९ भदौ, काठमाडौं । ललितपुर पुल्चोकस्थित नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा पानी पसेपछि अबरुद्ध भएको सेवा तीन घण्टापछि सुरु भएको छ ।
गएराति परेको पानीको भेल कार्यालयमा पसेर ‘सिस्टम डाउन’ भएपछि सेवा अवरुद्ध भएको थियो । पानी फालेर सेवा सुचारु गराइएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
‘विहानैदेखि पानी हटाउन लागेका थियौं’, वैद्यले भनिन्, ‘१० बजेदेखि काउण्टर खोलिएको छ, अब सेवामा समस्या छैन ।’ तर, पानी पसेर सेवा केन्द्रमा केही प्राविधिक समस्या भएको हुनसक्ने भएकाले जाँच पनि भइरहेको उनले बताइन् ।
पुल्चोकस्थित नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा मोबाइलको बिल भुक्तानी लगाएतको सेवा विहान ७ बजेदेखि नै हुन्छ । त्यहाँबाट पोष्टपेड फोनको महशुल बझ्ने, नयाँ सिमकार्ड लिने, परिवर्तन गर्ने लगायतका सेवा प्रदान गरिन्छ ।
तर, गएरातिको भेल पसेकाले तीन घण्टासम्म सेवा अबरुद्ध भयो । एक कर्मचारीले भने, ‘सबै सिस्टम डाउन भएर हाजिर पनि गर्न पाइएन, ग्राहकहरुलाई कुराउनु पर्यो ।’
विहान कर्मचारीहरु पुग्दा कार्यालय जलमग्न थियो । सिस्टम डाउन भएर काम नभएपछि ग्राहकहरु पनि सेवा सुचारु हुने आशमा कुरिरहेका देखिन्थे । केही कर्मचारीहरु पानी पन्छाउन र हिलोमाटो सफा गर्न व्यस्त थिए ।
प्रतिक्रिया 4