Comments Add Comment

राष्ट्रपति र प्रधानमन्त्रीले पदको आयु लम्ब्याउन खोजे : ओली

KP-oli

१९ साउन,काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रदेशको सीमांकन बिना संविधान ल्याउन खोजेको आरोपको खण्डन गरेका छन् ।

संसदीय दलको मंगलवारको बैठकमा संसदीय दलका नेता समेत रहेका ओलीले एमाले सिमांकन सहित संविधान ल्याउने पक्षमा रहेको बताए । तर, सिमांकनका नाममा संविधान पर धकेलेर सत्ता लम्ब्याउने खेलमा कांग्रेस लागेको आशंका ओलीको छ ।

‘एमाले त सिमांकन सहितको संविधान ल्याउने पक्षमा हो,तर अरु दलको हठका कारण सम्भव नभएको हो’ ओलीको भनाई उधृत गर्दै सभासद यज्ञराज सुनुवारले भने-‘सम्बन्धित क्षेत्रका जनताको भावना बुझेर सिमांकन गर्न हामी तयार छौं ।’

संविधान निर्माणको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबाट बाहिर आएका अभिव्यक्तिप्रति पनि ओलीले आपत्ति जनाए । ‘संविधान जारी गर्ने मिति धकेलेर आफ्नो पदको आयु लम्ब्याउने खालका अभिव्यक्ति स्वीकार्य छैैनन्’-ओलीले भने ।

संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति विरुद्ध राष्ट्रपति यादवले राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गर्दै यसो र त्यसो गर्न निर्देशन दिएको भन्दै ओलीले राष्ट्रपति रामवरण यादवका क्रियाकलापको आलोचना गरे । ओलीले भने-‘पार्टीलाई निर्देशन दिने कार्य अनुचित मात्रै हैन राष्ट्रपतिको पदिय मर्यादा विपरितको कुरा हो ।’

ओलीले प्रधानमन्त्री कोइरालाको भूमिकाप्रति पनि आशंका व्यक्त गरेको सभासदहरुले बताएका छन् । ‘ एमाले सिमाङ्कन र नामाङ्कन सहितको संविधान जारी गर्न तयार छ तर त्यस विषयमा प्रधानमन्त्रीसँगको कुराकानीमा उहाँ आफै स्पष्ट हुनुहुन्न’ ओलीलाई उधृत गर्दै सभासद सुनुवारले भने ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले एमाले सिमांकन सहितको संविधान जारी गर्ने पक्षमा भए पनि अरु दल सहमत नभएकै कारण सिमांकन पछि गर्ने गरि १६ बुँदे सहमति भएको बताए ।

संसदीय दलको बैठकमा राजेन्द्र पाण्डे, भानुभक्त ढकाल, लक्ष्मी पोखरेल लगायतका सभासदले बजेट अहिलेकै अवस्थामा पारित गर्न नहुने बताएका थिए । ओलीले यसबारेमा पार्टीले आवश्यक निर्णय गर्ने आश्वासन सभासदहरुलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment