Comments Add Comment

असोज ३ः तपाईंको उत्सव, हाम्रो कालो दिन

दिपावली मनाउने घोषणा मधेसको घाउमा नुन छर्केसरह

दोस्रो संविधानसभा चुनावको लागी प्रधानन्यायशीधको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद्को गठन गरिएपछि विश्लेषक सिके लालले ‘देश प्रतिगमनमा गयो’ भनि टिप्पणी गर्नुभयो ।

Manoj saha
मनोज साह

त्यसबेलासम्म प्रचण्डको अन्धभक्त यो पंक्तिकारलाई लागेको थियो, लाल सर पनि बोल्दाबोल्दै अति नै बोल्नु हुन्छ ।

चुनावको नतिजा र तत्पश्चातको घटनाक्रमले उहाँको टिप्पणीको निहितार्थ बुझ्न धेरै समय लागेन ।

यसकै कडीमा जोडिएर आएको १६ बुँदे सम्झौता, मधेस आन्दोलन, संविधान घोषणादेखि ओली प्रवृत्तिको बादलले नेपाली राजनीतिको आकाशलाई धमिल्याउँदै गएपछि मेरो मानसपटलमा लाललाई गलत बुझेको दोषले सताइरहेको छ ।

महाभूकम्पपछिको संविधान निर्माणको मार्गचित्र

राजनीतिक दलहरु र खासमा भन्नुपर्दा यिनका त्रिदेवलाई भूकम्परुपी इश्वरीय कारवाहीले एक ठाउँमा ल्याइदियो । एकलाई सर्वोच्च पदमा पुग्ने, दोस्रोलाई कीर्तिमान खडा गर्ने र तेस्रोलाई जीवनभर आफुले हिडेको बाटोलाई सही ठहर्‍याउने अवसर जुट्यो । संविधान केका र कसको लागि भन्दा पनि एक थान संविधान मात्र चाहिने उद्देश्यले म्याराथन दौडालाई सय मिटरको दौडमा परिणत गरियो ।

खुल्लमखुल्ला ओलीसँग प्रधानमन्त्री बन्ने सम्झौता नगरेको भए संविधान घोषणा हुने थिएन भनी प्रचण्डले स्वीकारिसकेको अवस्थामा संविधान निर्माणका लागि प्रम बनाइए कि प्रम बनाउनलाई संविधान निर्माण गरियो भन्ने प्रश्न उठ्छ ।

संविधानका डिजाइनरहरुले विश्वको उत्कृष्ट संविधान भएको दावा गरेको भोलिपल्ट नै संशोधन दर्ता गर्नुपर्‍यो । टेस्ट ड्राइभ हुनुभन्दा अगावै खराबी देखिनुमा महान राष्ट्रवादी डिजाइनरहरु आफूलाई कत्तिको जिम्मेवार ठान्छन् ?

राजतन्त्र फालेको ६२/६३ को जनआन्दोलन, गणतन्त्र स्थापित गरेको माओवादी जनयुद्ध र संघीयता सुनिश्चित गरेको मधेसआन्दोलन मध्ये संविधानको प्रस्तावनामा मधेस आन्दोलन मात्र कसरी र किन अटाएन ? अन्तरिम संविधान भन्दा पनि पछाडि फर्किनुपर्ने के कारण थियो ? लोकतन्त्रको मूल मानिने समावेशिताको सिद्धान्तमा कसरी चुक भयो ? विगतका सहमति-सम्झौताहरु एवम् जनादेशद्वारा निर्देशित मुद्दाहरुबाट पछाडि हट्नुपर्ने के कारण थियो ? यी र यावत् प्रश्नहरु अहिले पनि अनुत्तरित नै छन् ।

कुनै पनि आन्दोलनमा काठमाडौंलाई प्रत्यक्ष प्रभाव नपरे वा काठमाडौंले आफै स्वामित्व नलिएसम्म त्यो आन्दोलनले राष्ट्रिय राजनीतिमा खासै असर पर्दैन

तेस्रो मधेस आन्दोलनको शुरुवात

एक युगमा एक चोटी लेखिने संविधानमा आफ्नो हक र अधिकार सुनिश्चित हुने अवस्था नदेखे पछि मधेशका जनता आदोलनमा होमिए । खासगरी राजनैतिक रुपमा सचेत मधेसी युवाहरू ‘अभी नही तो कभी नही’ भन्दै लामै संघर्ष गर्ने आँटसहित आंदोलनको मैदानमा खडा भए । मधेशवादी दलहरुले ‘आर वा पार’ को नारा दिँदै गर्दा आन्दोलनले आफ्नो आधार खडा गरिसकेको थियो ।

सप्तरीको भारदहबाट हताहतको श्रृंखला सुरुवात भयो । टिकापुरको घटनाले पहिलेदेखि नै शोकमा डुबेको मधेससहित प्रथम पटक काठमाडौंलाई घच्घच्यायो । निश्चय पनि कैलालीको घटना होस या महोत्तरीको, यसले आन्दोलनलाई कमजोर र बदनाम गराउने बाहेक केही गरेन ।

जवाफमा प्रहरी प्रशासनले भटाभट ‘हवाई फायर’ गर्न थाले । वीरगञ्ज, जनकपुर, जलेश्वरमा एकमुष्ट मान्छेहरु जमिनमा ढले । आफ्नै घरको मानवअधिकार आयोग लगायत अन्तर्राष्ट्रिय मानवअधिकार संघ-संस्थाहरुको रिपोर्ट पढे मात्र आन्दोलनमा भएको ज्यादति बुझ्न काफी छ ।

लोकतन्त्रको ओडारमा ओलितन्त्रको उदयले समाजलाई ध्रवीकरणको जुन खाडलमा धकेलिदियो, त्यो कहिलेसम्म पुरिने हो ? एउटा संवेदनशील समाजको लागि चिन्ताको विषय बनेको छ ।

कुनै पनि आन्दोलनमा काठमाडौंलाई प्रत्यक्ष प्रभाव नपरे वा काठमाडौंले आफै स्वामित्व नलिएसम्म त्यो आन्दोलनले राष्ट्रिय राजनीतिमा खासै असर पर्दैन । यसले के प्रमाणित हुन्छ भने नेपाल भनेको अहिले पनि मूलतः काठमाडौँ मात्र हो र नेपाली राजनीतिमा यहाँको जनताको ‘औसत भार’ अन्य भागको जनता भन्दा बढी छ ।

मधेसमा त्यत्रो आन्दोलन हुँदा कानमा तेल हालेर सुतेको काठमाडौं नाकावन्दी हुनासाथ अचानक ब्यूँझियो

मधेसप्रति उदासिन काठमाडौं

काठमाडौंलाई आफ्नो जनजीवन प्रत्यक्षरुपमा प्रभावित नभएसम्म अन्य ठाउँको घटनाले नछुने रहेछ भन्ने प्रशस्त दृष्टान्त भेटिन्छ ।

एउटा निश्चित सफ्टवेयरमा चल्ने काठमाडौंको स्वचालित जिन्दगी चलिरहेकै थियो । टेम्पु, माइक्रोबस गुडेकै थियो । पेट्रोलको नल बन्द भएको थिएन । मधेसमा त्यत्रो आन्दोलन हुँदा कानमा तेल हालेर सुतेको काठमाडौं नाकावन्दी हुनासाथ अचानक ब्यूँझियो ।

पेट्रोल सकिएपछि मात्र यिनको राष्ट्रवादी भुत जागेको थियो । काठमाडौंको एसीवाला कोठामा बसेर केहि पत्रकारहरुले ओप-एड लेखिरहे, देश र आमजनता लाई दिग्भ्रमित गरिरहे । आˆनै देशवासीप्रतिको काठमाडौँको यो उदासिनता चिन्ताजनक छ ।

एकवर्ष पश्चात मोर्चालाई दशगजाबाट काठमाडौंको टेन्टमा घोक्राएर ल्याउनुलाई आˆनो सफलता ठान्ने देशको भूतपूर्व प्रधानमन्त्रीलाई काठमाडौंले पाठ सिकाउन सकेन । मधेश आन्दोलन यो मानेमा पनि महत्वपूर्ण र प्रगतिशील छ,यसले देशको सम्पूर्ण जनताको ‘समान भार’ सुनिश्चित गर्नको लागि महत्वपूर्ण योगदान दिएको छ ।

सरकार परिवर्तन र मोर्चाको समर्पण

ओलीबाट आजित भइसकेका मधेसी जनताको लागि उनको बहिर्गमन मात्र पनि सुखद संयोग हो । नयाँ सरकारले चिरा फाट्दै गएको समाजलाई थप क्षति हुनबाट रोक्न सक्ने लक्षण देखाउनु पनि सकारात्मक कदम हो ।

टुडिखेलबाट साइकल चढ्ने उर्दी जाहेर गर्ने र एउटा रौ बराबरको भूमि पनि नदिने भनी आधिपत्य देखाउने हालको सरकारका हर्ताकर्ताहरु एक वर्ष पहिला एउटै जहाजमा सवार थिए ।

प्रचण्डले आफ्नो बाटो बदलिसकेको र देउवा देशको सबभन्दा ठुलो पार्टीको कमाण्डर भइसकेको अवस्थामा पुरानो पोजिसनमा केहि परिवर्तन आउन सक्ने सम्भावना छ । तर, हिजो संविधान घोषणापुर्व जस्तै गरि भोलि फेरि यिनीहरु पुरानै जहाजमा फर्किने छैनन् भनी विश्वास गर्ने कुनै ठोस आधार छैन ।

मधेस मुद्दाको नेतृत्वमा मोर्चाको उत्पति प्राकृतिक संयोग मात्र हो । मोर्चाले मधेशको मुद्दा निर्माण गरेको हैन् । २२ बुँदे, ८ बुँदे वा हालको ३ बुँदेका लागि मधेसी जनताले रगत बगाएका हैनन् । ती सबै बुँदागत सम्झौता गर्नु र सरकारमा जाने बेला पर्खेर बस्नुको आफ्नो व्यावहारिक कारण होलान र छ पनि ।

जिल्लामा प्रत्यक्षरुपमा मधेस आन्दोलनमा सहभागी दाजुभाइहरु आज निधिजीको गुणगानमा कुनै कसर नछोड्नुको पछाडि पनि आफ्नो व्यावहारिक मजबुरी होला । तर, निधिजीसँग धेरै आश पनि नगर्नु र शिकायत पनि नगर्नु उचित हुन्छ । उहाँको सबै क्षमता देउवाजीको पोल्टामा गएर सकिने न हो ।

पश्चिममा देउवा र पुर्वमा सिटौलाले आफ्नो पोजिसन स्पष्ट नपारेसम्म निधिजीको मजबुरी उनले संविधानमा हस्ताक्षर गर्दा जसरी हामीले बुझेका थियौं एकचोटी फेरि बुझ्नु पर्ने हुन्छ ।

निधिजीले कांग्रेसलाई धेरै ठुलो गुण लगाउँदै छन् । आन्दोलनपश्चात मधेसमा कांग्रेसको भोट बैंकमा प्वाल पर्नै लागेको बेला कांग्रेसलाई उनले त्यो प्वाल पुर्नमा भरपुर सहयोग गरिरहेका छन् ।

पहिले माछा खाने कि दुध पिउने निर्णय गर्न नसक्ने मोर्चाले मधेस आन्दोलनलाई कसरी पार लगाउन सक्छ त्यो चाहि एउटा प्रश्न हुन सक्छ

मोर्चा आलोचनारहित चाहि पक्कै छैन् । नेतृत्व गर्न जानेको भए, एक दशकमै तीन-तीन वटा आन्दोलनले सुसज्जित मोर्चालाई आफ्नो ठाउँ खोज्न भौतारिनु पर्दैनथ्यो होला ।

पहिले माछा खाने कि दुध पिउने निर्णय गर्न नसक्ने मोर्चाले मधेस आन्दोलनलाई कसरी पार लगाउन सक्छ त्यो चाहि एउटा प्रश्न हुन सक्छ । तर, नेतृत्वको विकल्प तयार नभइसकेको अवस्थामा मोर्चालाई सावधान गर्दै आगाडी बढ्नलाई प्रेरित गरिरहनु अहिलेको आवश्यकता हो ।

‘अभी नहीँ तो कभी नहीँ’ भन्ने नाराले आफ्नो अधिकार र कर्तव्यवोध भएकाहरुको लागि आन्दोलनमा उत्प्रेरकको काम त गर्‍यो तर, यो नारा केवल नारा मात्र थियो भने प्रमाणित भएको छ । आन्दोलनको अनेपेक्षित बैठान पछि हताश भएका जनता फेरि जुन रुपमा शक्ति संचय गरेर आत्मविश्वास देखाइरहेका छन्, त्यसले के प्रष्ट हुन्छ भने आन्दोलन सकिएको छैन ।

सम्पूर्ण रुपमा समाज विभेदमुक्त भएर एकरुपतामा नआउन्जेल कुनै न कुनै रुपमा आन्दोलनले आफूलाई अस्तित्वमा राखी रहन्छ ।

आन्दोलनको मुद्दा थाती नै रहेको र मोर्चाले सरकारलाई समर्थन गरिरहेको अवस्थामा उसैलाई अप्ठयारोमा पार्ने गरि दिपावली मनाउने घोषणा घाउमा नुन छर्के सरह हो

दिपावली किन ?

सरकारले असोज ३ मा फेरि पनि दिपावली मनाउने घोषणा गरेको छ । एक वर्ष पहिला यसरी नै धूमधामले दीपावली मनाउने उर्दी जारी गरिएको थियो । संविधान दिवस मनाउनु पर्ने सरकारको आफ्नै मजबुरी होला र छ । उत्सव जस्तो नगरेर सामान्य कार्यक्रम गरि पनि मनाउन पनि सकिन्छ होला ।

तर, असंवेदनशीलाताको चरम अवस्था नै भन्नुपर्छ कि संविधानले देशव्यापी स्वीकार्यता पाइनसकेको, आन्दोलनको मुद्दा थाती नै रहेको र मोर्चाले सरकारलाई समर्थन गरिरहेको अवस्थामा उसैलाई अप्ठयारोमा पार्ने गरि दिपावली मनाउने घोषणा घाउमा नुन छर्के सरह हो ।

एकछिन कल्पना गर्नुहोस, विमानबाट त्यों सन्ध्या अवलोकन गर्दा कस्तो दृश्य देखिन्छ होला Û एउटै देश आधा झम्मक उज्यालोले सजेको छ, अनि आधा देश अन्धकारमय छ Û संयोग भनौ वा बिडम्वना तत्कालिन राष्ट्रपतिले संविधान ढोग्दै गर्दा उहाँको घरमा एउटा मैन बत्ति पनि बालिएको थिएन । एक वर्षमा त रामवरण पनि सामान्य नागरिक भइसके तर, आधा देश उज्जयालोमा रमाउने र आधा अँध्यारोमा शोकमा रुने परिस्थति बदलिएन । यो बेलामा दिपावली मनाउनु भनेको गत वर्ष झैँ आधा देशलाई ब्लैक आउट गर्न उत्प्रेरित गर्नु हो ।

कुनै चाडपर्वको दिन यदि घर-परिवारको कोही बितेको खण्डमा पुस्तौंसम्म त्यो दिन पूजा नगर्ने हाम्रो संस्कृति छ । कम से कम मृत्युको एकवर्ष पश्चात मनाइने वर्खीसम्म त कुनै उत्सव सोच्न सकिँदैन । वर्खीमा शोक मनाइन्छ, दिपावली हैन ।

तपाईहरुले मनाउने उत्सव प्रति हाम्रो इष्र्या कदापि छैन । दुःख त कहाँ लाग्छ भने हामी पनि यसको हिस्सेदार हुनसक्थ्यौं । जानकारीको लागि हामी असोज ३ गते कालो दिवस मनाउदै ब्लैक आउट गर्छौं । बुरा मत मानना …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment