Comments Add Comment

विद्यार्थीको विदा कटौती गर्न सरकारको निर्देशन

१९ असार, काठमाडौं ।  सरकारले सार्वजनिक विदा कटौती गरेर विद्यालय सञ्चालन गराउन सबै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

गत वैशाख १२ को भूकम्पले पढाइ प्रभावित भएकाले ‘कोर्स’ पूरा गराउन विदा कटौति गरी विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो ।

शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागले चालु शैक्षिकसत्रमा कम्तिमा २२० दिन कक्षा सञ्चालन गर्न शिक्षा कार्यालयहरुलाई परिपत्र गरेको छ ।

शिक्षा विभागका प्रवक्ता खगेन्द्र नेपालले बर्षे, हिउँदे र चाडपर्वको विदा कटौति गरेर भए पनि पढाउन निर्देशन दिइएको जानकारी दिए । बर्षे, हिउँदे र चाडपर्व गरी एक शैक्षिक सत्रमा ६० दिनसम्म विदा हुने गरेको छ ।

नयाँ शैक्षिकसत्रको सुरुमै भूकम्प जाँदा एक महिना भन्दा धेरै समयसम्म पढाइ अबरुद्ध भएको थियो । पढाइ पूरा गर्न काठमाडौं उपत्यकाका विद्यालयहरुले शुक्रबार हुने हाफ छुट्टी कटौति गरी पूरै समय पढाउँदै आएका छन् ।

निजी भवन बनाउन ५ बर्षे म्याद

यसैबीच शिक्षा विभागले धार्मिक प्रकृतिका विद्यालयहरुलाई आगामी पाँच बर्षभित्र आफ्नै विद्यालयको नाममा जग्गा र भवनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

गुरुकुल, आश्रम, मदरसा, गुम्बा र विहारहरुलाई धार्मिक प्रकृतिको विद्यालय मानिन्छ ।

धार्मिक प्रकृतिका यस्ता विद्यालयहरुले सामुदायीक विद्यालयमा नियमित पढ्नेहरुलाई नै पढाएर सरकारबाट सेवा सुविधा लिने गरेको गुनासो आएपछि विभागले त्यस्तालाई खारेज गर्ने प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ ।

मदरसामा शनिबारको सट्टा शुक्रबार सार्बजनिक विदा दिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

बाल विकास केन्द्र ठप्प पार्ने चेतावनी

सरकारले आफूहरुको श्रम शोषण गरेको बाल विकास केन्द्रका सहयोगी तथा कर्मचारीहरुले आरोप लगाएका छन् । उनीहरुले सेवा सुविधा बृद्धिको माग राख्दै आएका छन् ।

माग बेवास्ता गरिए साउन १ गतेदेखि पढाइ ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

कक्षा १ मा भर्ना हुनुअघि विद्यालयमा पढ्न जाने बानीको बिकास गर्ने उद्देश्यले सरकारले बिभिन्न जिल्लाका सामुदायिक विद्यालय र समुदायमा बाल विकास केन्द्र सन्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment