Comments Add Comment

ओलीले चाइना कार्ड खेल्न खोजे तर सकेनन्ः सुद

६ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तिथि नजिकिँदै जाँदा नेपालमा जस्तै दिल्लीमा पनि नेपाल-भारत सम्बन्धबारे सार्वजनिक बहस सुरु भएको छ । र, यही बहसमा सहभागिता जनाउँदै नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुदले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नियमित अडानबाट पछि हटेर भारतलाई विश्वासमा लिएको दाबी गरेका छन् ।

Rakesh-Sud
राकेश सुद

ओलीको भारत भ्रमणको अघिल्लो दिन द हिन्दूमा एक लेख लेख्दै सुदले ओलीको चाइना कार्ड असफल भएको घुमाउरो आशयसमेत व्यक्त गरेका छन् ।

ओलीले यसअघि मधेसका मागबारे संविधान संसोधन गर्न अस्वीकार गरेको र भारतको विरोधमा सार्वजनिक भाषणबाजी गरेको आरोप लगाउँदै पूर्वराजदूत सुदले लेखेका छन्, ‘तराईको भ्रमण गरेर मधेसीहरुलाई भेट्नुको साटो उहाँले नेपाली राष्ट्रियताको झण्डा उठाउनुभयो । भारतसितको बेखुसी प्रकट गर्दै उहाँले परम्परा तोड्दै आफ्नो पहिलो विदेश भ्रमण चीनमा गर्ने अभिलाषा समेत व्यक्त गर्नुभयो ।’

पूर्वराजदूतको थप विश्लेषण छ, ‘यसो गरिरहँदा उहाँले नेपाल सयभन्दा बढी जातजाति भएको अत्यन्तै विविधायुक्त समाज हो र प्रधानमन्त्रीको रुपमा  एकताको प्रतीक भएर काम गर्नुपर्छ भन्ने बिर्सिनुभयो ।’

तिब्बतियन सीमाक्षेत्रबाट बैकल्पिक आपूर्तिको मार्ग विकास गर्न चीनमा प्रतिनिधिमण्डलहरु पठाएर विगतमा अरुले जस्तै चाइना कार्ड खेल्न खोजे पनि त्यसका अप्ठ्याराहरु तुरुन्तै बाहिर आएको सुदले तर्क गरेका छन् ।

पूर्वराजदूत सुदले ओलीको पृष्ठभूमि कोट्याएका छन् । भारतका लागि केपी ओली अपरिचित नभएको उनले बताएका छन्

अन्ततोगत्वा ओलीले संविधान संशोधन नगरी मधेसका माग सम्वोधन गर्न नसकिने महसुस गरेको सुदको भनाइ छ ।

यद्यपि सुदले भनेजस्तो हाल संविधान संशोधन भएका बुँदामा ओलीले पहिले असहमति जनाएका थिएनन् । उनले नाकाबन्दी खुल्ने निश्चितता भएमात्रै संविधान संशोधन गर्ने अडान लिँदै आएका थिए ।

आफ्ना परराष्ट्रमन्त्री कमल थापालाई प्रस्तावित संविधान संशोधनबारे छलफल गर्न दुईपटक भारत भ्रमणमा पठाएर ओलीले  दिल्लीलाई विश्वासमा लिएको पूर्वराजदूत सुदले उल्लेख गरेका छन् ।

‘(त्यसैको परिणामस्वरुप) संविधान संशोधनसमेत भइनसक्दै भारतीय अधिकारीहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरे र (वीरगञ्ज नाकामा रोकिएका) ट्रकहरुलाई वैकल्पिक मार्गबाट नेपाल पठाउन सहजीकरण गरे ।’ सुदको थप विश्लेषण छ, ‘आन्दोलनरत मधेसी मोर्चाको नेतृत्वले पनि आन्दोलनले एउटा चरण पार गरेको र यसलाई अनन्तकालसम्म लम्ब्याउन सकिँदैन भन्ने महसुस गर्न थालेको अवस्थामा एउटा सम्झौता आवश्यक भयो ।’

Birganj-Naka

नाकाबन्दी किन खुल्यो ?

नाकाबन्दी खुल्नुको कारणबारे चर्चा गर्दै सुदले भनेका छन्, ‘मधेसी आन्दोलन यति लामो समय जारी रहन्छ भन्ने कसैलाई लागेको थिएन र त्यसैले यसको निकासको विकल्पबारे कोही पनि तयार थिएनन् ।

विरोध प्रदर्शनका रुपमा जे सुरु भएको थियो, त्यसले आन्दोलनको रुप लियो र मधेसी मोर्चाका नेताहरु समेत कसरी सम्मानजनक सम्झौतामा पुग्ने भनेर अलमलमा परे ।

यसैबीच स्वतन्त्र मधेसको मागसहितका नयाँ आवाजहरु निस्के । तराईमा व्यापार व्यवसाय तथा स्कुलहरु अनवरतरुपमा बन्द हुँदा स्थानीय जनसंख्या पीडित बन्यो ।’

नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले दुई देशबीचको सम्वन्धमा पछिल्लो समयमा उत्पन्न भएको असमझदारी हटाउनका निम्ति खुल्ला छलफलको अवसर प्रदान गरेको सुदले बताएका छन् । उनले भनेका छन्, ‘दुबै पक्षले ठूलो अपेक्षा नराखेको अवस्थामा खुल्ला ढंगले ‘चाय पे चर्चा’ का लागि तथा आपसमा कठोर शब्दावलीसम्म पुग्ने गरी उत्पन्न असमझदारी दुर गर्न स्वागतयोग्य अवसर भ्रमणले दिएको छ ।’

ओलीले भारत भ्रमण गर्नुअघि तीन महिनाभित्र सीमांकन परिमार्जन गर्न उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने भनी गरेको घोषणा उल्लेख गर्दै सुदले यो घोषणा मधेसी समूहका साथसाथै दिल्लीतर्फ पनि लक्षित रहेको जनाएका छन् ।

लेखमा सुदले ओलीको पृष्ठभूमिसमेत कोट्याएका छन्  । उनले केपी ओली भारतका लागि अपरिचित नभएको भन्दै भारतका थुप्रै नेतासित उनको सुमधुर सम्वन्ध रहेको उल्लेख गरेका छन् ।

Kp-oli-and-Ranjit-rey
भारतीय राजदूत रञ्जित रायसँग प्रधानमन्त्री केपी अाेली

पूर्वराजदूत सुदले लेखेका छन्, ‘सन् १९७० को दशकमा १४ वर्षसम्म जेलमा रहँदा नक्सलाइट नेता रहेका ओली वैचारिक हिसाबले पनि धेरै अगाडि आइसकेका छन् । विगतमा गृहमन्त्री र विदेशमन्त्री हुँदा उनले निर्णायक र व्यवहारिक दुवै छविमा आफूलाई उभ्याएका थिए ।’

एमाअाेवादी अध्यक्ष प्रचण्डले समेत भारतसित सम्वन्ध सुमधुर बनाउन र राजनीतिक अस्थिरताको सामना गर्न बढी स्वीकार्य नेता आवश्यक भएको आशय व्यक्त गर्न थालेको सन्दर्भ सुदले कोट्याएका छन् ।

यस सन्दर्भमा ओलीले भावी कांग्रेस सभापतिलाई हातमा लिएर आफ्नो समर्थनको दायरा बढाउने र राष्ट्रिय एकताको सरकार निर्माण गर्ने दिशामा कदम चाल्न सक्ने सुदको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment