Comments Add Comment

विद्यार्थीहरुबीच सुत्ने प्रतियोगिता

Student

परीक्षाका बेला नसुतिकन रातभर पढ्ने र सुन्निएका राता आँखासहित परीक्षा हलमा प्रवेश गर्ने धेरै पढन्ते विद्यार्थीको बानी हुन्छ । परीक्षा भनेपछि निद्रालाई तिलाञ्जली दिनेका लागि सबक सिकाउँदै दक्षिण कोरियाली विद्यार्थीहरुले सुत्ने प्रतियोगिताको आयोजना गरेका छन् ।

सिओलस्थित डकसंग वुमन्स युनिभर्सिटीका विद्यार्थीहरुले विश्वविद्यालय परिसरभित्रै सुत्ने प्रतियोगिता गरेका हुन् । कोरिया टाइम्सका अनुसार प्रतियोगीहरुलाई निदाउनका लागि ब्लान्केट र सिरानी दिइएको थियो ।

दिउँसोमा आयोजित उक्त प्रतियोगितामा प्रतियोगीहरु ढुक्कले निदाउन सकून् भनेर आँखामा लगाउने मास्क पनि दिइएको थियो ।
यद्यपि प्रतियोगितामा चाहेजति समयसम्म सुत्न भने पाइएन । समय सुरु भएको पाँच मिनेटमै निदाउनुपर्ने रहेछ । पाँच मिनेटपछि भने सबैलाई आयोजकले उठाए ।

त्यो अवधिभित्र जो गहिरो निद्रामा पर्‍यो ऊ नै विजेता घोषित हुने नियम थियो । साँच्चिकै निदाएको हो कि निदाएको नाटक गरेको हो भन्ने पत्ता लगाउन विभिन्नखाले उपायसमेत अपनाइएको थियो, जस्तै निकै हाँसोउठ्दो जोक भन्ने तथा अनुहारमा हावाले हान्ने ।

आयोजकहरुका अनुसार यो स्पर्धाका दुईवटा उद्देश्य थिए । पहिलो त परीक्षा सकिएपछि रमाइलो गर्न बारमा जानुभन्दा मज्जाले सुतेर जिउलाई आराम दिनु राम्रो हो । दोस्रो, परीक्षाको तनावका कारण सुत्दै नसुत्ने बानी र त्यसले पार्ने असरका विषयमा चेतना जगाउनु ।

सुत्ने प्रतियोगितामा पहिलो तथा दोश्रो हुनेले नगद पुरस्कार पाए भने तेश्रो स्थान हासिल गर्नेलाई सुत्ने सिरानी उपहार दिइयो । सबै प्रतियोगीलाई चकलेट तथा इनर्जी ड्रिक्स उपहारका रुपमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment