Comments Add Comment

डाक्टर केसी, मेरो शरीरको किला कसले झिकिदिन्छ ?

नवीन धिताल

आज ठ्याक्कै चार वर्ष पुगेछ । चैते दशैंको दिन सधैँजसो कलेज पढाउन मोटरसाइकलमा निस्किएको थिएँ । मलाई नेपालटारबाट चाबहिलमा रहेको कलेज पुग्नु थियो । दुई/चारवटा कलेजमा छ/सातवटा कक्षा नधानी जीविका नचल्ने भएपछि मोटरसाइकल कुदाउनुको विकल्प थिएन । आफूले जति सुकै सावधानी अपनाए पनि दुर्घटना भवितव्यभित्र पर्ने भएकाले यो टारेर टार्न सकिने होइन । सडकमा एक आपसमा जुधिरहेका कुकुरहरू लठारिँदै मेरो मोटरसाइकलमा बेरिन आएपछि म दुर्घटनामा परेँ ।

Dr Govinda KC

मर्निङवाकमा हिँडेकाहरुले जसोतसो त उठाइदिए तर तल लत्रेको हात कम्मरमाथि लान सकिँन । शरीरमा बाहिरी चोट नदेखिएता पनि भित्रभित्रै सहन नसक्ने पीडा हुन थाल्यो । तत्कालै डेरामा फोन गरेर दाजुलाई बोलाएँ । दाजु एक छिमेकी भाइलाई लिएर केही मिनेटमै दुर्घटनास्थल आइपुग्नुभयो ।

उपचारका लागि कहाँ जाने ? त्यसमाथि बिहान झिसमिसेमै  डाक्टर अस्पतालमा भेटिने सम्भावना कम थियो । मोडेल अपस्तालमा डाक्टर भेटिन सक्छ भन्ने सँगै गएका भाइले सुझाएपछि ट्याक्सीमा हानियौं त्यतैतिर ।

मोडेल अस्पतालको इमरजेन्सीमा प्राथमिक उपचार गरेर नदुख्ने इन्जेक्सन लगाएपछि एक्सरे गर्न लगाइयो । तर, डाक्टर भने ९ बजेपछि मात्र आउने बताइयो । एक्सरेको रिपोर्ट आएपछि डाक्टरले दायाँ कुमको हड्डी फ्याक्चर भएको र अपरेसन गर्नुपर्ने बताए । तर, सोइलिङ नबसिकन अपरेशन गर्न नमिल्ने बताए ।

केसी जीवनमरणको संघर्षमा छन् । यदि राज्यले केसीको छातीमा लात्ती बजार्‍यो भने स्थिति भयावह हुन सक्छ

अपरेशनको समय, प्रक्रिया र लाग्ने लागतबारे बुझ्ने काम भयो । तर, अस्पतालले दिएको कोटेशन अनुमान गरेभन्दा निकै बढी थियो । त्यसमाथि डाक्टरको ब्यवहार, उमेर र कार्यशैली हेर्दा परिपक्कता देखिएन । अर्थात विश्वास गर्न सकिएन र सामान्य प्लाष्टर गरेर सो दिन घर फर्किइयो ।

कहाँ र कसरी अपरेशन गराउने भन्ने तनावमा भौतारिदैं गर्दा इष्टमित्र तथा साथीभाइको सल्लाहबमोजिम मुलुककै नाम चलेको र विश्वासिलो मानिएको सरकारी अस्पताल त्रिवि शिक्षण अस्पताल जाने निर्णयमा पुगियो ।

संयोगले टोलमा बस्ने एकजना बहिनी, जो टिचिङकै अपरेशन थिएटरमा काम गर्ने नर्स रहिछन्, उनीसँग समस्या राखियो र हाडजोर्नीको राम्रो डाक्टरका बारेमा सोधियो उनले डा. गोविन्द केसीकहाँ जान सुझाइन् र भेटाउने प्रबन्धसमेत मिलाइदिइन् ।

प्रक्रियाअनुसार डा. केसीलाई भेटियो । उनले भने अनुसारका परीक्षण पनि गरियो । अन्ततः अपरेशन नै अन्तिम बिकल्प भएको केसीले सुझाए ।

सरकारी अस्पतालमा दुर्घटनास्थलबाट सोझै इमरजेन्सी मार्फत रिफर भएर जानेलाई प्राथमिकता दिने चलन रहेछ । तर, आफु भने मोडेल अपस्तालबाट रेफर मागेर गएको बिरामी परियो, जसका कारण अपरेशनको क्युमा पछाडि पर्ने डाक्टरले बताए । तर, केस इमरजेन्सी थियो । कुममा नसा फुटेर जमेको रगतको भाग फैलँदो अवस्थामा थियो, जसका कारण जतिसक्दो छिटो अपरेशन गर्नुपर्ने अवस्था थियो ।

डा. केसी निश्कपट व्यक्ति हुन् । उनको विरोधका पछाडि मोटा रकमका चलखेल होलान् । खोतल्दै जाँदा ठूला माफियाका कर्तुत सार्वजनिक हुन सक्लान्

अर्को दिन डा. केसीसँग पुनः अपरेशनका बारेमा सल्लाह गरियो । अवस्था जटिल हुँदै गरेको देखेपछि केसीले पनि मन थाम्न सकेेनन् र एउटा शर्त तेर्स्याएः अपरेशन थियटरका एनेस्थेसिया तथा अन्य टिमलाई मनाउन सक्ने भए म २४ घण्टाभित्र कुनै पनि बेला अपरेशन गरिदिन सक्छु, मलाई दिन रातको कुनै मतलब छैन ।

डाक्टरको यस्तो वचन पाएपछि थियटरका कर्मचारीसँग हारगुहार मागियो, निकै प्रयत्नपश्चात् नियमित ड्युटी सकिएपछि अपरेशन गराउन टीम सहमत भयो । ०६८ बैशाख ४ गते साँझ ७ बजे डा. केसी नेतृत्वको टीमले अपरेशन सुरु गर्‍यो ।

एक्सरेमा देखिएको क्षतिका आधारमा डाक्टरको टीमले योजना बनाउनु स्वभाविक थियो  । २/३ घण्टामा अपरेशन सक्ने उनीहरुको योजना थियो । तर, योजना सोचेअनुसार भएन । किनकि शरीरभित्र भएको क्षति एक्सरेले समेत देखाउन सकेको रहेन छ । सात घण्टाको अथक प्रयासपछि डाक्टरको टीम शरीरभित्र स्टीलको पाता र ७ वटा किल्ला राखेर राति २ बजे अपरेशन सिध्याउन सफल भए ।

अस्पतालको क्यान्टिन राति १२ बजेसम्म मात्र खुल्नेरहेछ सो दिन सबै काम सक्दा राति ३ बजेकाले सो रात अपरेशन टीमका सबै डाक्टर भोकै सुतेको बिहान फलोअपमा आँउदा एक डाक्टरले बताए । डा. केसीले डाक्टरको धर्मले भोकसँग सरोकार नराखी बिरामीको जीवनसँग सरोकार राख्छ भन्ने सहज उत्तर दिए, जसबाट चिकित्सकीय धर्मबाट एक बिरामी नतमस्तक हुनु स्वाभाविक थियो ।

करिब एक हप्ताको अस्पताल बसाइपछि तन्दुरुस्ती शरीर लिएर घर फर्किइयो । त्यसपछि डा. केसीको सल्लाहबमोजिम नियमित फलोअपमा जाने क्रम चलिरह्यो ।

दोस्रो वर्षको फलोअपका क्रममा उनले टुक्रिएका हड्डीहरु पुरानै अवस्थामा आइसकेकाले पाता निकाल्न मिल्ने सल्लाह दिए ।

nabin-dhital
नवीन धिताल

डा. केसीले शरीरमा राखेको पाता तथा किला निकाल्न दिएको सल्लाहसँगै फेरि तनाव  सुरु भयो अर्को अपरेशनको ।

केसीले फुर्सद मिलाएर आउन सल्लाह दिए । तर, आफु परियो श्रमजीवी । अपरेशन गरेपछि करिब एक महिनाको छुट्टी चाहिने, तर त्यत्रो समय काम नगरी बस्दा मुखमा के माड लगाउने भन्ने समस्या ज्यूँ का त्यूँ थियो ।

यसो विचार गर्दा दशैं तिहारको एक महिने छुट्टीलाई उपयोग गर्नुको विकल्प नदेखेपछि डाक्टरसा’ब सँग सोही समस्या दर्शाएर सल्लाह गरियो । उनी पनि सल्लाह मान्न तयार भए र सोही अनुसार ०७० सालको दशैं मनाएर अपरेश गरिदिन उनी तयार भए ।

अपरेशनको तयारीका सम्पूर्ण चरणहरु पार गरियो तर दुर्भाग्य भनौं या मनोबैज्ञानिक असर भनौं अपरेशनका लागि खाली पेट बसेको अघिल्लो रात मन्द ज्वरो आयो र सामान्य घाँटी पनि दुखेको अनुभव भयो । यस्तो बेला बेलामा हुने गरेको र सामान्य तातो पानी खाँदा ठीक हुने गरेकाले यसलाई समान्य रुपमा लिइयो ।

भोलिपल्ट तोकिएको समयमा अस्पताल पुगियो । आफ्नो पालो कुर्न धेरै समय नै पर्खनुपर्‍यो । अपरेशन थियटरमा छिर्नुअघि समस्या बताउन उपयुक्त हुने ठानी डाक्टरलाई सबै कुरा बताइयो । उनले परीक्षण पनि गरे । घाँटीको टन्सिल एक्टीभ फेजमा रहेकाले यस्तो अवस्थामा अपरेशन गर्नु निकै खतरनाक हुने डाक्टरले बताए ।

टन्सिल शरीरभरि फैलन सक्ने, श्वासप्रश्वास बन्द हुन सक्ने तथा आईसीयू, भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्था आउन सक्ने र त्यसको रिस्क आफै लिएर छुट्टै सम्झौता गराएर मात्रै अपरेशन गरिदिने डाक्टरले सुझाएपछि परिवारजनको सल्लाहमा अपरेशन रद्द गरियो ।

कामकाजमा खासै समस्या नपरेपछि पुनः अर्को दशैं विदामा अपरेश गराउने योजना तय भयो । सोही अनुसार डा. केसीसँग सल्लाह पनि गरियो । उनले अपरेशनका लागि यो वर्ष पनि दशै मनाएलगत्तै बोलाए ।

चितवनमा दशैं मनाएर बोलाएको समयमै अस्पताल आइयो । तर, फेरि दुभाग्र्य भनौं या के भनौं, दशैंको समयमा भएका दुर्घटनाका बिरामीको चाप भएको भन्दै केसीले आफुले अपरेशनका लागि समय दिन नसक्ने वचन दिए । मुख्य डाक्टरले नै अपरेशन गर्न नमानिदिएपछि न्याउरो मुख लगाएर फर्किनुको विकल्प रहेन ।

बैशाख महिनामा कलेजका कक्षाहरु पनि सकिने तथा कामको चाप केही हल्का हुने भएकाले बैशाखमा अपरेशनको तयारीका लागि चैतको अन्तिम मंगलबार केसीलाई भेट्न जाने योजनामा थिएँ । तर, डा. केसी आइतबारबाटै अनसनमा बस्नुभयो ।

यद्यपि डा. केसीको अनसन यो पहिलो भने होइन । उनले यसअघि पनि मेडिकल क्षेत्रमा भएका विकृति विसंगति विरुद्ध अनसन बसिसकेका छन् । सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएको थियो । तर, विभिन्न कारणले उनको माग पूरा हुन सकेन ।

डा. केसी व्यक्तिगतरुपमा निश्कपट व्यक्ति हुन् । उनको विरोधका पछाडि मोटा रकमका चलखेल होलान् । खोतल्दै जाने हो भने ठूला ठूला माफियाका कर्तुत सार्वजनिक हुन सक्लान् यो अहिले गम्भीर विषय बनेको छ ।

पुराना माझीहरु ताललाई एकलौटी बनाएर माछा मार्न चाहन्छन् । अर्थात नयाँ माझीलाई प्रवेश दिन चाँहदैनन् । तर, माछा मार्न जान्ने र जाल किन्न सक्ने नयाँ माझीहरु तालमा माछा मार्न पाउनु आफ्नो अधिकार सम्झन्छन् ।

मेडिकल माफियाहरुको लडाँइ पनि यस्तै प्रकारको हो । तर, यसको शिकार बनेका छन् डा. केसी. । केसीलाई प्रणाली, संस्थाको साख र जनताको भविष्यको चिन्ता छ । तर, माफियाहरुलाई पचाइसकेको कमिशन ओकल्न पर्ने हो कि भन्ने चिन्ता छ ।

केसी जीवनमरणको संघर्षमा छन् । यदि राज्यले केसीको छातीमा लात्ती बजार्‍यो भने स्थिति भयावह हुन सक्छ ।

भनिन्छ, निदाएकोलाई जगाउन सकिन्छ । तर, निदाएजस्तो गरेकोलाई जगाउन सकिँदैन । डा. केसी तपाईंको एक्लो प्रयास सफल होला नहोला ? तर, तपाई काममा फर्किन नसक्ने गरी गल्नुभयो भने मेरो कुम र पाखुरा जोड्नका लागि ठोकिएका स्टिलका सातवटा किला कसले झिकिदेला डाक्टर साब ?

म र म जस्तै हजारौं बिरामी हविगत के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment