Comments Add Comment

 नयन र लेनिनले मञ्चमा पढे कथा

 

Nayan-and-lanin

सधैं नाटक मन्चन हुने मण्डला थियटरमा शनिबार दिउँसो बेग्लै माहोल बन्यो । प्रकाशको संयोजन, बाजा गाजा र खचाखच दर्शकका बीच मञ्चमा उक्लिएर नयनराज पाण्डे र लेनिन बञ्जाडेले एक-एक वटा कथा पढे ।

बुक लभर्स नेपालले आयोजना गरेको ‘कथाक्रम’को पहिलो शृंखला पाण्डेले ‘राजा इन्द्रलाई थाहा छ’ कथामार्फत सुरु गरे । नेवारी परिवेशमा लेखिएको यो कथालाई लेखक आफैंले बाचन गरेर असनका गल्ली-गल्ली घुमाए । पाण्डेले कथा भनेर सकेलगत्तै मञ्चमा झुल्किए  लेनिन  बन्जाडे । कथा ‘अफयेरगन्ज’ वाचन गर्दा बञ्जाडेले दर्शकलाई बीच-बीचमा मज्जैले हँसाए । आधुनिक प्रेम र पछिल्लो युवापुस्तालाई लक्षित गरी लेखिएको ‘अफेयरगन्ज’लाई दर्शकले निकै मन पराए ।
कथा पढेर सकिएपछि लेखक-स्रोता अन्तर्क्रिया गरिएको थियो । कथासम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले कथाकारले आफ्नै परिवेशको मात्र कथा लेख्नुपर्ने कुनै नियम नहुने बताए । त्यस्तै ‘अफेयरगन्ज’का प्रमुख पात्र र आफ्नो कुनै सम्बन्ध छ कि भन्ने प्रश्नमा बञ्जाडेले कथा पूर्ण रुपले काल्पनिक भएको बताए । अन्तर्क्रियाको संयोजन सञ्जित भारतीले गरेका थिए ।
कथावाचनका क्रममा क्लाउढ समूहले संगीत संयोजन गरेको थियो । कथाको भावअनुसार गरिएको संगीतलाई स्रोताहरूले रुचाएका थिए ।
कविता, गीत, गजलजस्ता काव्यिक सिर्जनाका लागि नौलो नभए पनि कथामै केन्द्रित रहेर स्वयं लेखकबाटै वाचन गराउने नयाँ प्रयोग भएको बुक लभर्स नेपालका अध्यक्ष विवेक मिश्रले बताए । “पहिलो कार्यक्रमको उपस्थितिले हामी अत्यन्त उत्साहित भएका छौं,” उनले भने । मिश्रका अनुसार हरेक महिना नयाँ-नयाँ कथाकारलाई मञ्चमा उभ्याइनेछ ।
नाटकमा गरिने संगीतजस्तै कथावाचनमा पनि परिवेशअनुसार संगीत बजाउँदा नौलो अनुभव भएको इभेन्ट म्यानेजर स्वस्तिक पाण्डेले बताए । बुक लभर्सका अध्यक्ष सन्तोष बस्यालले कथामा नौलो प्रयोग गर्दा उत्साहजनक प्रतिक्रिया पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रमलाई फिनिक्स बुक्सले प्रायोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment