Comments Add Comment

यात्रा स्मरण : युवतीजस्तो चीन, वृद्धाजस्तो नेपाल !

अरुण बराल (चीनबाट फर्केर)

कैलाली काण्डको भोलिपल्ट हामी चढेको चाइना एयरको विमान सगरमाथाको चुचुरोलाई देब्रे पार्दै ल्हासातर्फ लाग्यो । काठमाडौंबाट नियमित चल्ने चाइना एयरबाट ल्हासा जाने पर्यटकहरुले ‘माउन्डेन फ्लाइट’को आनन्द राम्रैसँग लिन सक्छन् ।
Mount-Everest
विमानको झ्यालबाट मुन्टो निहुर्‍याएर आफूभन्दा तल रहेको सगरमाथालाई हेर्न युरोपेली पर्यटकले तँछाड-मछाड गरेको दृश्यले पर्यटन प्रवर्द्धनमा काठमाडौ-ल्यासा रुटको महत्वलाई झल्काइरहेको थियो आकाशमै । चीनबाट फर्कदाँ पनि विदेशीहरु झ्यालबाट तल हेर्दै भनिरहेका ओ ! माउन्ट एभरेष्ट !

‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने आहानजस्तै ल्हासाको सुन (सौन्दर्य) लाई विमानस्थलबाटै नियालेर डेढ घण्टापछि चाइना एयर हामीलाई लिएर छेङ्दुतर्फ उड्यो । ल्हासाबाट सुदुर पूर्वमा रहेको यो शहर चीनको पश्चिमी नाकाको ‘हब’ मानिँदोरहेछ । युरोप र एशियाका विभिन्न देशहरुसँग सोझो हवाइ सम्पर्क रहेको यो शहरमा एक वर्षमा ३० हजार विदेशी पर्यटकहरु आउने गरेको चिनियाँ तथ्यांकमा देखियो ।

बेइजिङ, सांघाइ, ग्वोङझाओ जस्ता शहरलाई छाडेर भन्नुपर्दा विशाल चीनका भित्री प्रान्तहरुमा उतिसाह्रो युरोपियन वा अमेरिकनहरु देखिएनन् । तर, छेङदु अलि भिन्न रहेछ । केही वर्षदेखि त्यहाँ बिना भिसा ३ दिन (७२ घण्टा) बस्न पाइँदोरहेछ ।

युवतीले चलाएको देश

पाँच दिनको बसाइमा यस्तो देखियो कि चीन महिलाहरुले, अझ त्यसमा पनि युवतीहरुले चलाएको देश रहेछ । सबै सामाजिक सेवामा महिलाको उपस्थिति देखियो । सडकमा सवारी कर उठाइरहेका कर्मचारी हुन्, सरकारी सेवामा खटिनेहरु हुन् वा पसल, होटल व्यवसाय, जतासुकै युवती नै युवती ।

पुरुषहरुको उपस्थिति निकै पातलो । पुरुषहरु चाहिँ देश-देशावरमा निर्माणका कामहरुमा बढी खटिने रहेछन् । डाटाका आधारमा होइन कि पाँच दिने भ्रमणका क्रममा केही चिनियाँ शहर र दूरवर्ती इलाकामा देखेका आधारमा यस्तो अनुभूति गरियो ।

China-tour--(8)
यस्तो लाग्यो, हाम्रो देशमा पनि निजामति प्रशासन, शिक्षण र अन्य व्यवसायहरु पूर्णरुपमा महिलालाई जिम्मा लगाए हुने रहेछ । साँच्चै देश विकास गर्ने हो भने भुसतिघ्रेहरुलाई पहाडमा सुरुङ खन्न पठाएर महिलालाई चाहिँ सामाजिक सेवाको जिम्मा दिनुपर्ने रहेछ । हामीकहाँ महिलाहरु बेरोजगार छन्, पुरुषहरु अरबमा छन् । सत्ताको पहुँचमा रहेका पुरुषहरु सरकारी सेवामा छन् । तिनका पत्नीहरु बेरोजगार छन् ।

युवतीको संगत त हामीले छेङदुबाटै गर्न थालिहाल्यौं । ‘हाइ’ भन्दै एयरपोर्टमा हामीलाई रिसिभ गर्न आएकी कोङले हामीलाई पाँचौं दिनसम्म छाडिनन् । गत शुक्रबार युहान सहरमा अवस्थित विमानस्थलमा हामीलाई विदाइ गर्न पुगेकी उनलाई हामीले यात्रामा गरेको सहयोगप्रति धन्यवाद दिँदा उनले तपाईहरुजस्ता विदेशी पाहुनालाई सेवा गर्नु आफ्नो कर्तव्य हो भन्ने ‘डिप्लोम्याटिक’ जवाफ दिइन् । हामीलाई विदा गरेर उनी राति नै युहानबाट पाँच घण्टा लामो गाडीको यात्रामा यिचान फर्किइन् ।

कोङ हामीसँगै छेङ्दुबाट ७ घण्टा लामो दुरीको रेल चढेर हुबेईको यिचान सहरमा पुगेकी थिइन् । त्यहाँबाट फेरि ५ घटा लामो बसको यात्रामा युहान पुगेकी थिइन् ।  हाम्रो पाँच दिने यात्रा यिनै किशोरीको एकल व्यवस्थापनमा चल्यो । यिचानमा भएको एउटा अन्तरक्रियामा उनैले ‘ट्रान्स्लेटर’को भूमिका निभाइन् ।

यिचानमा रहँदा नेपालस्थित महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहको याद आयो । सञ्चारिका समूहले हालै बनाएको महिला पत्रकारको सुरक्षा सम्बन्धी प्रतिवेदनमा यौनजन्य हिंसाबाट जोगिन महिलाले सिंदुर र पोते लगाउने तथा पहिरनमा ख्याल गर्ने भनिएको थियो ।

महिलाले छोटा (भड्किला ?) लुगा लगाएर हिँड्दा बलात्कारका घटना बढ्ने निश्कर्षका आधारमा सञ्चारिका समूहले यस्तो निचोड निकालेको थियो । त्यो प्रतिवेदनमा महिला पत्रकारले समाचार स्रोत वा कार्यालयका पुरुष स्टाफसँग एकान्तमा धेरैबेर बस्न नहुनेसमेत सुझाव दिइएको थियो । चीनको यिचानमा पुग्दा प्रश्न उठ्यो, हामी नेपालीहरु सांस्कृतिक चेतनाको दृष्टिले कहाँ छौं ?

Mona

यिचान पुगेपछि हाम्रा सामु अर्की किशोरी प्रकट भइन् । ‘वन पिस’ लुगा लगाएकी स्लिम एवं गोरी ती किशोरीले पावरफूल चश्मा पहिरिएकी थिइन् । उनले आफ्नो नाम निकै लामो भए पनि हामीले ‘मोना’ भनेर बोलाउन सक्ने बताइन् ।

मोनाको काम थियो, हामीलाई संसारकै सबैभन्दा ठूलो हाइड्रो पावर ‘थ्री गर्जेज’को ड्याम भ्रमण गराउने ।

थ्री गर्जेजका बारेमा पछि बताउँला, अहिले कुरा गरौं यिनै ‘मोना’को । ड्यामसम्म जाने गाडीमा चढेका बेलामा ‘वी च्याट’मा झुण्डिइरहने मोनाले फेसबुक चलाउँदिनन् । किनकि चीनमा फेसबुक बन्द छ । गुगल, जिमेल पनि खुल्दैन । हाम्रोमा फेसबुकजस्तै चीनमा वी च्याट लोकप्रिय छ ।

जब हामीले मोनालाई हाम्रो ग्रुपको फोटो खिचिदिन आग्रह गर्दै क्यामेरा दियौं, छोटो लुगा लगाएकी उनी निर्धक्कसँग हाम्रा अगाडि टुक्रुक्क बसिन् र मुस्कुराउन आग्रह गरिन् । बेपर्बाह बसेकी उनले हाम्रो सञ्चारिका समूहले भनेजसरी आफ्नो पहिरनमा कुनै ख्याल गरिनन् । उनले आधा कालो र आधा सेतो रंगको पेन्टी लगाएकी थिइन् । यात्रामा जति पटक उनले हाम्रो फोटो खिचिन्, त्यति नै पटक यो दृश्य दोहोरिइरह्यो ।

हामीले सम्झिँयौं, नायिका प्रियंकाका कार्कीको पेन्टी देखियो भने नेपाली मिडियामा समाचार बन्छ । सामाजिक सञ्जालका ‘विद्वान’हरुले यसैमा बहस गर्छन् । प्रियंकालाई सबैले अालाेचना गर्छन् र महिला पत्रकारले पनि प्रतिवेदन बनाउँछन् र भन्छन् कि पहिरनमा ख्याल गर्नुपर्छ । हाम्रोमा मात्रै होइन, भारतमा पनि यस्तै हंगामा हुन्छ । सिंगै मिडिया महिलाको फरियामा अल्झिन्छ ।

तर, चिनियाँ किशोरी मोनाले भारत वर्षका पुरुषहरुलाई अव्यक्त भावमा भनिरहेकी थिइन् कि तिमीहरु कहाँ छौ ? कुन चेतनास्तरमा छौ ? र, हामी कहाँ पुगिसक्यौं ? हामी के सोच्दैछौं र तिमीहरु केमा अल्झिइरहेका छौ ? यो सामान्य विषय थिएन, सांस्कृतिक चेतनास्तरको दृष्टिले र चिनियाँ महिलाले भोगिरहेको स्वच्छन्दा एवं स्वतन्त्रताको दृष्टिले निकै राेचक सांस्कृतिक प्रश्न थियाे ।

मोनाले जस्तै वन पिस लगाएर सडकमा स्वच्छन्दापूर्वक हिँड्नु चिनियाँ युवती र वृद्ध महिलाहरुको पहिचान नै रहेछ । उनीहरुले नेपाल र भारतका महिलाले भन्दा बढी अधिकार र स्वतन्त्रता उपभोग गरिरहेको देखियो । हामीले शहरमात्रै होइन, गाउँको पनि जनजीवन देख्यौं । ‘पेन्टी’ हाम्रा लागि समाचार र विचार बन्छ, चिनियाँका लागि महिलाको पहिरन उनीहरुको नितान्त व्यक्तिगत विषय हो ।

अमेरिकालाई जित्ने यात्रामा रहेको चीनका लागि महिला समानता र अधिकारको प्रश्न हल भइसकेको रहेछ । महिलाहरु समान छन् र यसैले त उनैले चलाइरहेका छन् चीनको प्रशासन ।

दिल्ली र काठमाडौं अझैसम्म महिलाका लागि सुरक्षित र सम्मानित स्थल बन्न सकेका छैनन् ।

आइफोन र आइप्याडमा सेल्फी खिचिरहेका चिनियाँ महिलाको हाउभाऊले भनिरहेको जस्तो लाग्यो, हामी संसारका सबैभन्दा सुखी र स्वतन्त्र नागरिकहरु हौं ।

मोनाले छुट्ने बेलामा झोलाबाट कानमा लगाउने सेता टप र मालाहरु निकालिन् र श्रीमतीका लागि किनेर लगिदिन आग्रह गरिन् । उनले भनिन् कि ती आफ्नै घरमा आफू र आमाले बनाएका सामाग्री हुन् । एउटी पर्यटक गाइडको यो प्रस्तावले भनिरहेको थियो, चिनियाँहरु आफ्नो घरमा कुनै न कुनै इलम नगरिकन बस्दैनन् । चिनियाँँ महिलाहरु सिरयल हेर्नुको साटो आर्थिक उपार्जनका काम गरेर दिन कटाउँछन् ।

पहाडभरि दुलै दुला ! खोल्साभरि पुलै पुल !

दुई दिन लगाएर १२ घण्टासम्म पहाडी प्रदेशको स्थलमार्ग प्रयोग गर्दा हामीले नेपालमा जस्तो कतै पनि उकालो-ओरालो यात्रा गर्नुपरेन । सबैतिर तेर्सो सडक र रेलमार्ग देखियो । यसक्रममा करिब १ हजारको संख्यामा हामी सुरुङहरुभित्र पस्दै निस्कँदै गर्‍यौं ।

Surung-Marga

चिनियाँहरुले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो दुलो पारेर तेस्रो बाटो बनाउँदा रहेछन् । हाम्रो देशमा काठमाडौंबाट तराई जोड्ने सुरुङमार्ग बनाउन नसकेर महाभारत परिरहेको छ । तर, चिनियाँहरुलाई यो काम दिने हो भने यिनीहरुले ताप्लेजुङदेखि दार्चुलासम्म दुलै दुलोसहितको राजमार्ग बनाइदेलान् जस्तो लाग्यो ।

हामी चढेको रेल एकैछिन् उज्यालो ठाउँमा आउँथ्यो, फेरि अँध्यारो सुरुङमा छिरिहाल्थ्यो । छेङ्दुदेखि यिचानसम्म करिब ७ घण्टाको रेलयात्रामा यसैगरी पहाडभित्र छिर्दै र निस्कँदै गरियो । सुनिएको थियो, तिब्बत आउने रेल पनि यसैगरी सयौं सुरुङहरुमा पस्दै निस्कँदै गर्छ ।

यिचानबाट युहानसम्म ६ घण्टाको बसको यात्रामा पनि यसैगरी सुरुङमा पस्दै निस्कँदै गरियो । यतिधेरै सुरुङ खन्न सक्ने चिनियाँहरुबाट नेपालीले किन सहयोग नलिने ? सुरुङ नै नखनेका भारतीयले भन्दा चिनियाँले नेपालका पहाडहरू सजिलै दुलो पार्न सक्छन् जस्तो अनुभूति हाम्रो टोलीका सबै सदस्यले गरे ।

जसरी पहाडमा चिनियाँहरुले प्वाल पारेर गाडी र रेल गुडाएका छन्, एउटा पहाड र अर्को पहाडमा जोड्ने खोंचहरुमा लामा लामा पुल बनाएका छन् । सबै सुरुङ र पुलहरु ६ लेनका फराकिला छन् । एउटै रोडमा दोहोरो गाडी चल्दैनन् । शहरमा मात्रै होइन, गाउँमा पनि यस्तै छ । सिल्क रोडको जालो बिच्छ्याएको छ देशमा । नेपालमा जस्तो प्रत्येक वर्ष पिच गरिँदैन, एकपटक बनाएपछि एक युगलाई धान्छ, यो पूर्वाधारले ।

China-tour--(3)

पहाडी गाउँमै अपार्टमेन्ट

सडकमा र विद्युतमा आएको क्रान्तिले गाउँ र शहरको दुरी घटाएको पाइयो । यद्यपि चीनमा अहिले पनि गाउँ र सहरको दुरी घटाउनेबारे राष्ट्रिय बहस भइरहेको छ । गाउँमा, पहाडका टुप्पामा समेत ४०/५० तल्ले अपार्टमेन्टहरु बनेको देख्दा हाम्रो कर्णाली र अन्य पहाडमा पनि यस्तै शहर बसाउन सकिन्छ भन्ने प्रष्ट भयो ।

भूकम्पपछि नेपालीको दिमागमा अग्ला भवन बनाउनुहुँदैन भन्ने छ, तर चीनले भूकम्पपछि पनि अग्ला अपार्टमेन्ट बनाउन छाडेको रहेनछ ।

हाइड्रोसँगै पर्यटन

विशाल नदीहरूलाई थुनेर बनाइएको थ्री गर्जेजको ड्यामबाट निस्कने विद्युतको चर्चा गरिरहनै परेन, सो ड्याम हेर्न जाने आन्तरिक पर्यटकहरुको भीड देख्दा पाे हामी छक्क पर्‍यौं । दिनमा करिब ५० हजारको संख्यामा चिनियाँहरु थ्री गर्जेजको ड्याम हेर्न जाँदारहेछन् । उनीहरुबाट उठ्ने शुल्कले नै राम्रो कमाइ हुँदोरहेछ ।

प्रत्येक मिनेटमा छुट्ने आधुनिक एवं ठूला बसहरुले पनि धान्न नसकेको भीड हेर्दा के लाग्यो भने हामीले पनि सप्तकोशी, कर्णाली लगायतका नदीबाट बिजुली निकाल्दा, सिंचाइ र विद्युतमात्रै होइन, त्यसलाई हेर्न जाने आन्तरिक पर्यटकबाट पनि राम्रो आम्दानी गर्न सक्ने रहेछौं । जस्तै कुलेखानी हेर्न जाने नेपालीहरुलाई नै एउटा सानो उदाहरण मान्न सकिन्छ ।

हाइ्रडो विद्युतका लागिमात्रै होइन, पर्यटन, पर्यावरण, जल यातायात एवं मत्स्यपालन व्यवसाय अनि व्यापार प्रवर्धनका लागि पनि बहुआयामिक चिज रहेछ भन्ने चीन पुगेपछि अनुभूत गर्न पाइयो । (थ्री गर्जेज हाइ ड्याम कसरी निर्माण भयो भन्ने विषयमा अर्को लेखमा चर्चा गरिने छ)

चीनको रेल्वे स्टेसन नेपालको एयरपोर्टभन्दा हजार गुणा गुणस्तरीय रहेछ । बुलेट ट्रेनको बनावट र सुविधा जेट विमानको भन्दा कम छैन । नेपालमा जस्तो कुनै पनि चिज आज बनाउने र भोलि मर्मतका नाममा ठेकेदार र सरकारी कर्मचारी पोस्ने प्रचलन देखिएन । त्यहाँ भ्रष्टाचारीलाई कुनै ठाउँ छैन । खुमबहादुर चीनमा जन्मिएका भए, मृत्युदण्ड पाइसक्ने थिए, राजनीति गर्ने त कुरै छाडौं ।

यिचानको पार्कमा महिलाले नचाइन्

ग्यास्ट्रिक बोकेर यिचान पुगेको शरीरले एक बिहान मर्निङ वाक गर्ने ईच्छा देखायो । बिहानै पत्रकार ओम शर्मासँग दौडँदा एउटा यस्तो पार्कमा पुगियो, जहाँ ८० वर्षका वृद्धवृद्धाहरु गीतको धूनमा नाचिरहेका भेटिए ।

एउटी प्रौढ महिलाले हामीलाई केहीबेर नाच्न लगाइन् । उनी अंग्रेजी नबुझ्ने, हामी चाइनिज भाषा नबुझ्ने । तर, कला र सौन्दर्यलाई भाषाको बारले छेकेन । हामी केहीबेर ती महिलासँग नाच्यौं । त्यसपछि केहीबेर ब्यामिन्टन खेल्यौं ।

हाम्रो देशमा निराशा र कुण्ठा छ, आत्महत्याको दर बढिरहेको छ । चिनियाँहरु रमाएर नाचिरहेका छन् । र, उनीहरु भनिरहेका छन् कि अब हामी विश्वको सबैभन्दा सम्वृद्ध देशका नागरिक बन्न लागिरहेका छौं, लौ हेर त हामीलाई !

एकाबिहानै यिचानको पार्कमा देखिएको दृश्यले के भनिरहेको थियो भने बुढ्यौली उमेरमा पनि चिनियाँहरुमा युवाको जस्तो जोश र उत्साह छ । बुढ्यौली नाप्ने आधार उमेर होइन, मानसिकता हो भन्ने ओशो रजनीशको भनाइ त्यहाँ व्यवहारले नै पुष्टि गरिदियो ।

हाम्रो देशमा निराशा र कुण्ठा छ, आत्महत्याको दर बढिरहेको छ । चिनियाँहरु रमाएर नाचिरहेका छन् । र, उनीहरु भनिरहेका छन् कि अब हामी विश्वको सबैभन्दा सम्वृद्ध देशका नागरिक बन्न लागिरहेका छौं, लौ हेर त हामीलाई !

नेपाल फर्केपछि मनभरि प्रश्नै प्रश्न

पाँच दिनपछि नेपाल फर्कंदा त्रिभुवन विमानस्थलमा झर्नासाथ विरक्त लाग्यो । चीन धपक्क बलेकी यौवनाजस्ती, नेपाल आमा उमेर ढलेकी अवलाजस्ती । विमानस्थलका ट्रलीदेखि कार्यालयमा कम्प्युटर सबै थोत्रे । कर्मचारीको काम गराइ थोत्रे, बोलीवचन थोत्रे । प्रविधि थोत्रे । सिंगै विमानस्थल एउटा कवाडीखानाजस्तो लाग्ने । विमानस्थलको स्तरवृद्धि गर्न चीनलाई दिनै नमिल्ने, अरुले नगर्ने ।

विमानस्थलबाट ओर्लेपछि माइक्रो चढेर युवा नेता गगन थापाको चुनाव क्षेत्रमा अवस्थित डेरातिर लागियो । गोपीकृष्ण हलबाट उकालो लागेपछि पानी जमेका खाल्डाखुल्डीमा गाडी पल्टेलाजस्तै भयो । कृष्णप्रसाद भट्टराईदेखि गगन थापाका पालासम्म देशमा कांग्रेसले शासन गरेको गर्‍यै छ । तर, राजधानीमै कच्चीबाटोमा हिँड्नुपर्छ हामीले । अनि कहिले बनाउने कर्णाली, कहिले बनाउने धौलागरी र सोलुखुम्बू ? रामशरण महतले देश चलाएको २५ वर्ष भयो, अहिलेसम्म काठमाडौं कच्ची छ । डाटामा देश विकास भएको छ, बाटामा छैन ।

Digging a road for Melamchi pipeline (9) - Copy

प्रश्न गर्न मन लाग्यो, गगन थापाज्यू तपाईलाई नयाँ पुस्ताको नेता भनेको तर, तपाईकै चुनाव क्षेत्रमा किन अहिलेसम्म कच्ची बाटो ? तपाई पनि सांसद भएको १० वर्ष पुगिसक्यो, खोइ त परिवर्तन ? कुन घैंटेले ठेक्का लिएको थियो कपन र सुकेधारा एरियाको बाटो ? किन डुब्छ कपन, किन हिलाम्मे हुन्छ राजधानीको सडक ? तपाईहरुले कहिले बनाउनुहुन्छ यति सानो देश ? सुकेधारा-ज्योतिनगरका बासिन्दासँगै उभिएर तपाईले ठेकेदारलाई सडकमा बोलाएर बाटो किन बनेन भनेर छलफल गर्दा के हुन्छ ? कि तपाई पनि सुशील कोइराला सदृश बन्नुभएको हो ?

स्थानीय विकासमन्त्री प्रकाशमानसिंह ज्यू ! तपाईको चुनाव क्षेत्रमा वर्षेनी बाटो बनाउन पेटी ठेक्का लाग्दैछ । काठमाडौंमा एकचोटि बनाएको बाटो कम्तिमा २० वर्ष टिकाएर कांग्रेसले गाउँको बिकासतिर फर्कने दिन कहिले आउला हजुर ? कहिलेसम्म कमिसनका भरमा टिक्नुहुन्छ तपाईहरु सिंहदरबारमा ?

नेतालाई गाली गर्नुभन्दा सिर्जनात्मक बन्नु ठीक हो । तर, देशको अवस्था यस्तो छ कि यहाँको समस्या नै भ्रष्ट एवं भीजनविनाको राजनीतिक नेतृत्व हो । यो पहाडलाई नपन्छाई देशको विकासै सम्भव देखिँदैन, जताबाट हेरे पनि ।

चीन र नेपाललाई जोडौं

छोटो भ्रमणपछि यस्तो लाग्यो, नेपालको उत्तरी सीमानाका विभिन्न नाकाहरुलाई चीनको सिल्क रोडसम्म जोड्न अति नै आवश्यक छ । ओलाङचुङगोला, किमाथाङ्का, तातोपानी, रसुवादेखि लिएर पश्चिममा मानसरोबर जाने बाटोसम्मै हामीले उत्तरी सीमासम्म नेपाली सडकको विस्तार र विकास गर्न सक्यौं भने चिनियाँ बजारसँग नेपाललाई जोड्न सकिन्छ र नेपालको कायापलट गर्न सकिन्छ ।

मोना विम्बका रुपमा आउँछिन् । तिम्रो चीन तिम्रो बैंसजस्तै उर्जाशील, उर्बर र झर्झराउँदो छ । हामी मुर्झाएका, ओइलाएका र र्झन लागेका फूलजस्तै छौं

नेपालको रेल, हाइड्रो, सुरुङ मार्ग, पुल र सडकमार्गमा चिनियाँ प्राविधिक सहयोग आवश्यक छ । यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ । यसका लागि भारतसँग पनि समदुरी आवश्यक छ । भारतसँगको नेपालको निकटता चीनको भन्दा पनि बढी छ । नेपालले दुबै देशबाट सहयोग लिएन भने राजनीतिक अधिकारले मात्रै देश अघि बढ्दैन । चीनसँग लड्छु भन्ने ‘वैद्य-नीति’ले अब देश चल्दैन ।

तर, कोदारी राजमार्ग वा वीपी राजमार्ग बनाउँदा टाउको दुखाउने छिमेकीको चित्त बुझाउने र ठेकेदार पोस्ने सरकारी नीतिमा परिवर्तन आवश्यक छ । हामीले कम्तिमा नेपाललाई आधुनिक चीनसँग जोड्न सक्यौं भने चीन विश्व शक्ति बन्दा त्यसको रस नेपालसम्म पक्कै आइपुग्ने छ । अन्यथा, फेरि पनि उही उखान चरितार्थ हुनेछ- ल्हासामा सुन छ, कान मेरो बुच्चै !

चीन अब मधेसबाट पनि टाढा छैन । मधेसलाई पनि चीनसँग जोड्नुपर्छ । यसको महत्व सम्भवतः सबैभन्दा बढी जयप्रकाश प्रसाद गुप्ताले बुझेका छन् । स्मरणीय कुरा के छ भने यतिबेला चीन र भारतवीचमा हामीले सोचेको भन्दा राम्रो मित्रता विकास भइसकेको छ । एकपटक लिपुलेकलाई नै हेरौं न ।

अन्त्यमा, फेरि उनै मोना विम्बका रुपमा आउँछिन् । तिम्रो चीन, तिम्रो बैंसजस्तै उर्जाशील, उर्बर र झर्झराउँदो छ । हामी मुर्झाएका, ओइलाएका र झर्न लागेका फूलजस्तै छौं । यही त हो हाम्रो भिन्नता ।

आशोले ठीकै भनेका हुन्, देशको पनि उमेर हुन्छ । उनले भनेका थिए, भारत वृद्धाहरुको देश हो । के हाम्रो नेपाल पनि वृद्धा देश हो ? के हामी नेपालीहरु उमेरमै पित्र बढ्यौली लागेको मानसिकता बोकेका हुतिहारा हौं ? कसले बनायो यति राम्रो देशलाई जिउँदै मरेजस्तो ? स्वदेश फर्केपछि मनभरि प्रश्नै प्रश्न छन् । अब हामीले के गर्ने ? उत्तर पाठकबाटै आओस् !

ट्वीटरमा @ArunBaral1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment