Comments Add Comment

मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक

Kathmandu Durbar (1)

अन्य नेपालीजस्तै पैसा कमाउने सपना बोकेर वेदप्रकाश पोखरेल युएई आइपुगे- सन् २००३ मा । स्याङ्जा ओरस्टे-७ का पोखरेलले गाउँकै विद्यालयबाट प्रवेशिका गरे ।

‘बाबुआमाको चाहना त धेरै पढोस् भन्ने नै थियो,’ पोखरेल भन्छन्, ‘जेठो छोरा हुँ । घरको कमजोर आर्थिक अवस्था, भविष्यको कल्पना र बिदेसिएका गाउँले साथीहरुको तामझामले मेरो मन घुमायो । धन कमाउने सपना बोकेर बिदेसिने साथीको कमी थिएन । अन्ततः सुखद भविष्यको कल्पनाले मलाई जित्यो र १९ वर्षकै कलिलो उमेरमा युएई आएँ । केही वर्ष निकै संघर्ष गरेँ । बिस्तारै सफलता हात लाग्दै छ भनौँ ।’

पोखरेल युएईमा रेस्टुरेन्ट व्यावसायीका रूपमा उदाउँदै छन् । पोखरलेको काठमाडौं दरबार रेस्टुरेन्ट युएई फस्टाउँदो अवस्थामा छ । उनका श्रीमती र छोरा पनि युएईमै छन् ।

संघर्षको कथा

bedprakash pokhrelएक स्टिल कम्पनीमा मजदुरका रूपमा काम गर्न उनी युएई आएका थिए । मासिक तलब आठ सय दिराम भनिएको थियो । तर, उनले पाँच सय मात्रै पाए । ‘पाँच सयले आउन लागेको ऋण तिर्नैनपुग्ने थियो,’ उनी भन्छन्, ‘सुरुमा देशै र्फकने सोचेको थिएँ । फेरि साहु सम्झिएँ । त्यसमाथि छरछिमेकीले गरी खान नसम्ने हुतिहारा भन्लान् भन्ने लाग्यो ।’
उनले अन्याय सहन सकेनन् ।

आठ सय दिने भनेर पाँच सय दिइएकोमा उनले भद्र विद्रोह गरे । कम्पनीमा अरुलाई उक्साएको भन्दै आवासका सुविधा काटिन थाल्यो । फेरि पनि उनले भद्र विरोध गर्न छाडेनन् । भन्छन्, ‘काम पनि राम्रो गर्ने सुविधा पनि राम्रै पाउनुपर्छ भन्ने मेरो कुरा थियो । कम्तीमा पहिले भनिएको तलब त पाउनुपर्छ भनेर भद्र विरोध गरिरहेँ । चार वर्ष बित्यो ।’
यो बीचमा उनले दुबईको भूगोल, कानुन, भाषा, व्यापारका सम्भावना र आवश्यकता बुझे ।

स्विमिङ पुल मर्मतसम्भार कम्पनी

यो बीचमा उनले खासगरी व्यापारका सम्भावना बुझेका थिए । त्यसपछि केही साथीको साथ लिएर उनले स्विमिङ पुल मर्मतसम्भारसम्बन्धी काम गर्ने एक कम्पनी स्थापना गरे, सन् २००७ तिर । तर, समय बित्दै जाँदा उनका साथीहरु लाखापाखा लागे । त्यसपछि उनले आफ्नो सेयर निकालेर रेस्टुरेन्टको क्षेत्रमा लगानी गर्ने सोचे ।

काठमाडौं दरबार रेस्टुरेन्ट

Kathmandu Durbar (3)युएईमा भारतीय व्यापारीबाट सञ्चालित दिल्ली दरबार र कराँची दरबार रेस्टुरेन्ट चर्चित थिए । यो बुझेका पोखरेलले काठमाडौं दरबार रेस्टुरेन्टको सपना देख्न थाले । दुबईभन्दा केही बाहिर रहेको अजमान क्षेत्रमा नेपालीको उपस्थिति बाक्लो बन्दै गएको उनलाई थाहा थियो ।

व्यापारको राम्रो सम्भावना देखेपछि उनले यहाँ सन् २०१२ मा काठमाडौं दरबार रेस्टुरेन्ट स्थापना गरे । उनको रेस्टुरेन्टमा नेपाली परिकारका साथै इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना पाइन्छन् । जसले नेपालीको मन जित्यो । खानाको गुणस्तर, सरसफाइ र नेपालीपन भएका कारण अजमानका अन्य समुदायलाई पनि आकषिर्त गर्यो ।

केही समयको अन्तरालमा काठमाडौं दरबार रेस्टुरेन्टको अर्को शाखा अजमानमै खुल्यो । नयाँ शाखाको लोकपि्रयताले लोभिएका पोखरेलले तीन वर्षको अवधिका उत्तरी इमिरेट्स फुजेरामा तेस्रो शाखा स्थापना गरे । युएईका सातैवटा इमिरेट्समा काठमाठौं दरबार रेस्टुरेन्टको शाखा स्थापना गर्ने उनको सपना छ ।

३५ जनालाई रोजगारी

उनले आफ्ना तीनवटा रेस्टुरेन्टमा ३५ जनालाई रोजगारी दिएका छन् । रोजगारी पाउनेमा अधिकांश नेपाली कामदार छन् । केही भारतीय, बंगाली र पाकिस्तानी कामदारलाई पनि रोजगारी दिएका छन् । पोखरेलको सपना सातै इमिरेटस्मा शाखा खोल्ने छ । ‘म सातै इमिरेटस्मा काठमाडौं दरबारको नाम लेखाउने संघर्षमा छु,’ उनले भने ।

समाजसेवा
पोखरेल युएईमा हुने नेपालीका सार्वजनिक कार्यक्रममा त्यति देखिँदैनन् । कुनै सामाजिक संस्थामा देखिँदैनन् । यूएईका नेपाली समुदायमा बग्रेल्ती भेटिने ‘फेसबुके समाजसेवी’मा उनी छैनन् । भन्छन्, ‘मैले सबैको गतिविधिलाई नियालिरहेका छु । कामको व्यस्तता कारण बाहिर त्यति निस्कन पाउँदिनँ ।फेरि मलाई प्रचारमुखी समाजसेवामा विश्वास छैन ।’

समाजमा बसेपछि मानिसले सामाजिक बन्नुपर्ने पोखरेलको मान्यता छ । ‘केही वास्तविक समाजसेवी युएईमा छन्,’ उनी भन्छन्, ‘तर, प्रचारमुखी समाजसेवीको हालीमुहाली छ । त्यसकारण पनि म टाढा बसेको छु ।’ उनले आफ्नो सम्पर्कमा आएका धेरै पीडित नेपालीलाई सहयोग गरेका छन् ।

भन्छन्, ‘मेरो गाउँका मठमन्दिर, विद्यालयमा नियमित सहयोग गरेको छु । केही समयअघि सांगठनिक रूपमै काम गरेँ । पछिल्लो समय स्वतन्त्र रूपमा सहयोग गरेको छु ।’

प्रस्तुति: रामप्रसाद ढुंगेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment