Comments Add Comment

ड्याडी-ममी नमिले ‘मर्छु’ समेत भनेँ: अनमोल केसी

Bhuwan and Anmol kc (2)

नायक अनमोल केसी (छोरा) र भुवन केसी (बाबु)को सम्बन्ध बाहिर हेर्दा जस्तो छ, के भित्री रूपमा पनि त्यस्तै होला ? आमा सुस्मिता घर छाडेर गएपछि अनमोलको मनोविज्ञानमा कस्तो असर गर्यो होला, के अनमोल आमाबाबुलाई एक हुनुपर्छ भन्नका लागि अगाडि आएनन् होला त ? यस्तै-यस्तै प्रश्न धेरै पाठकको मनमा पनि हुन सक्छ । अनलाइनखबरको स्टुडियोमा भुवन र अनमोलले यिनै सवालमा जवाफ दिए ।

अनमोलको रुचि अभिनयमा रहेको भुवनलाई कहिले थाहा भयो होला ?

भुवन केहीबेर सम्झेर भन्छन्, ‘जसरी सानैदेखि मलाई गीत गाउन मन पथ्र्यो, अनमोल पनि पढाइभन्दा म्युजिक र स्पोर्टमै रुचि राख्थ्यो । म पढाइमा खासै कमजोर थिइनँ, जसरी अनमोलले पनि पढाइमा खासै रुचि राखेन । म रेडियो नेपालमा सानै उमेरमा गाना गाउँथेँ, अनमोलले पनि साथीहरूलाई समेटेर स्कुलमा म्युजिक ब्यान्ड नै बनाएको थियो । ठ्याक्कै मेरो स्वभाव गएको थियो उसमा । उसले कहिल्यै पनि हामीलाई अभिनय गर्छु भनेन । तर, उसमा भित्रैबाट अभिनयको रुचि भएपछि हामीले साथी म तिम्रोको एउटा गीतमा खेलायौँ । यो गीत गरेपछि अनमोललाई चलचित्र खेल्न मन छ या छैन भन्ने बुझ्न पनि हामीलाई सजिलो हुन्थ्यो । तर, अनमोलले गीतमा राम्रो काम गर्यो । पछि, होस्टेल चलचित्रका लागि निर्देशक हेमराज बीसीले अफर गर्दा उसले स्क्रिप्ट हेर्यो र मन पर्यो भन्यो । उसले कुनै पनि तालिम लिएको छैन, मसँगै सानोमा छायांकन स्थलमा पुग्दा, घरमा निर्माता निर्देशक आउँदा उसलाई अभिनयको ज्ञान भएको हो । उसको अभिनयबारे विभिन्न कुरा हुन्छन् । तर, अनमोल एक्सनको रियाक्सन हलिउड लेभलको गर्छ । ऊबाट मैले सिक्नुपर्ने कुरा पनि धेरै छन् ।’

भुवनको लामो उत्तरपछि प्रश्न अनमोललाई, कुरा उही थियो अभिनयमा रुचि छ भन्ने कुरा कहिलेदेखि थाहा भयो ?

‘मलाई होस्टेलको स्क्रिप्ट आएको थियो । त्योभन्दा अगाडि पनि मलाई अफर नआएको होइन । तर, होस्टेलको कथा मेरो रियल लाइफमा पनि मिल्ने भएकाले मन पर्यो । म पनि रियल लाइफमा होस्टेलबाट निकालिएको केटा हुँ । चलचित्रको कथा पनि त्यस्तै भएकाले मलाई गर्न मन लाग्यो । म मेरा साथीभाइ र टिचरलाई चलचित्रका माध्यमबाट देखाउन चाहन्थेँ । यसबाट राम्रो फिडब्याक आयो ।’

कुरा होस्टेलको आएपछि अनमोललाई अर्को एउटा प्रश्न थियो, के तपाइर्ंलाई बाबुआमाले होस्टेलमा नराखिदिएको भए हुन्थ्यो जस्तो लागेन ?

अनमोल यसको जवाफमा पोजेटिभ देखिए । मलाई होस्टेलमा नराखिदिएको भए हुन्थ्यो भन्ने नै लागेन । मलाई होस्टेल लाइफ बहुतै मन पर्यो । केटाहरूको बदमासी, रमाइलो, वास्तवमै भन्ने हो भने घरमा हुँदैन । होस्टेल जाने पहिलो दिन साथीहरूले देख्छन् भनेर ब्ल्यांकेटले मुख थुनेर रुन्थेँ । तर, पछि त्यसमै रमाउन थालेँ । पछि बिस्तारै घरमै जान मन नलाग्ने भयो ।

एउटा सुपरस्टारको छोरालाई किन होस्टेलको जीवन दिइयो होला, साँच्चै के पिता भुवनको मनले छोरालाई होस्टेल पठाउन मान्यो त ? यसमा भुवन जवाफ-

मान्छेको जीवनमा होस्टेल पनि बस्नुपर्ने चिज रहेछ । यो कुरा मैले अनुभव गर्न पाइनँ । होस्टेलबाट फर्किएपछि अनमोलमा आफ्नो काम आफैँ गर्ने, आफ्नो लूगा आफैँ मिलाउने बानी बस्यो । जुन अहिले म पनि गर्न सक्दिनँ…
बीचमै अनमोल बोले-

भुवन भन्छन्- म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’

हाम्रो घरमा काम गर्ने मानिस छन् । तर म आफ्नो लुगा आफैँ मिलाउन चाहन्छु । आफूले खाएको भाँडा आफैँ मोल्न मन लाग्छ । अरुले गरेको कामको चित्त नै बुझ्दैन ।

फेरि भुवन बोले- अनमोललाई अहिले आत्मविश्वास बढेको छ । मलाई चिया खान मन लाग्यो भने कराइरहन्छु । तर, अनमोल आफैँ बनाएर ल्याउँछ ।

आखिर अनमोललाई होस्टेल किन राख्नुपर्यो त ? भुवन भन्छन्, ‘मैले उसलाई थप्पड त के गाली पनि गरेको छैन । ऊ घरमा हुँदा राम्रो पढ्दैनथ्यो । होस्टेलमा गयो भने साथीभाइको संगतले पढ्ला, होमवर्क गर्ला भन्ने लाग्यो । म भने उसलाई होस्टेल नराख्ने पक्षमा थिएँ । उसकै ममीको सल्लाहमा राखिएको हो, मेरो खुसीले होइन है फेरि ।’

अनमोल र भुवन एक-अर्कालाई बाबुछोरा भन्दा पनि साथी भन्न रुचाउँछन् । साच्चै यी दुईबीच कस्ता-कस्ता कुरा सेयर हुन्छन् होला ?

भुवन भन्छन्, ‘सानोमा उसले मेरो राम्रो लुगा देख्यो कि लगाइहाल्थ्यो । यसको लुगा मलाई फिट हुँदैनथ्यो । तर, अहिले उसले राम्रो लुगा लगाउन थाल्यो । म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’

भुवनको कुराले अनमोल पनि मुसुक्क हाँसे । बिहानदेखि खाना नखाएकाले अनमोल केही निन्याउरो देखिएका थिए । अनलाइनबरको स्टुडियोमा आएकी चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मीले बाई भन्दै बिदा मागिन् । भुवन र अनमोलले हात हल्लाए, फेरि कुराकानीमै केन्दि्रत भए ।

भुवनले थपे, ‘हाम्रो व्यक्तिगत कुरा पनि सेयर हुन्छ । हामी बाबुछोरा जस्तै लाग्दैनौ । म बाबु हँु, तैँले यो गर्नैपर्छ भनेर म कर गर्दिनँ । यो कुरा हो बाबु, गरे राम्रो हुन्छ भन्छु । तर, उसले केहीबेर सोच्छ र राम्रो लागे गर्छ, नत्र मलाई रुचि छैन भन्छ । यसपछि म फोर्स नै गर्दिनँ ।’

अनमोललाई बाबु कस्ता लाग्छन् त ?

Bhuwan and Anmol kc (1)

अनमोल रमाइलो पारामा बोले, ‘उहाँ एकदमै फ्रयांक र फ्रेन्ड्ली लाग्छ । मलाई ड्याडीजस्तो नै लाग्दैन, साथीजस्तो लाग्छ । कहिलेकाहीँ त मलाई भुवन केसी मेरो बच्चा जस्तो पो लाग्छ । किनकि म उहाँलाई धेरै राम्रा-राम्रा सल्लाह दिइरहेको हुन्छु । उहाँ बाहिर जाने घुम्ने गर्नुहुन्छ तर म घरमै बस्छु, खासै बाहिर हिँड्दिनँ ।’

के अनमोलले भुवनसँग युवतीका कुरा सेयर गर्छन् ?

भुवन मुस्कुराउँदै बोले, ‘उसले मलाई हरेक कुरा सेयर गर्छ । तर, युवतीका विषयमा जहाँसम्म मलाई लाग्छ, स्पेसल कोही छैनन् । अब केटी फ्यान, साथीहरू हुनु त स्वाभाविक नै हो ।’

भुवनले अनमोललाई गलफ्रेन्ड भए डिनरका लागि बोलाउन पनि भनेका छन् । तर, अनमोल भने आफ्नो कुनै प्रेमिका नभएको बताउँछन् ।

अनमोल भन्छन्, ‘खासै त्यस्तो छँदै छैन । मलाई रिलेसनसिपका लागि समय नै छैन । रिलेसनसिप भयो भने कपाल मात्र छिटो झर्छ ।’

अनमोलको कुराले भुवन हाँसे । सायद, कसैसँग सम्बन्धमा रहँदा धेरै टेन्सन हुने भएकाले अनमोल कपाल झर्ने कुरा गर्दै थिए ।

बाबुको नाम धेरै युवतीसँग जोडिने गर्छ । यस्ता समाचार पढ्दा, सुन्दा एउटा छोरालाई कस्तो लाग्ला ? मनोविज्ञानमा कस्तो असर गर्ला ?

अनमोल भने यसले आफूलाई कुनै असर नगर्ने बताउँछन् । भन्छन्, ‘म चाहन्न कि मेरो ड्याडी दुःखी भएर घरमा पत्रिका पढेर बस्नुहोस् । यो उहाँको रमाइलो गर्ने उमेर हो भने गर्नुपर्छ । मेरी ममी पनि सँगै भएको भए सायद मैले यो कुरामा आपत्ति जनाउँथेँ । तर, उहाँ एक्लै हुनुहुन्छ । यो उहाँको जीवन हो, मनोरञ्जन गर्न पाउनुपर्छ ।’

भुवन छोरालाई अथाह प्रेम गर्छन् । छोराको प्रेम पनि बाबुलाई उस्तै छ । भुवनले छोरालाई माया गरेर गालामा चुम्बन नगरेको कति भयो होला ?

भुवन हाँस्दै बोले, ‘अस्ति भर्खरै गरेको । उसलाई त म जहिले पनि गर्छु । कतै जाने बेला पनि गुड लक भन्दै गालामा चुम्बन गर्छु । सानोमा त ऊ उसको आमाभन्दा बढी मसँग हिँड्थ्यो ।’

साँच्ची, भुवनले अनमोललाई एउटा पिताको नाताले गर्ने माया कति होला ?

मैले अनमोललाई मेरो छोरा भनेर सोच्दिनँ । अनमोल नै म हो, म नै अनमोल हो । मभन्दा पनि बढी सफल होस् । भर्खरै मैले किनेर ल्याएको नयाँ पाइन्ट पनि उसले लगाउँछु भनेपछि मैले उसलाई तै लगा भनेर दिइहाल्छु । म कतै जान लागेको छु भने उसले म जाउँ भन्यो भने तैँ जा भन्छु । ऊ बच्चैदेखि पनि मसँगै नै झ्यामिन्थ्यो । यसैले पनि होला, आज परिस्थितिवश हामी बुढाबुढी अलग बसेका छौँ । तर, अनमोल मसँग नै बसिरहेको छ । यसैले पनि अनमोलको मलाई झनै माया लाग्छ । साँच्चै, उसले मलाई अथाह प्रेम गर्छ भन्ने मलाई लाग्छ ।

मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।

भुवनले त अनमोलप्रति प्रेम दर्शाए । के अनमोल भुवनसँग बस्नुको कारण यही नै थियो त ?

अनमोल केही गम्भीर मुद्रामा देखिए, ‘म ड्याड-ममलाई बराबर प्रेम गर्छु । तर, बच्चैदेखि म जुन बेडमा सुत्छु, मेरो कोठामा जुन फर्निचर छ, यसमा मेरो लगाव बढी भएको हो । तर, मायाचाहिँ दुवैजनालाई बराबर गर्छु ।

के बाबुछोरा कहिल्यै भावनामा बगेर रोएका होलान् ? धेरै बाबु छोराबीच भावनाका आँसु धेरै बगेका हुन्छन् ।

भुवनले सम्झिए, ‘अहिले त यस्तो भएको छैन । तर, अनमोल सानो हुँदा सायद त्यस्तो भएको हुन सक्छ । खासगरी, उसको ममीसँग छुटिने बेला हामी इमोसनल भएर रुन्थ्यौँ । तर, अहिले त खुसी नै छौँ ।’

आमाबाबु अलग हुँदा सन्तानको मनमा पीडा त हुन्छ नै । अनमोल पनि यस्तै पीडाबाट के अलग छन् होला त ? के उनलाई लागेन आमा र बुबा अलग नभइदिएको भए हुन्थ्यो भन्ने ?

एउटा छोराको चाहना आमाबाबु सँगै बसून् भन्ने नै हुन्छ । तर, म स्वार्थी हुन चाहन्न । मेरो खुसी मात्र सोचेर पनि हुँदैन । मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।

बाबु र आमाको मिलनका लागि उनले कुनै पहल गरेनन् होला त ?

कति गरेँ कति । अनमोल पीडा लुकाएर हाँसे । र, बोल्ने कोसिस गरे, ‘पहल त कति गरेँ गरेँ ?’

बीचमै भुवनले काटे, ‘बाबुआमा मिल्दिए हुन्थ्यो भन्ने त उसलाई लाग्छ होला । तर, कहिलेकाहीँ भन्छ- तिमीहरू खुसी छौ भने ठीकै छ ।’

फेरि अनमोल बोले, ‘पहिले त उहाँहरुलाई मिलाउन धेरै कोसिस गरेको थिएँ । यतिसम्म कि मैले ब्ल्याकमेल पनि गरेको थिएँ । हजुरहरु नमिल्ने हो भने, म आफैँ मर्दिन्छु पनि भनेको थिएँ ।’

यति भनेर चकलेटी नायक हाँसे । फेरि जोडे,

‘अहिले त ड्याड-मम दुवै खुसी हुनुहुन्छ जस्तो लाग्छ । म पनि आफ्नै कामले व्यस्त छु । घरमा पनि खासै हुँदिनँ ।’ यति बोल्दानबोल्दै अनमोल भावुक भइसकेका थिए । तर, चलचित्रको दृश्यको अभिनयजस्तै बीचमै हाँसिदिएँ ।

छोरालाई सुनिरहेका भुवनका पनि आँखा भरिएका थिए ।

भुवनले अनमोललाई कति माया गर्छन् होला ?

‘कुन बाबुले आफ्नो छोरालाई माया गर्दैन र ? अनमोलका दाजु र दिदी पनि छन् । उनीहरू भन्दा पनि उसको माया बढी किन लाग्छ भने सानैदेखि उसको संगत बढी भयो । यसैले पनि अनमोलको माया बढी लाग्छ । फेरि, उसले मेरै पेसा रोजेका कारण पनि उसको सफलता हेर्दा मलाई बहुतै खुसी लाग्छ । कतिपय मैले पूरा गर्न नसकेको कुरा पनि अनमोलले गरोस् भन्ने लाग्छ । नेपाली चलचित्र क्षेत्रका लागि अनमोलले गर्व गर्नलायक काम गर्दियोस् भन्ने लाग्छ ।’

भुवन स्क्यान्डलमा खुबै परे, के अनमोल यसबाट बच्न सक्लान् त ?

Anmol kc (1)

मुख्य कुरा आफू अनुशासनमा बस्ने हो । तर, स्क्यान्डल आयो भने कसरी त्यसलाई पार लगाउने भन्ने विषयमा मैले सोचेकै हुन्छु ।

अनमोल केसीलाई एउटा आरोप छ, भुवन केसीको छोरा भएकै कारण आज यो उचाई र सफलता मिलेको हो ? यो अनमोलका लागि लक हो ? अनि अनमोल लुक्सकै कारण चलेको हो ?

यसमा अनमोल तर्क छ, ‘म उहाँकै छोरा भएपछि यो उहाँको जुन क्रेडिट छ, यो अरुले खाने कुरा नै हुँदैन । मेरै अनुहार हो त, मेरो अनुहारको क्रेडिट मैले नखाएर अरु कसले खान पाउँछ त ? मैले अरुको चिज प्रयोग गर्न भएन । आफ्नो कुरा त आफूले नै प्रयोग गर्ने हो ।’

भुवन बीचमै थप्छन्, ‘मेरो छोरा हुँदा उसलाई सजिलो मात्र भएको छ । मेरो फ्यान, पत्रकारले पनि साथ दिने नै भए । यो कुराले यसलाई प्लस मात्र गरेको छ । उसको आफ्नै ट्यालेन्ट, लुक्स, बानीमै डिपेन्ट गर्ने हो ।’

साथीजस्ता भुवन केसी र अनमोल केसीले दिल खोलेर कुरा गरे । अनमोलले पैसा कमाउन थालेको धेरै भएको छैन । उनले बाबुसँग पकेट मनी माग्न छाडेको कति भयो होला ?

भुवन भन्छन्, ‘दुई वर्ष भयो । आफैँले कमाउन छाडेपछि मैले दिन छाडेको छु ।’

अनमोल आफ्नो कमाइ बाबुआमा दुवैलाई दिन्छन् । उनी भन्छन्, ‘म ड्याडलाई पनि दिन्छु, ममलाई पनि दिन्छु । भविष्यको योजनाका लागि सेफ पनि गर्छु । आफूलाई जिउन पनि खर्च गरिरहेको हुन्छु । सबै ठाउँमा ब्यालेन्स गर्छु ।’

अनमोलले कमाएको पैसा आफूलाई दियोस् भन्ने चाहना भुवनलाई छ कि छैन ? यसमा भुवन छोरालाई सानै देख्छन्, ‘मेरो नजरमा त ऊ सानो बच्चा हो । यति सानो उमेरमा उसले नाम कमाउनु नै ठूलो कुरा हो । उसले कमाएको पैसा जे गरे पनि मैले केही भन्दिनँ । मलाई चाहियो भने तैँले धेरै कमाएपछि माग्छु भन्छु । अहिले त मलाई उसले मसँग नमागेकोमा नै ठूलो कुरा लागिरहेको छ ।’

बाबु छोरामा धेरै प्रेम छ, साथ र सहयोग छ । भुवन केसीको उमेर बिस्तारै बढ्दै छ, अनमोल स्टार बन्ने दौडमा छन् । छोरा बुढेसकालको साथी बनोस् भन्ने पनि त होला नि, प्रश्न सकिन नपाउँदै भुवन बोले, ‘अवश्य बन्छ । ऊ मेरो बुढेसकालको साथी बन्छ । अहिले त मैले आफैँ कमाइरहेको छु । तर, पछि मलाई केही भयो भने उसले मलाई हेर्छ भन्नेमा त मलाई कुनै शंका नै छैन नि ।’

छोराप्रति भुवन शतप्रतिशत विश्वस्त देखिए । अनमोल पनि दायित्व सम्झन्छन्, ‘गर्नैपर्छ लाइफमा । आफ्नो परिवारलाई नगरे कसलाई गर्ने त ?’

‘अनमोलले के नगरिदिए हुन्थ्यो होला भन्ने लाग्छ त भुवनलाई ?’

Anmol kc (2)

अनमोलले आजसम्म मेरो दिल दुखाउने काम नै गरेको छैन । एउटा बाबु आमालाई छोराले ड्रग्स नखाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यो गरेन । उसले जीवनमा लागुपदार्थ कहिल्यै पनि सेवन नगरोस्, यसले मलाई चोट पुर्याउँछ । उसले यो काम गरेन, म यसमै खुसी छु ।

‘अनमोलको बिहेबारे भुवनले के सोचेका होलान् ?’

अहिलेको जमाना हाम्रो पालाको होइन । उसले जस्तो चाहन्छ त्यस्तै बिहे गरोस् भन्ने छ । आफू योग्य भएपछि मात्र बिहे गर भन्ने मेरो सुझाव हो । मेरो छोराले मन पराएको केटी मेरा लागि उत्कृष्ट जहिले हुन्छ । तर, नेपाली केटीसँग गर, विदेशी नगर भन्ने मात्र मेरो चाहना हो ।

‘नायिका गरोस् भन्ने छ कि छैन ?’

मलाई नायिकासँग बिहे गरे पनि केही छैन । किनकि, नायिका पनि राम्रा-राम्रा छन् ।

छोरामा कमजोरी देख्छन् भुवन ?

‘भुवन छोराका साना कमजोरी केलाउन लागे । उनको बुझाइमा अनमोल अल्छी छन् । बिहान उठ्न सक्दैन ।’

अनमोलले बीचमै कुरा काटे । काम गर्ने बेला त उठिहाल्छु नि । अरु बेला सुत्ने अधिकार सबैलाई छ हैन ?

अनमोलको नजरमा भुवनका पाँच कमजोरी के होलान् ? उनले यसरी सूची तयार पारे ।

१) चुरोट खाने बानी ।
२) आफ्नो उमेरभन्दा बढी योङ फेसन ।
३) तनाव बढी लिने ।
४) व्यायाम नगर्ने ।
५) अल्छी बढी । आफ्नो काम आफू नगर्ने, अरुलाई अह्राउने ।

प्रस्तुति: विजय सुवेदी आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment