Comments Add Comment

यसरी बन्न सक्छ नेपालमा ‘नयाँ शक्ति’

-डम्बर खतिवडा

नेपालमा नयाँ शक्ति चाहिन्छ कि चाहिँदैन ? बन्न सक्छ कि सक्दैन ? बन्न सक्छ भने कसरी बन्न सक्छ ? के-के हुन सक्छन् त्यसका दर्शन, एजेन्डा, नीति तथा कार्यक्रम र संगठनात्मक संस्कृति ? यदि साँच्चै नयाँ शक्ति बनाउने हो भने काम कहाँनेर थाल्नुपर्छ ? यस्ता विषयमा आफ्ना बुझाइहरु लेख्ने अनुमति चाहन्छु ।

विकल्प कि प्रतिस्थापन ?

नयाँ शक्ति केवल थप एउटा पार्टी हुनुहुँदैन । त्यो अहिलेका समग्र बेथितिको विकल्प हुनुपर्छ, केवल प्रतिस्थापन हैन । त्यसले राष्ट्रिय जीवनका रहेक क्षेत्रमा नीतिगत विकल्प प्रस्तुत गर्नुपर्छ । मान्छे जो भए पनि हुन्छ, संस्कार र पद्दति फेर्नुपर्छ ।

‘नयाँ शक्ति’ ले उसको विगतलाई हेरेर कसैप्रति पनि पूर्वाग्रह राख्न हुँदैन । मानिस आकाशबाट झरेर आउँदैनन् । धर्ती फुटेर पनि निस्किँदैनन् । मानिसलाई भगवानले, प्रकृतिले जन्मिँदै खराब बनाएको हुँदैन । सिष्टम, संस्कार र संस्कृतिले खराब बनाउने हो । तसर्थ ‘नयाँ शक्ति’ को मुख्य लडाइँ कुनै पार्टी वा व्यक्तिसंग हैन, खराब सिष्टम, संस्कार र संस्कृतिसँग हुनुपर्छ । उस्तै सिद्धान्त, सिष्टम, संस्कार र संस्कृतिमा विश्वास गर्ने एउटा अर्को पार्टी बनाउने झञ्झट गर्नुको कुनै काम छैन ।

दर्शनको प्रश्नः

‘नयाँ शक्ति’ ले पारदर्शिता र सुशासनको अभ्यास आफ्नै पार्टीभित्रबाट शुरुवात गर्नुपर्छ । खासखास समयमा विशेषतः निर्वाचन खर्चका लागि बाहेकचन्दा उठाउनु हुँदैन

‘नयाँ शक्ति’को दार्शनिक आधार पुँजीवाद, साम्यवाद, प्रजातान्त्रिक समाजवाद, सामन्तवाद वा राजावाद, धर्म, वर्ग, वर्ण, लिंग, जाति वा पहिचानवाद, मधेसवाद यस्ता अहिले नेपालमा प्रचलित रहेका कुनै पनि दर्शन हुनुहुँदैन । तर, पहिचानको मुद्दाबाट भागेर हुँदैन । त्यसको यथोचित सम्वोधन गरेर अगाडि बढ्नुपर्छ ।

दर्शनको मुख्य आधार ‘मानवतावाद’ हुनुपर्छ । त्यसको मुख्य कार्यदिशा वामकेन्द्रवादी -लेफ्ट सेन्ट्रालिष्ट) हुनुपर्छ । त्यसले सामाजिक न्यायसहितको बजार अर्थतन्त्र, सहभागितामूलक लोकतन्त्र, न्यायपूर्ण भूमण्डलीकरण, श्रमको गरिमा, श्रमिक वर्गको मालिकीकरण, श्रम र पुँजीवीच ‘द्वन्द्वात्मक सन्तुलन’, भौतिकवादी विकास र सम्वृद्धि, पूर्वीया दर्शनमा आधारित आध्यात्मिक जीवन शैली (योग, ध्यान, मनोसाधना, दान, परोपकार, करुणा, छिमेकी भाव, नैतिक मूल्य ) संस्थागत विकास प्रक्रिया आदि दार्शनिक आधारमा विश्वास गर्नुपर्छ ।

कुनै पनि देशी वा विदेशी व्यक्तिका नामबाट बनेका सिद्धान्तलाई पार्टीको नाम र मार्गदर्शक सिद्धान्तसँग जोड्ने काम गर्नु हुँदैन । व्यक्तिको सार्वभौमसत्ता र व्यक्तिगत अस्तित्वको सम्पुष्टिका लागि सामाजिकतामा विश्वास गर्नुपर्छ । दर्शनको मुख्य आधार तत्व न्याय, स्वतन्त्रता, समानता र मुक्ति हुनुपर्छ । राष्ट्रवाद, संघवाद, लोकतन्त्र र बजार-समाजवाद यसको दार्शनिक विश्वास हुनुपर्छ ।

प्रकृति, प्रविधि, प्रसाशन र बजारको समन्वयबाट मात्र विकास, सम्वृद्धि, सुख र सन्तुष्टि फलित हुन सक्छ । त्यसका लागि ज्ञान, दान, कर – यी ३ चीज अरुलाई दिन खुशी हुने) मा विश्वास गर्ने मानव संस्कृति विकास गर्नुपर्छ ।

अन्तरपार्टी लोकतन्त्र :

अन्तरपार्टी लोकतन्त्र ‘नयाँ शक्ति’ का लागि अर्को महत्वपूर्ण प्रश्न हो । पार्टीभित्र नेताले प्रतिवेदन पेश गर्ने कार्यकर्ताले सुन्ने र ताली बजाउने मात्र हैन, हरेक कार्यकर्ताले नीतिगत प्रश्नमा छलफल गर्न र प्रस्ताव पेश गर्न पाउने पार्टी संरचना हुनुपर्छ । विचारको बहस खुल्ला हुनुपर्छ । विचारमाथिको मतदान पनि खुल्ला हुनुपर्छ ।

पार्टीका आन्तरिक निर्वाचन सम्पन्न गर्न निष्पक्ष र तटस्थखालको निर्वाचन आयोग हुनुपर्छ । पदहरुको निर्वाचन गुटगत आधारमा हैन, व्यक्तिगत आधारमा हुनुपर्छ, व्यक्तिगत मतदान भने गोप्य हुनुपर्छ । सार्वजनिक निर्वाचनमा जुन तहको पार्टी अनुमोदनपत्र चहिएको हो, त्यही सीमाभित्र बसोबास गर्ने पार्टी सदस्य मतदाता रहने आन्तरिक निर्वाचनको प्रक्रिया पूरा नगरिकन कुनै पनि तहको पार्टी टिकट कसैलाई दिनुहुँदैन ।

यहाँसम्म कि राष्ट्रपति वा प्रधानमन्त्रीका उम्मेद्वारहरु पनि पहिले पार्टीभित्रकै प्रतिस्पर्धाबाट विजय भएपछि मात्रै पार्टी उम्मेद्वार बन्ने प्रचलन विकास गर्नुपर्छ । दुई कार्यकालभन्दा बढी कोही पनि कुनै पनि मुख्य पदमा नरहने प्रचलन हुनुपर्छ ।

पारदर्शिता : 

‘नयाँ शक्ति’ ले पारदर्शिता र सुशासनको अभ्यास आफ्नै पार्टीभित्रबाट शुरुवात गर्नुपर्छ । खासखास समयमा विशेषतः निर्वाचन खर्चका लागि बाहेकचन्दा उठाउनु हुँदैन ।

पार्टीका नियमित कार्यक्रमहरु पार्टी कार्यकर्ताले तिर्ने सदस्यता शुल्कबाटै सञ्चालन गर्नुपर्छ । पार्टी कार्यालयका कर्मचारीबाहेक पार्टी कोषबाट भरणपोषण गर्ने एउटा पनि पूर्णकालीन पार्टी कार्यकर्ता वा नेता राख्न हुँदैन । हरेक पार्टी अभियन्ताहरुको कुनै न कुनै आम्दानीको पेशा हुनुपर्छ । या त पारिवारिक आम्दानीले धानिने हुनुपर्छ । या त पूर्णरुपमा समर्पित सन्त कार्यकर्ता हुनुपर्छ ।

पार्टी कोषको खर्च नियमावलीअन्तर्गत हुनुपर्छ । सबै चन्दा रकम सार्वजनिक गरिनुपर्छ । नाम सार्वजिनक गर्न नमिल्ने वा सार्वजनिक गर्न नचाहने चन्दादाताबाट चन्दा लिन हुँदैन ।

भ्रष्टाचारको प्रश्न

‘नयाँ शक्ति’ का हरेक सदस्य भ्रष्टाचार विरोधी अभियानको स्वघोषित अभियन्ता बन्नुपर्छ । आफूले जानकारी पाएका जुनकुनै भ्रष्टाचारसम्बन्धी क्रियाकलापको सम्बन्धित निकाय र अख्तियारलाई जानकारी दिनुपर्छ । आफूले काम गर्ने संस्थाहरुमा भ्रष्टाचार नगरेर, मितव्ययिता र आर्थिक पारदर्शिता कायम गरेर उदाहरण बन्नुपर्छ । राजनीतिक भ्रष्टाचारको भण्डाफोर गर्नुपर्छ तर, राजनीतिक विरोधका लागि हैन तथ्यसहित ।

कुनै पनि भ्रष्टाचार सम्बन्धी घटनालाई राजनीतिकरण गर्नुभन्दा अगाडि त्यसको छानविन गर्ने समिति बनाएर अध्ययन गर्नुपर्छ । आफ्नो अध्ययन रिर्पोट सार्वजनिक गर्दै सम्बन्धी संस्थाहरुलाई थप अध्ययन र कार्वाहीका लागि आव्हान गर्नुपर्छ । तर, जनकार्वाहीका नाममा गैरकानुनी कार्वाही गर्दै हिँड्ने अभद्र काम गर्नुहुँदैन ।

अख्तियारको वर्तमान संरचनालाई पूरै बदल्ने नयाँ कानुन प्रस्तावित गर्नुपर्छ । अख्तियार सेवा र निजामति सेवालाई फरक बनाउनुपर्छ । निजामति सेवाबाट आयुक्तहरुको नियुक्ति हुने र निजामति सेवाबाटै अख्तियार कर्मचारी आपूर्ति हुने कानुन पूरै खारेज हुनुपर्छ ।

अख्तियार सेवाभित्रैबाट बरिष्ठताका आधारका आयुक्तहरु नियुक्त गर्नुपर्छ । अख्तियार कर्मचारीहरुको आफ्नो गृहप्रान्तमा पदस्थापन तथा सरुवा नहुने र उनीहरु अन्य सेवामा सरुवा भएर नजाने प्रावधानसहितको कानुनका पक्षमा पैरवी गर्नुपर्छ ।

स्कुल कलेजमा नैतिक शिक्षाका विषयलाई महत्व दिनुपर्छ । पार्टी प्रशिक्षणमा नैतिक बिषयहरुको महत्वबारे नियमित छलफल हुनु पर्छ ।

सकारात्मक सोच :

अबको राजनीति सकारात्मक सोच र रचनात्मक प्रतिपक्षतामा आधारित हुनुपर्छ । आफ्नो पार्टीले जे गरे पनि ठीक, अरु पार्टीले जे गरे पनि बेठीक भन्ने संस्कार बन्न दिनुहुँदैन । अरुको विरोध गर्नुभन्दा धेर आफ्ना योजना प्रसारण गर्नुपर्छ ।

राम्रो काम जसले गरे पनि उसलाई सार्वजिनक रुपमा नै धन्यवाद दिनुपर्छ । विरोधी पार्टीका पनि असल नीति तथा कार्यक्रमको सम्मान गर्नुपर्छ । गलत कुराको मात्र विरोध र भण्डाफोर गर्नुपर्छ ।

विरोध गर्दा पनि तर्कतथ्यसहित सभ्य भाषामा गर्नुपर्छ । पाँडेगाली गर्दै हिँड्ने संस्कारलाई बढावा दिनु हुँदैन । सार्वजनिक भेटघाट र व्यक्तिगत जीवनमा पनि विपक्षी नेताहरुको सम्मान गर्नुपर्छ ।

जनताका विरोधलाई ध्यान दिएर सुन्नुपर्छ । जनतामा तीव्र आक्रोश र उत्तेजना शुरुवात् हुनु अगाडि नै उनीहरुका मागलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । नागरिक समाजसँग निरन्तर अन्तरक्रियामा रहनुपर्छ र उनीहरुका सुझावलाई सकेसम्म आत्मसात गर्नुपर्छ ।

आधारभूत सार्वजनिक सेवाको सुधार

नेपालमा अहिले आधारभूत सार्वजनिक सेवाका रुपमा सातवटा कुरालाई प्राथमिकतामा राख्न अत्यन्त जरुरी छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, बिजुली, सडक र यातायात । यी सबै क्षेत्रमा ठूल्ठूला विसंगति छन् । निजी शिक्षा मुनाफाखोरहरुका हातमा परेको छ । अत्यन्त मंहगो छ ।

सार्वजनिक शिक्षा गुणस्तरहीन र समाप्तप्राय हुँदैछ । सरसफाइ सचेतना गरिब वस्तीहरुमा कमजोर छ । ठूला शहरहरु खानेपानी अभावको चपेटामा परिरहेका छन् । लोडसेडिङ्गको संकट उत्तिकै चर्को छ । बिग्रँदो सडक स्थितिले मृत्युको ठूलो कारक सडक दुर्घटना बन्न पुगेको छ ।
यी सातवटा क्षेत्रलाई अबिलम्ब सुधार गर्ने योजना बनाउनुपर्छ । विकल्पसहित भन्न सक्नु पर्छ, यी सात क्षेत्रमा अहिले गरिएको भन्दा यी यी फरक काम गरिने छ ।

आर्थिक सम्भावनाको परिचालन :

‘नयाँ शक्ति’ ले देशको आर्थिक संभावनालाई बलियो गरी चिन्नुपर्छ । प्रथामिकताका क्षेत्रमा टोली बनाएर गहिरो अध्ययन गर्नुपर्छ । कृषि, पर्यटन, जलस्रोत, सेवागत क्षेत्रको विस्तार, व्यापार र अतिरिक्त दक्ष श्रमशक्तिको भूमण्डलीकरण नेपालका आर्थिक विकासमा उच्च महत्व राख्ने पाँच क्षेत्रहरु हुन् । बाँकी सबै अर्थतन्त्रका सहायक कुरा हुन । अथवा यस विषयमा अझै राम्रो अध्ययन नपुगेको पनि हुन सक्छ ।

नेपालको आर्थिक सम्भावनाको क्षेत्र के हो ? त्यसको परिचालनमा के के गर्न सकिन्छ ? यसमा एउटा टोली बनाएर गहिरो अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका सिफारिसलाई पार्टी कार्यक्रममा समावेश गर्नुपर्ने हुन्छ ।

रचनात्मक श्रम आन्दोलन

नेपालमा श्रम आन्दोलन अत्यन्त विश्रृंखलित र अराजक छ । त्यो असाध्यै धेरै पार्टीकरण पनि भएको छ । त्यसलाई फेर्ने, मर्यादित श्रम ऐन र ट्रेड यूनियन आन्दोलनका पक्षमा लबिङ्ग गर्ने गरिनुपर्छ ।

राष्ट्रिय ज्याला आयोग बनाउने, हरेक वर्ष न्यूनत्म ज्यालालाई पुनरावलोकन गर्ने, रोजगारदाताहरुले न्यूनतम ज्याला दिए नदिएको बलियो अनुगमन गर्ने, जुन रोजगारदाताले नाफा हुँदाहुँदै पनि न्यूनत्म ज्याला नदिएको हो, त्यसलाई कार्वाही गर्ने । कुनै रोजगारदताले नाफा गर्न नसकेर ज्याला दिन नसकेको हो भने त्यो छुट्याएर त्यस्ता रोजगारदातालाई ज्याला अनुदान दिने गर्नुपर्ने हुन्छ ।

संविधान र व्यवधान :

अहिले नयाँ शक्ति जरुरी छ भनेर जसजसलाई लागेको छ, जति जना छन्, त्यति नै जनाले एउटा एउटा समूह बनाउन् । त्यसलाई आ-आफू बसेको क्षेत्रमा विस्तार र प्रचार गरुन्

नयाँ शक्तिले अहिलेको संविधान निर्माण प्रक्रियामा आफ्ना धारणा राख्ने तर जोरजबरजस्ती नगर्ने । बनेको संविधानको मातहत नै काम गर्ने, तर संविधानले सम्बोधन नगरेका आफ्ना एजेण्डाहरु जनताका बीचमा राखी संविधान संशोधन गर्ने बाटो समाउनुपर्छ ।

समान्यतयाः मिश्रति निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख हुने शासकीय स्वरुप, आधारभूत प्रशासनिक अधिकार हुने स्वायक्त स्थानीय सरकार, जिल्ला, अञ्चल र विकास क्षेत्र तीनवटै तहलाई प्रतिस्थापन गर्ने गरी उपयुक्त संख्यामा प्रदेशहरु, ती प्रदेशको नामांकन प्रदेशसभाले गर्ने ।

संविधान बनिसकेपछि अनुमोदनका लागि जनमत संग्रह गर्ने र संविधानप्रति जनताको आमसहमति प्राप्त गर्ने बाटो अबलम्बन गर्नु उपयुक्त हुनेछ ।

शुरुवात कसरी गर्ने ?

‘नयाँ शक्ति’ को शुरुवात कहिले, कसरी र कहाँबाट गर्ने ? यो सबैभन्दा जटिल प्रश्न हो । तर, जति जटिल ठानिँदैछ, त्यति जटिल भने छैन । अहिले नयाँ शक्ति जरुरी छ भनेर जसजसलाई लागेको छ, जति जना छन्, त्यति नै जनाले एउटा एउटा समूह बनाउन् । त्यसलाई आ-आफू बसेको क्षेत्रमा विस्तार र प्रचार गरुन् । ‘नयाँ शक्ति’ बारे बोल्न, लेख्न, सार्वजिनक पैरवी गर्न, आफ्ना समूहका क्रियाकलाप सार्वजिनक गर्न, प्रचार गर्न धक, लाज नमानुन् ।

थोरै छौं भन्ने हीनताभाष नराखुन् । एकअर्काका बारेमा जानकारी पाउनेवित्तिकै सम्पर्क गर्दै जोडिँदै जाउन् । हतार नगरुन् । करिब अरु एक वर्ष यो प्रक्रिया चलोस् ।

सबै समूहले आ-आफ्नो ठाउँमा केही न केही रचनात्मक काम गरुन् । आफू बसेको गाउँ, ठाउँ र समाजमा मुख्य समस्या जे छ, त्यसैलाई हल गर्न जनपरिचालन गरुन् । यदि ‘नयाँ शक्ति’ का लागि समर्पित जीवन बिताउने कसैले मनमनै अठोट गरेका छन् भने उनीहरुले देश दौडाहा गर्ने योजना बनाउन् । पार्टीको नाम, झण्डा, केन्द्रीय कमिटी बनाउने, पद बाँडफाँड गर्ने हतार नगरुन् । वैकल्पिक चिन्तन अभियानलाई बढाउँदै जाउन् । ‘नयाँ शक्ति’ को जग आफैं बन्दै जानेछ ।

एक दशकको धैर्यता :

कतिपयलाई लागेको हुन सक्छ, ‘नयाँ शक्ति’ बन्नेवित्तिकै नागरिकले आफै थाहा पाउने छन् र सबै मान्छे खुरुखुरु आउने छन् । त्यसले तुरुन्तै निर्वाचनमा बहुमत हासिल गर्ने छ ।

यस्तो चिन्तन राजनीतिक प्रक्रिया नबुझ्नेहरुको मनोवेग मात्र हो । राजनीतिक शक्ति त्यसरी कहिल्यै पनि कहीँ पनि बन्दैन । दिल्लीमा ‘आप’ पनि त्यसरी आएको हैन । संगठन र नेतृत्वको संस्कृति परख नगरिकन नागरिकले तुरुन्तै कसैलाई पनि विश्वास गर्दैनन् । नागरिक त्यति मुर्ख हुँदैनन् कि कुनै ‘नयाँ जोगी’ आउनेवित्तिकै त्यसैलाई भगवान ठानेर पूजा गर्न थालुन् ।

तसर्थ ‘नयाँ शक्ति’ बनाउन चाहनेले कम्तिमा एक दशकको धैर्यता त गर्नैपर्छ । त्यति पनि धैर्यता नभएकाले यो अभियानमा सामेल नहुनु नै राम्रो हुन्छ । राजनीतिमा एक दशक कुनै धेरै समय हैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment