Comments Add Comment

सडक, सडक सडक ! म अझै सडकमा छु !

पदमरत्न तुलाधर

Padmaratna-Tuladhar

म २००७ सालमा १० वर्षको केटो थिएँ । सडकमा चारतारे झण्डा जिन्दावाद, वीर गणेशमान जिन्दावाद, वीर वीपी जिन्दावाद भन्दै सडकमा दौडिएको अहिलेसम्म सम्झना छ । त्यस्तै त्रिभुवन राजा भारतमा निर्वासित हुनुभएको थियो । उहाँ र्फकनेबेला त्यो गौचरन एयरपोर्टमा हजारौं हजार काठमाडौंबासी पुगेका थिए, । अहिले पनि त्यो धुलाम्मे सडकको सम्झना आउँछ ।

त्यस बेलादेखिको सपना, नेपालमा प्रजातन्त्र आउँछ, परिर्वतन आउँछ भन्ने सपना धेरैधेरै जनताले बोकेका थिए । अब नयाँ पाइने भो, देशमा विकास हुने भो भन्ने ठानियो । तर, त्यो क्रान्ति सम्झौतामा टुङ्गयिो, मोहनसमसेर प्रधानमन्त्री भए । र, वीर भनाउँदा वीपी, गणेशमान कता-कता पुग्नुभयो ।

विसं.२०१५ सालमा चुनाव हुन्छ, फेरि एउटा आशा । सर्वप्रथम निर्वाचित सरकार भनेर आउँछ, के के न होला जस्तो । केही हुँदैन र फेरि पनि जनता निराश-निराश हुन्छन् । ०४६ सालसम्म आउँदा पनि यहाँ उपस्थित धेरै नागरिक समाज हुनुहुन्छ, हामी सबै-सबै सडकमा थियौं । ठूलो ऐतिहासिक घटना थियो । साँचो अर्थमा जनता आन्दोलनमा, लाखौंलाख जनता सडकमा उत्रिएको, धेरै धेरैले बलिदान गरेको हो ।

त्यतिखेर हाम्रो आशा थियो, अब साँचो मानेमा हाम्रो देशमा परिवर्तन आउँछ । तर, त्यो पनि सम्झौतामा टुङ्गयिो । राष्ट्रिय पञ्चायत भङ्ग नहुँदै बहुदलीय व्यवस्थाको घोषणा हुन्छ, सम्झौता हुन्छ र टुँडिखेलमा आमसभा हुन्छ । र, म पनि वक्ता हुन्छु । त्यहाँबाट मैले राष्ट्रिय पञ्चायतको सदस्यताबाट राजीनामा दिएको थिएँ । तर, त्यसपछि पनि जस्ताको त्यस्तै हुन्छ । आदिवासी जनजाति, मधेसी, महिला, मजदुर सबै उत्पीडन, शोषणमा हुन्छन् ।

राजनीतिक परिर्वतन आउँछ, सत्ता परिर्वतन हुन्छ । तर, प्रशासन संयन्त्र जस्ताको त्यस्तै । सेना जस्ताको त्यस्तै, प्रहरीतन्त्र जस्ताको तस्तै । कहीँ कतै परिर्वतन नआउने । समाज जस्ताको तस्तै, धर्मको अन्धविश्वासबाट प्रभावित जनता जस्ताको त्यस्तै ।
विसं. ०६२/६३ आउँछ, फेरि पनि लाखौं लाख जनता सडकमा उत्रन्छन्, वलिदानी दिन्छन् र ठूलो परिर्वतन आउँछ । जनयुद्धको घोषणा हुन्छ, फेरि पनि आशा, विश्वास सपना थियो । अब एउटा साँचो मानेमा क्रान्ति हुनेछ भन्ने ठूलो आशा विश्वास थियो । म पनि त्यसमध्ये एक थिएँ ।

म कहिल्यै कुनै पार्टीको सदस्य भइँन । तर, नेपालमा परिर्वतन ल्याउँछ भनेर कहिले मालेलाई, कहिले एमालेलाई, कहिले एमाओवादीलाई कहिले कसलाई सहयोग र समर्थन गर्दै आन्दोलनहरुमा लागियो । सडक । सडक सडक । आजसम्म पनि आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलनको सिलसिलामा म सडकमै छु ।

नेपालमा अब नयाँ शक्ति चाहिन्छ, तेस्रो शक्ति चाहिन्छ र नयाँ राजनीतिक पार्टी चाहिन्छ

केही वर्षअघि नेपालमा कांग्रेसले पनि सकेन र कम्युनिष्टले पनि सकेन । खासगरी ०६२/०६३ को आन्दोलन पश्चात अथवा जनयुद्ध सम्झौतामा टुङ्गएि पश्चात जनताले नै संविधान लेख्ने विश्वासका साथ अब परिर्वतन आउँछ भन्दाभन्दै त्यो परिर्वतन आउँदा पनि मेरो विचारमा केही वर्षदेखि जनता छलफलमा छन् ।

नेपालमा अब नयाँ शक्ति चाहिन्छ, तेस्रो शक्ति चाहिन्छ र नयाँ राजनीतिक पार्टी चाहिन्छ । त्यसकारण मेरो बिचारमा यो नयाँ शक्ति भन्ने अभियान बाबुराम डाक्टर सा’बले चलाउनुभएको छ, अथवा तपाई हामीले चलाएका छौं, यो अत्यन्तै गम्भीरताका साथ चलाइनुपर्छ ।

जस्तो आजै सभा सञ्चालन नयाँ तरिकाले भएको छ । तर, माफ गर्नु होला म अत्यन्तै उत्साहित हुन्छु । तर, अर्को घटना हुन्छ, उत्साह घट्छ । कहीँ कतै पनि १ बजे मिटिङ भनेर डाक्छौं, २ बजे आउँछौं । छलफल गर्छौ र निर्णय ५ मिनेटमा हुन्छ । यो कहिले तोड्ने ? त्यसकारण नयाँ शक्ति केका लागि ? नयाँ नेपाल निर्माणका लागि ।

नयाँ शक्ति केका लागि ? मधेसी जनताको मुक्तिका लागि, जनजातिहरुको मुक्तिका लागि, किसान मजदुरहरुको मुक्तिका लागि । मुक्तिका लागि भनेर ठूलो जोस, जाँगरका साथ र प्रतिवद्ध भएर यो नयाँ शक्ति निर्माण भयो भने मेरो विचारमा त्यो नयाँ शक्तिले मात्र नयाँ, स्वाधीन स्वतन्त्र राष्ट्रका रुपमा उभिनसक्ने स्थिति बन्नेछ ।

सबै नेपाली जनता, जाति-जातिहरुको देश हो । १२५ जातिहरुको देश हो । २३ वटा भाषाभाषीहरुको देशलाई एउटा फूलबारीका रुपमा निर्माण गर्नका लागि आवश्यक भनेको नयाँ शक्ति हो । त्यो नयाँ शक्ति, त्यो नयाँ पार्टी होला । तर, मेरो विचारमा समाजिक शक्ति हुनुपर्छ, सांस्कृतिक शक्ति हुनुपर्छ र हिजोका सबै विकृति विसंगतिहरुलाई ध्वस्त गर्ने शक्तिको निर्माण गर्नुपर्छ । म डाक्टरसा’ब लगायत सबैलाई शुभकामना दिन्छु ।

(अाइतबार राजधानीमा अायाेजित नयाँ शक्तिकाे कार्यक्रममा व्यक्त विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment