नबराज पन्थी
कुबेत । बंगलादेशी नागरिकको हत्या अभियोगमा कुबेतको जेलमा रहेका सिन्धुपाल्चोकका सञ्चबहादुर तामाङ निर्दोष सावित भएका छन् ।
तामाङ्गलाई लागेको आरोपको ठोस प्रमाण नजुटेपछि उनले सफाइ पाएका हुन् । अगष्ट २३ मा सञ्चबहादुरले सफाइ पाएपछि उनको परिवारमा खुशी छाएको छ ।
बिगत ६ बर्षदेखि कुबेतको अल अरेबिया ओभरसिजमार्फत सेक्यूरिटी एण्ड टेक्निकल सर्भिस ग्रुपमा कार्यरत थिए । उनी गत जनवरी ८ तारिख बेलुका बेलुका बंगलादेशी नागरिकको हत्याको अभियोगमा पक्राउ परेका थिए ।
निर्दोष भए पनि जेलबाट नछुट्ने
राहदानी नम्बर ३११०८८४ का सञ्चबहादुरले बंगलादेशी नागरिकको हत्या अभियोगमा सफाइ पाए पनि जेलबाट भने निस्कन नपाउने भएका छन् । कुवेतको रेजिडेन्सी भिषा नभएका कारण उनी जेलबाट निस्कन नपाउने भएका हुन् । कुवेतको कानूनमा रेजिडेन्सी भिसा नभएका विदेशी नागरिकलाई भगौडा मानिन्छ ।
कुबेतको कानुन अनुसार अब सञ्चबहादुर डिर्पोटेशन जेल हुँदै नेपाल पठाउन कानुनी प्रक्रिया अघि बढाइने तामाङ्ग घेदुङ्ग कुबेतका अध्यक्ष एवम् सन्चबहादुर बचाउ अभियानका संयोजक राम लामाले अनलाइनखबरलाई बताए । गत जुलाईमा नेपाली दुताबासमा भएको बिशेष छलफलपछि उनलाई न्याय दिलाउन अभियान शुरु भएको थियो ।
अधिवक्तालाई शुल्क तिर्न बाँकी
तामाङ्गको मुद्दा हेर्नको लागि २० हजार कुबेती डिनर अधिबक्ताले माग मागेका थिए तर नेपाली दुताबास कुबेतको पहलले सहुलियतमा मुद्दा हेरिएका थिए ।
उनको मुद्दा हेर्न दूतावासले अधिवक्तालाई ५ हजार कुवेती डिनर अर्थात झण्डै १६ लाख ७५ हजार रुपैयाँमा मनाएको थियो ।
सञ्चबहादुर बचाउ अभियानबाट संकलित रकमबाट पचास प्रतिशत रकम मुद्दाको सुनवाई सुरुवात हुँदा नै बुझाइएको थियो । बाँकी रहेको २२ सय कुबेती डिनार पनि यो महिनाको अन्त्यसम्म बुझाउनु पर्ने अध्यक्ष लामाले जानकारी दिए ।
एनआरएनए एनसीसी कुवेत, नेपाल तामाङ घेदुङ कुवेत, नेपाल-कुवेत सरोकार समाज, नेपाल-कुवेत युनिक संघ कुबेत र प्रबासी नेपाली मन्च कुबेतको बिशेष पहलमा आर्थिक सहयोग संकलन कार्य अघि बढाइएको थियो ।
प्रतिक्रिया 4