Comments Add Comment

मध्यस्थकर्ताको भूमिकामा प्रचण्ड र बाबुरामको दौडधूप

prachanda-and-baburam-bhatt

२२ भदौ, काठमाडौं । कांग्रेस र एमालेले गर्ने हरेक निर्णयमा साथ दिँदै आएका एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईको भूमिका मंगलबारदेखि एकाएक बदलिएको छ ।

सत्तापक्षको सहयोगीजस्तै देखिँदै आएका प्रचण्ड र बाबुराम मंगलबारदेखि सत्तापक्ष र आन्दोलनकारीवीच मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् ।

संविधानको विधेयकमा सहमति जनाएका एमाओवादी नेताद्वयले मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी ओलीलाई बेग्लाबेग्लै भेटेर वार्ता र सहमतिमा आउन आग्रह गरे ।

गच्छदारले छाड्नासाथ कांग्रेस एमालेलाई दबाव

चार दलीय गठबन्धनमा रहेका विजय गच्छदार संविधानको प्रक्रियाबाट बाहिरिएकै दिनदेखि एमाओवादी नेताहरुले कांग्रेस र एमालेमाथि दबाव दिन थालेका हुन् ।

थारु र मधेसीका मागलाई सम्बोधन नगरी जारी हुने संविधान टिक्न नसक्ने निश्कर्षमा पुगेका एमाओवादी नेताहरु मंगलबारदेखि सरकार र आन्दोलनकारी पक्षबीच वार्ता गराउन मध्यस्थकर्ताको भूमिकामा उभिएका छन् । यद्यपि उनीहरुको वार्ता गराउने लविङप्रति सत्तारुढ दलहरुले खासै रुची देखाएका छैनन् ।

वार्ताको वातावरण बनाउन एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुरामसहितका नेताहरुको सक्रियता एकाएक बढेको छ । उनीहरुको यो भूमिकाले एमाओवादी पार्टीलाई कांग्रेस र एमालेभन्दा केही फरक देखाउने र मधेसी, थारु एवं जनजाति समुदायमा कम आलोचित हुने नेताहरुको आँकलन छ ।

संविधान विधेयकमा कांग्रेस र एमालेसँग मिलेरै साझा संशोधन प्रस्ताव दर्ता गराएको एमाओवादी छिट्टै संविधान जारी गर्ने तर, थारु र मधेसीका मागलाई सम्बोधन गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

सोमबार आयोजित पार्टीको उच्चस्तरीय बैठकपछि एमाओवादी नेतृत्व यथास्थितिमा संविधान जारी गरे कार्यान्वयन चुनौतीपूर्ण हुने निकर्षमा पुगेको हो । त्यसको भोलिपल्टदेखि उसले सत्तारुढ र आन्दोलनरत दुबै पक्षलाई वार्तामा ल्याउन पहल थालेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई मंगलबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थारु नेताहरुसँग छुट्टाछुट्टै भेटेर वार्तामा बस्न आग्रह गरेका छन् ।

प्रचण्ड र बाबुरामले मधेसी मोर्चासम्वद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । भेटमा तमलोपा अध्यक्ष ठाकुरले विगतमा भएको सहमति कार्यान्वयनको प्रतिवद्धताका साथै केही समयका लागि संविधान निर्माण प्रक्रिया र सेना परिचालन रोके वार्ताको वातावरण बन्ने बताएका छन् ।

भेटपछि एमाओवादी नेता भट्टराईले अनलाइनखबरसँग भने-‘उनीहरु (थारु र मधेसी) ले प्रक्रिया रोक्न भनेका छन् । हामीले दुबै पक्षलाई वार्तामा आउन आग्रह गरेका छौं ।’

केपी ओलीसँग छुट्टै भेट

प्रचण्ड र बाबुरामले मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका छन् । भेटमा थारु र मधेसी मोर्चाको सर्तबारे छलफल भए पनि ठोस सहमति हुन सकेन ।

एमाओवादीका एक नेताले सत्तारुढ दलहरु थारु र मधेसीका जायज माग सम्बोधनका लागि त्यति संवेदनशील नदेखिएको प्रतिक्रिया दिएका छन् ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले थारु, मधेसी लगायतका आन्दोलन पक्षलाई वार्तामा आउन आग्रह गर्न तीनदल सहमत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment