हुनु सकरात्मक र उत्साहजनक छ । शीर्ष नेताहरुसमेत सहभागी समितिले यस्तो निर्णय गरेको हुनाले यही सहमति पूर्ण संविधानसभाले अंगीकार गर्ने र संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था हुने कुरामा म हामी आशावादी छौं । खासगरी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीहरु यो प्रावधानबाट लाभाविन्त हुनेछन् र नेपालमा लगानीको ढोका खोल्न महत्वपूर्ण कदम सावित हुने छ भन्ने मेरो विश्वास छ ।

एनआरएनले देशसँग मागिरहन्छ दिने चाँहि केही होइन भन्ने भनाइ पनि यसै प्रसंगमा कुरा गर्दासुनिन्छ नि ?

तपाई मलाई बताइदिन सक्नुहुन्छ कि, एनआरएनले नेपाल सरकारसँग यो-यो चिज माग्यो भनेर ? हामी नेपाल र नेपालीका लागि दिन भनेरै अघि बढिरहेका छौं र यो मात्र दिइरहने एकतर्फी अभियान हो ।

हामीले हाम्रो सीप र पूँजी नेपालमा लगानी गर्न खोजेका हौं जसका लागि नेपाल सरकारले केही सहजीकरण गरिदिनुपर्छ भनेका छौं । सहजीकरण गर्दा नेपालले गैरआवासीय नेपालीहरुबाट धेरै लिन सक्छ । तपाईको संकेत सायद नागरिकताको निरन्तरताको विषयमा होला, यसबाट गैरआवासीय नेपालीले भन्दा नेपाल र नेपालीले नै बढी फाइदा लिने हो । यसबारे बुझ्न कोसिस नगर्नेले मात्र यस्तो आरोप लगाएका हुन कि जस्तो लाग्छ ।

एनआरएनको संगठनात्मक ढाँचालाई अझ चुस्तबनाउन टास्कफोर्सबाट छुट्टै अध्ययन समेतगराउनु भएको छ, त्यसको निचोड कस्तो पाउनुभयो ?

संगठनात्मक ढााचालाई समय अनुकूल परिवर्तन गर्ने र बढीभन्दा बढी उत्पादनमूलक बनाउने हाम्रो लक्ष्य हो । मैले कार्यभार सम्हाल्नासाथै यही कामलाई अगाडि बढाएँ ।

विज्ञ समूहले यसको दिएको सुझावलाई हामीले कार्यान्वय गर्न पनि सुरु गरिसकेका छौं ।

अहिले नै पनि एनआरएनको संरचनागत ढाँचा पहिलेभन्दा निकै चुस्त भइसकेको छ । अल्पकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरिएका छन् । अब नयाँ कार्यसमितिले हरेक दुई वर्षमा शून्यबाट काम थाल्नुपर्दैन, निर्धारित लक्ष्यअनुसार फटाफट काम सुरु गर्न सक्छन् र दुई बर्षको छोटो अवधिमा पनि धेरै उपलब्धि हाँसिल गर्न सक्छन् ।

दर्ता भइसकेपछि एनआरएनबाट नेपालमा पनि विभिन्न पक्षले देशको विकास लगायतको क्षेत्रमा विशेष आकांक्षा राखेका छन्, उनीहरुको आकांक्षा पूरा गर्ने गरी स्वदेशमा एनआरएनहरुले विशेष केही गर्ने छन् कि ?

संघ दर्ता भएपछि बल्ल हामीलाई नेपालमा बैधानिकरुपमा काम गर्न सहज भयो । निश्चय पनि दर्ता मात्रै ठूलो कुरा हैन, तर यसले एनआरएनको आर्थिक तथा समाजिक क्षेत्रमा लगानी पक्कै बढाउँछ । गएको एक बर्षमा पनि हामीले जुन तिब्र गतिमा काम गर्न सक्यौं, त्यसको परिणाम पनि दर्ता नै हो । यसका लागि म मेरा निवर्तमान अध्यक्ष र अघिल्लो कार्यसमितिको निरन्तरको कोसिसको तारिफ गर्न चाहन्छु ।

एनआरएनले नेपालमा गर्ने लगानी भनेको मातृभूमिप्रतिको कर्तव्यवोध र भावनाका आधारमा गर्ने हो । गैरआवासीय नेपाली संघले नेपालमा पूँजी तथा सीप लगानीका लागि गैरआवासीय नेपालीहरुलाई सहजीकरण गर्ने उत्प्रेरणा दिने हो । बाँकी कुरा हरेक एनआरएनको ब्यक्तिगत निर्णयमा भरपर्छ ।

एनआरएन र स्वदेशको कुरा गर्दा लगानीको कुराजोडिन्छ, लगानीका लागि चाँहि नयाँ योजनाहरुके बनाउनुभएको छ ?
एनआरएन एक सामाजिक संस्था भएकाले यसले केही पनि ब्यापारिक काम गर्न मिल्दैन र गर्दैन । तर, हामीले सामाजिक लगानी चाहिँ गर्न सक्छौं, गैरआवासीय नेपाली संघले परोपकारी काममा गरेको लगानी त्यसैको उदाहरण हो । मुलुकका लागि केही गरौैं भनेर गैरआवासीय नेपालीको सीप र पूँजीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गरिरहेका छौं । त्यसका लागि केही नीतिगत समस्या देखिएका छन, जसलाई हटाउन हामी नेपाल सरकारसँग लविङ गरिरहेका छौं ।

सबैलाई थाहा छ, नेपालमा लगानीमैत्री वातावरण छैन, प्रशासनिक झण्झटले गर्दा लगानीकर्ताहरु दिक्क भएर फर्किनुपरेको छ । यी समस्या समाधान गर्न सकियो भने एनआरएनको लगानी र प्रत्यक्ष बैदेशिक लगानी पनि नेपाल भित्रिन सक्छ, त्यसका लागि सहजीकरण गर्न एनआरएन सदैब तत्पर छ ।

तपाईको कार्यकाल अब एक वर्ष बाँकी छ,हिजोका समीक्षा गर्दै अबको योजना कस्तो छ ?

मैले कार्यभार सम्हाल्दा नै दुई वर्षको अवधिमा गर्न सक्ने कामको सूची बनाएर सार्वजनिक गरेको थिएँ। भवन निर्माण, वैदेशिक रोजगार कल्याणकारी कोष लगायतका परियोजनालाई नै सम्पन्न गर्ने मेरो लक्ष्य हो । नीतिगत तहमा गर्नुपर्ने थुप्रै कामहरु जस्तै नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, भिसा सरलीकरण, दोहोरो करको अन्त्य लगायतका विषयमा मेरो लविङ जारी रहनेछ । बाँकी एक वर्षमा मेरा मुख्य घोषणा कार्यान्वयन गरी छाड्ने दृढता व्यक्त गर्दछु ।

(स्रोत : गैरआवासीय नेपाली दिवस २०१४ का अवसरमा प्रकाशित स्मारिका )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment