Comments Add Comment

एमाओवादी नेताले भने-अरुणपूर्वका नौ जिल्ला लिम्बुवान हुँदैन

१३ भदौ, धरान । एमाओवादीको जातीय संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष मुक्सामहाङ मेन्याङ्वोले अरुणपूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुन नसक्ने बताएका छन् । अरुणपूर्वका नौ जिल्ला लिम्बुवान हुनुपर्छ भन्नेहरु भावनामा बगेर आन्दोलन गरिरहेको उनले बताए ।

Limbuwan-Mapआईतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा मेन्याङ्वोले लिम्बुवानमा नौ जिल्ला भए पनि झापा, मोरङ र सुनसरीको राजमार्ग उत्तरको भूभाग मात्र लिम्बुवान हुनुपर्ने धारणा राखे ।

उनले पूर्वका नौ जिल्लालाई लिम्बुवान बनाए लिम्बुहरु अल्पमतमा पर्ने बताए । उनले भने, ‘नौ जिल्लामा क्षेत्रीको संख्या ८ लाख छ भने लिम्बु ३ लाख मात्र छन्, उनीहरु अल्पमतमा पर्छन् । र दक्षिणतिरकै जनसंख्याको हालीमुहाली हुन्छ ।’

किरात याक्थुङ चुम्लुङको आलोचना

लिम्बुवानवादीलाई एक ठाउँमा उभ्याउन आफूहरुले जातीय संस्था किरात याक्थुङ चुम्लुङलाई संयोजनको जिम्मा दिएपनि उसले एकपक्षीय व्यवहार गरेर संयोजन गर्न नसकेको मेन्याङ्वोले आरोप लगाए । उनले लिम्बुवान राज्य माग्दै आन्दोलन गर्नेहरुले भन्ने गरेको अरुणपूर्वका नौ जिल्ला भन्दा हालै घोषणा भएको १ नम्बर प्रदेशको सीमांकन ठीक भएको बताए ।

अहिले अरुणपूर्वका नौ जिल्ला लिम्बुवान राज्य घोषणा हुनुपर्ने माग गर्दै संघीय लिम्बुवान पार्टीले आन्दोलन गर्दै आएको छ भने चुम्लुङको केन्द्रीय समितिले संघीय लिम्बुवान पार्टी लगायतका लिम्बुवानवादी दल र संगठनहरुसँग मिलेर केही दिनदेखि धरानको भानुचोकमा ‘लिम्बुवान कब्जा’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एमाओवादीले सुरुदेखि नै संघीयताको सवाल उठाउँदै आएपनि चुनावकाबेला एमाले र कांग्रेसलाई भोट दिएर सघाउने जनजाती र लिम्बुवानवादीहरु अहिले उनीहरुबाटै उपेक्षित भएको उनले दाबी गरे । उनले पहिलो संविधानसभामा एमाओवादीले कांग्रेस र एमालेलाई ११ प्रदेशमा सहमत गराए पनि जनजाती र मधेसीको असहमतीकै कारण संघीयता स्थापित हुन नसकेको उनले बताए ।

राजतन्त्र फर्काउने प्रयास

पत्रकार सम्मेलनमा बोल्दै मेन्याङ्वोले एमाले र कांग्रेसले धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राखेर विस्तारै हिन्दुराष्ट्र र त्यसपछि संवैधानिक राजतन्त्र फर्काउने प्रयास गरिरहेको आरोप लगाए ।

उनले कांग्रेस, एमाले र राप्रपा मिले ४ सय १ मत पुग्ने भएकाले आफूहरु कुनै हालतमा धर्मनिरपेक्षता संसोधन गर्न नदिने पक्षमा रहेको बताए । धर्मनिरपेक्षताका बिषयमा संशोधन प्रस्ताव ल्याइए एमाओवादीले विपक्षमा मतदान गर्ने उनले बताए ।

– गोपाल दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment