Comments Add Comment

हाम्रो आन्दोलन पहाडीयाप्रति लक्षित छैन : उपेन्द्र यादव

upendra-yadav

सलमान खान
२२ असोज, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको आन्दोलन पहाडिया समुदायप्रति लक्षित नभएको स्पष्ट पारेका छन् । उनले आफूहरुको आन्दोलन असफल पार्न राज्यले नै घुसपैठ गराएको र गलत प्रचार गरेको आरोप लगाए ।

शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष यादवले भने, ‘तराई मधेसमा जारी आन्दोलन पहाडिया समुदाय विरुद्धको भनेर राज्यले गलत प्रचार गरेको छ । हाम्रो आन्दोलन राज्यविरुद्ध हो ।’

विगतका सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले अडान दोहोर्‍याए । वार्ताका लागि कांग्रेस, एमाले र एमाओवादी गम्भीर नरहेको आरोप लगाउँदै उनले भने, ‘काठमाडौंमा बसेका नेताहरु नहिल्लएसम्म आन्दोलन रोकिँदैन ।’

प्रदेशको सीमांकनमा हेरफेर नभएसम्म र सरकारसँग विगतमा भएको ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।

३५ बुँदे प्रस्तावको कुरा गलत

मोर्चाले ३५ बुँदे प्रस्ताव राखेको भन्ने कुरा सत्य नभएकोसमेत यादवले बताए । यादवले भने, ‘सरकार समक्ष अहिलेसम्म कुनै प्रस्ताव राखेका छैनौं तर सञ्चारमाध्यममा ३५ बुँदे प्रस्ताव राखेको भन्ने समाचार आएको छ त्यो गलत हो । हामीहरुले आन्दोलनमा भएका घाइतेहरुको उपचार, विगतमा भएको सम्झौता कार्यान्यवनका लागि सरकारको तर्फबाट प्रतिवद्धता आएपछि मात्र राजनीतिक मुद्दामा छलफल गर्ने भनेका छौं ।’

उनले मुलुकमा छिमेकी राष्ट्र भारत र चीनको राष्ट्रिय झण्डा जलाउने काम राष्ट्रको हितमा नरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment