+
+
Shares

घैंटे मारिएपछि कोही विदेशमा कोही आत्मसमर्पणमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते ६:५१

Kumar-Ghaite
९ भदौ, काठमाडौं । राजधानीका चर्चित डन कुमार घैँटे मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तर्सिएका छन् । राजधानीका केही गुन्डाले देश छाडेका छन् भने घैँटेकै समूहमा रहेका एकजनाले आत्मसमर्पण गरेका छन् । नेपालगन्जमा गत महिना चेतन मानन्धरको हत्या आरोपमा फरार रहेका घैँटेनिकट रिगल ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका हुन् ।

अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । आफूलाई काठमाडौं प्रहरीले खोजी गरेको थाहा पाएपछि ढकालले आत्मसमर्पण गरेका हुन् । राजधानीमा नाम चलेका अरू डनहरूसमेत अर्धभूमिगत भएका छन् । घैँटेको समूहमा रहेका धेरैले राजधानी छाडिसकेको स्रोत बताउँछ । प्रहरीले उनको समूहमाथि नै छानबिन अघि बढाएपछि सहयोगीहरू भागेका हुन् ।

डन गणेश लामाले भने नेपाली नागरिकले बाँच्ने अधिकार पाउनुपर्ने बताएका छन् । लामाले गत शुक्रबार फेसबुकमा लेखेका छन्, ‘नेपाल हामी सबैको हो, आफ्नो देशमा सबैले बाँच्ने अधिकार हुन्छ ।’ घैँटे मारिएपछि अन्य गुन्डाका नाइकेविरुद्ध समेत उजुरी आउन थालेको महानगरीय अपराध महाशाखा स्रोत बताउँछ । महाशाखाका एक अधिकारी भने घैँटे इन्काउन्टरको एउटा उद्देश्य गुन्डागर्दीमा संलग्नलाई सन्देश पनि भएको बताउको नयाँ पत्रिकामा खबर छ ।

पोस्टमार्टम भएन

मारिएको ६ दिन बित्दा पनि घैँटेको शवको पोस्टमार्टम भएको छैन । उनका आफन्त तथा सहयोगीले छानबिनको माग गर्दै पोस्टमार्टमका लागि अनुमति दिएका छैनन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको शव राखिएको छ ।

कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए । प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मारिएको प्रहरीको दाबी छ । तर, उनका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले गोली हानी हत्या गरेको बताउँदै छानबिनको माग गरेका छन् । केही सभासद्ले समेत घटनाको छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?