Comments Add Comment

नेपालमै बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको मोटर रेसिङ ट्रयाक

Moters Soports Track 2

१५ मंसिर, काठमाडौं । काभ्रेको धुलिखेलमा मोटर स्पोर्टसका लागि आवश्यक रेसिङ ट्रयाक निर्माण गरिने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएन (नासा)ले रेसिङ ट्रयाक निर्माण गर्ने भएको हो ।

नासाले २५ रोपनी जग्गा भाडामा लिएर मोटर रेसिङ ट्रयाक बनाउन लागेको हो । मंगलबार जग्गा धनीहरुले एक सम्झौता गरी नासालाई जग्गा हस्तान्तरण गरेका छन् । सम्झौतापत्रमा नासाका कार्यवाहक अध्यक्ष मेघराज पौडेल र जग्गा धनीहरुले संयक्त हस्ताक्षर गरे ।

नासाले ५ करोड लगानीमा मोटर रेसिङ ट्रयाक बनाउन लागेको हो । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ट्रयाक ८ सय मिटर लामो हुनेछ । धुलिखेलमा मोटर रेसिङ स्पट बनेपछि धुलिखेलको पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

धुलिखेलको वडानम्बर ३ स्थित पूर्व प्रस्तावित बेइजिङ प्लानको निजी जग्गा नासाले भाडामा लिएको हो । सोही जग्गामा रेसिङ ट्रयाक निर्माण गर्ने नासाको योजना छ । उक्त मोटर स्पोर्ट्स रेसिङ ट्रयाकमा गो कार्टिङ, सुरक्षित ड्राइभिङ तालिम तथा मोटर/मोटरसाइकल स्पोर्ट्समा आधारित विभिन्न प्रतियोगिताहरुको आयोजना गरी मोटर स्पोर्ट्स एवं आन्तरिक र वाह्य पर्यटन वृद्धि गर्ने नासाको लक्ष्य रहेको छ ।

Moters Soports Track

काठमाडौंबाट नजिक भएको र भौगोलिक रुपले पनि मोटर स्पोर्ट्सको लागि सुहाउदो स्थान भएको, छिमेकी राष्ट्र चीन र भारत दुवैका लागि सुहाउदो गन्तव्य भएकोले धुलिखेल मोटर स्पोर्ट्सको लागि रोजाइमा पर्ने र यसले धुलिखेलको अर्थतन्त्र अझ क्रियाशील र मजबुत बनाउनुका साथै धुलिखेलबासीका लागि नयाँ रोजगारीको समेत सिर्जना गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी रेसिङ ट्रयाकबाट खेलाडीहरुको विकास गर्नुका साथै यो नेपालको पहिलो र एक मात्र रेसिङ ट्रयाक हुने भएकाले प्रचुर मात्रामा स्वदेशीका साथै विदेशी खेलाडीहरुको आगमनको सम्भाव्यता समेत बढाउने विश्वास गरिएको छ ।

सन् २००८ मा स्थापित नासा नेपालमा मोटर, मोटरसाइकल स्पोर्टस् तथा अटोमोवाइल क्षेत्रसँग सम्बन्धित राष्ट्रिय संघ हो । मोटर स्पोर्टस्, अटोमोवाइल मोविलिटि र टुरिजम तथा रोड सेफ्टी यसका मुख्य ३ कार्य हुन् , जसमा मोटर तथा मोटरसाइकलका खेल प्रतियोगिताको आयोजना, व्यवस्थापन र सुपरिवेक्षण समेत पर्छन् ।

यसैगरी सदस्यहरुलाई मोविलिटि सेवा प्रदान गर्नु, ड्राइभ टुरिजमको विकास र व्यवस्था गर्नु तथा रोड सेफ्टी कार्यको नेतृत्व गर्नु आदि समेत यसका कार्य हुन् । नासा अन्तर्राष्ट्रिय मोटरिङ संस्था ‘फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल -एफआईर्र्ए) र फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिज्म -एफआईएम) मा पनि सन् २०११ देखि आबद्ध रहदै आएको संघ हो ।

रेसिङ ट्रयाकको अभाव, कानूनी अडचन, प्राविधिक तथा खेलाडी हरुको अपर्याप्तता, भौतिक पूर्वाधारको अभाव र आवश्यक व्यवसायिक लगानीको अभावको बीचमा पनि स्थापना काल देखिनै निरन्तर सक्रिय नासा आज नेपाली खेलकुदको मात्र होइन, टुरिज्म र रोड सेफ्टीको समेत आधार स्तम्भ बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment