आरपी सुवेदी
१० भदौ, नेपालगञ्ज । संयुक्त थरुहट मधेस संघर्ष समितिले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि आन्दोलनका कार्यक्रम खुकुलो पारेको छ । संघर्ष समितिले आन्दोलनमा लाठी लिएर नआउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ ।
संयुक्त थरुहट मधेस संयुक्त संघर्ष समिति नेपालगन्जले बिहीबार पत्रकार सम्मेलन गरी रक्षाबन्धन (राखी) को कारण शुक्रबार र शनिबार दुईदिन नेपालगन्जमा मोटरसाईकल, रिक्सा, ईलेक्ट्रिक रिक्सा र पसल खुल्न दिने जानकारी दिएको हो ।
संयुक्त पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्राले भने, ‘हाम्रो आन्दोलन जारी रहने छ । तर, नजिकिँदो पर्वको कारण शुक्रबार र शनिबार पसल खोल्न दिने, मोटरसाईकल, रिक्सा र ईलेक्ट्रिक रिक्सा सञ्चालन गर्ने दिने निर्णय गरेका छौ ।’ चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा भने रोक लगाइएको उनले स्पष्ट पारे ।
उनले भने, ‘हामी आन्दोलन शान्तिपूर्ण सञ्चालन गर्ने छौं । कार्यकर्तालाई लाठी लिएर नआउन भनेको र बालबालिकालाई आन्दोलनमा प्रयोग नगर्नेप्रति सचेत हुँदै अभिभावकलाई पनि आन्दोलनमा आफ्ना बालबालिका नपठाउन आग्रह गरेका छौं ।’
कोहलपुरमा मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न दिइने
संयुक्त थरुहट संघर्ष समिति बाँकेका प्रवक्ता फुलाराम थारुले कोहलपुर क्षेत्रमा कोहलपुर क्षेत्रमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म पसल खोल्न दिने र सो अवधिमा मोटरसाईकल, ईलेक्ट्रिक रिक्सा, रिक्सालाई चल्न दिने बताए ।
तर, अन्य सवारी साधनलाई सन्चालनमा भने बन्देज लगाइएको उनले बताए । आफूहरुले जस्तोसुकै परिस्थितिमा पनि विद्यालय बन्द नगर्ने निर्णय गर्ने तयारी गरेको थारुले जानकारी पनि दिए ।
दुबै अन्दोलनका अगुवाहरुले आफ्नो बन्दका क्रममा प्रेस तथा सञ्चारक्षेत्र, मानवअधिकारकर्मी, एम्बुलेन्स, अस्पतालका गाडी, विवाह, ब्रतबन्ध, शव बाहन, धार्मिक गाडीहरु, विद्यालयका सवारी साधनहरुलाई भने सञ्चालन गर्न दिने भएका छन् ।
संयुक्त थरुहट मधेस संघर्ष समितिका सहसंयोजक विजयकुमार गुप्ताले आफूहरुको आन्दोलन नेपालगन्जको अस्तित्व बचाउनका लागि पनि भएकाले सबैको सहयोग आवश्यक भएको औल्याए । उनले भने, ‘नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनका लागि सबैले आवाज उठाउनेबेला समेत आएकाले सोको लागि सबैको एकता र यो कुरामा आवाज उठाउनु पर्ने कुराको खाँचो छ ।’
यसैबीच संयुक्त थरुहट मधेस संघर्ष समिति नेपालगन्जले एक विज्ञप्ती जारी गरी नजिकिदो पर्वको कारण शुक्रबार र शनिबार नेपालगन्जमा बन्दको कार्यक्रम यथावत राख्दै केही खुकुलो पारिएको जनाएको छ । संघर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रा र सचिव ललित रौनियारद्वारा जारी विज्ञप्तीमा आईतबारदेखि पुनः बन्दको कार्यक्रम सशक्त बनाउदै लैजाने उल्लेख छ ।
प्रतिक्रिया 4