Comments Add Comment

एनआरएनले वीर अस्पताललाई सुधार्दै

१७ फागुन, काठमाडौं ।  मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्‍याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ।

Bir-Hospital-Ticket-Counter

यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा तीनजनास म बिरामी राख्ने गरिएको छ। उपकरणहरू बिग्रेका छन्।

अस्पतालको ढिलासुस्तीसँग अपरिचित मानिस यहाँ पुग्यो भने रोग झनै बढ्ला भन्ने डर हुने अन्नपूर्ण पोस्टमा खबर छ ।
फोहोर र सुस्त सेवा भएको यही वीर अस्पतालको वातावरण हराभरा पार्न र सेवा चुस्त पार्न बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन यूके) लाग्ने भएको छ।

अस्पताल सुधारका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ छुट्ट्याए पनि प्रभावहीन देखिँदा एनआरएन यूके यसलाई सुधार्न सक्रिय बनेको हो।

एनआरएन यूकेले वीर अस्पताल सुधारका लागि प्राथमिकता छुट्ट्याएको छ। अस्पतालको भौतिक पूर्वाधार निर्माण, बिग्रिएका उपकरण मर्मत र अस्पताल सफा पार्न आर्थिक तथा प्राविधिक सहयोग गर्न लागेको संघका उपाध्यक्ष हीराधन राईले बताए।  यस्तो सहयोग अस्पतालले निरन्तर पाउनेछ।

‘थुप्रै समस्या झेलिरहेको वीर अस्पतालले अपेक्षाअनुसार सेवा दिन सकेको छैन’, राईले भने, ‘अस्पतालको सेवा केही भए पनि स्तरीय बनोस्। अस्पतालभित्र संक्रमण नफैलियोस् र बिरामीले स्वच्छ महसुस गरून् भन्ने उद्देश्यले सहयोग गर्न लागेका हौं।’

यूकेले चार सय ५७ शय्याको अस्पतालका बिग्रिएका र सरसफाइविहीन शौचालय मर्मत गर्ने, अस्पताल परिसरभित्र निस्कने धुलो नियन्त्रण गर्ने, सरसफाइबाट जम्मा भएको फोहोर उचित व्यवस्थापन गर्नेलगायत काममा सहयोग गर्ने जानकारी उनले दिए। अस्पताल सुधार र सफाइका लागि कति रकम लाग्छ भन्ने यकिन नभएको उनले बताए।

संघले अस्पतालभित्र हुने संक्रमण रोकथाम र सरसफाइलाई निरन्तरता दिन अस्पतालका चिकित्सक, नर्स र कर्मचारीलाई तालिमसमेत दिनेछ। तालिमका लागि बेलायतबाटै चिकित्सक र नर्स झिकाइनेछ।

‘अस्पतालमा काम गर्ने सबै कर्मचारीले सफाइलाई निरन्तरता दिऊन् भनेर एकजना छुट्टै नर्स राखी पारिश्रमिकसमेत हामीले बेहोर्नेछौं’, राईले भने, ‘त्यसो भयो भने पक्कै पनि वीर अस्पताल सफा हुनेछ र बिरामीलाई आनन्द महसुस हुनेछ।’

सहयोगको प्रस्ताव अस्पतालले स्विकारिसकेको छ। ‘सहयोगका लागि हाम्रो संघमा छुट्टै टिम गठन हुँदैछ। हामीले अस्पतालका निर्देशकसँग भेटेर छलफल गरिसकेका छौं’, उनले भने।

बेलायतबाट आएको एनआरएन टोली र अस्पतालका निर्देशकबीच शुक्रबार छलफल भएको थियो।अस्पतालका निर्देशक डा. स्वयमप्रकाश पण्डितले पनि एनआरएन यूकेले सहयोगको प्रस्ताव गर्दा खुसी लागेको बताए।

‘अस्पतालमा हामीले चाहेर पनि कतिपय काम हुन सकेका छैनन्। यसको असर बिरामीलाई परिरहेको छ’, उनले भने, ‘यस्तो बेलामा कसैले सहयोग गर्छौं र अस्पताल राम्रो बनाउँछौं भन्दा हौसला मिलेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment