Comments Add Comment

सुदुरपश्चिमको मष्ठो पूजाबारे एक चर्चा

डोटी जिल्लाको भूमिराजमाडौं गाउँ विकास समितिको फलेडी, छत्रेश्वरमा अवस्थित श्रीमष्ठो देवताको मुख्य माणु (मन्दिर) कपल्लेकी केदारेश्वर, डोटीबाट पूर्व, चौरपाटी, अछामबाट पश्चिम, लाना केदारबाट उत्तर र भागेश्वर दिपायलबाट दक्षिण दिशाको केन्द्रबिन्दुमा रहेको छ ।

श्रीमष्ठो देवताको मन्दिर समुन्द्र सतहबाट करिव दुई हजार मिटर उचाईमा रहेको छ । श्रीमष्ठोको मुख्य मन्दिर रहेको छत्रेश्वर प्राकृतिक, भौगोलिक, ऐतिहासिक, धार्मिक र वातवरणीय रुपमा निकै सुन्दर छ ।

 रूद्रप्रसाद भट्ट
रूद्रप्रसाद भट्ट

उत्पत्तिः करिव ६०० बर्ष अघि भारतको कुमाउ गढवालबाट नेपाल आएका व्राम्हणले जुम्ला जिल्लाको सिंजा भन्ने स्थानमा श्रीमष्ठो देवताको स्थापना गरेको किमदन्ती छ । त्यसपछि सिंजाबाट श्रीमष्ठो देवतालाई अछाम जिल्लाको पाइल भन्ने स्थानमा ल्याई थुवा/चौरपाटी माणुको स्थापना गरी पूजापाठ सुरु गरिएको हो । श्रीमष्ठो देबताको पूजा गर्नको लागि डोटी जिल्ला भुमिराजमाडौं फलेडी निवासीव्यक्ति भाद्र अन्तरे चतुर्दशीका दिन अछामको थुवा मन्दिर जाने क्रममा डोटीको नारी दाङमा रहेको सेती गंगा (नदी) तर्दा झमेलो (नदी तर्न प्रयोग गरिने तुइन) भाचिन गई गंगामा खस्न पुगे ।

ती व्यक्ति नदीमा खस्ने वित्तिकै थुवा माणुमा रहेका श्रीमष्ठाको धामी काप्नु भएछ । धामी काप्दै गर्दा उहाँले लगाएको कपडाको बाहुलोमा पानी चुहिएपछि धामीले मरभर (देवताका मान्न त्यहा उपस्थित भक्तजन) लाई मेरो ताकलो -पूजाका लागि थुवा माणु आउने क्रममा नारी दाङ्ग नदीमा बगेको फलेडी निवासी व्यक्ति) लाई निरले बगायो भनेछन् । त्यो सुनेपछि मरभरले धामीलाई आदरपूर्वक भने, “हामीलाई के थाहा परमेश्वर, त्यसो भए बगेको ताकलोलाई नदिको तिर (किनारा) लगाइ बचाइ दे” ।

धामीको शक्तिले सेती नदीमा बग्न लागेको व्यक्तिलाई नदीको छालले दाङ क्षेत्रको किनारामा पुर्याएछ र उनी बाचेछन् । ती व्यक्ति नदीबाट बाची हिडदै अछामको थुवा माणु आई पुगेको देखेपछि धामीले “मेरो ताकलो आइपुग्यो” भनेछन् । त्यो सुनेपछि फलेडीबाट गएका व्यक्तिले “परमेश्वर मरिसकेको थिए, तेरो अपार शक्तिले म बचे र अव आइन्दा म पूजाका लागि यहाँ आउन सक्दैन भनी धामी समक्ष आफुले भोगेको दुःख सुनाए” ।

तीनको दुःख र श्रीमष्ठो प्रतिको सच्चा आस्थाबाट देवता प्रशन्न भएपछि धामीले एउटा शिला लगेर तेरो गाउँमा श्रीमष्ठो देवताको मन्दिर बनाई त्यही पुज्नु भनेपछि अछामको थुवा माणु भत्किन गई फलेडीको छत्रेश्वरमा श्रीमष्ठा देवताको माणु विधिवत रुपमा स्थापनासँगै यसको उत्पत्ति भएको विषय पाँच राठका बुढापाखा तथा जान्नेमान्यहरुबाट बुझिन आएको छ ।

पूजा साम्रगी: शुद्ध तुलको आलम, तामाको भोक्कर, चेटे दाइनु, भानु (सन् १७२३ मा कण्ठु भटृद्वारा चढाएको व्यहोरा लेखिएको), प्रत्येक घरवाट चढाएको पाँच मुठी पूज, जहु्ँ, तिल, सिन्दुर, गाईको घ्यू, दुध, दही, कुश, चमर, गाजे लौरो आदि पूजाका लागि अति आवश्यक साम्रगी मानिन्छन् । यी सामग्रीहरु भक्तजनहरुले चढाउने गर्दछन् ।

पूजा विधि: श्रीपञ्चमी, वैशाख शुक्ल एकादशी, भाद्र अन्तरे चर्तुदशी र कार्तिक शुक्ल नवमी, दशमी र एकादशी (जात बनाउने विशेष पर्व)का दिन जोशी थरीका पुजारीद्वारा श्रीमष्ठाको देवताको मुख्य मन्दिर रहेको छत्रेश्वर लगायत टापु, भराण र ओखलढुङ्गा मन्दिरमा रहेका शिव-गणेशका प्रतिमा तथा अभोलिङ्गको पूजा गरिन्छ । पूजाको सुरुगर्दा पुजारीले “गणनान्त्वा गणपति गुन्हबामय..” भन्ने बेद मन्त्रको उच्चारणबाट सुरु गरिन्छ । पुजा गर्ने समयमा पुजारी, धामी र भक्तजनहरुले शुद्ध साकाहारी खानपीन गरी पूजाआजा गरिन्छ । पूजा गर्दा धामीहरु देवता काप्ने, दमाई तथा ढोली थरका व्यक्तिहरुले चेटो दाइनो, दमाहा, भानु र नरसिंहा आदि बजाउँदछन् ।

चेटो दाइनु बजेको सुनेपछि श्रीमष्ठोका सवै भक्तजनहरुलाई पूजाली सुरु भएको संकेत हुन्छ । यसैगरी श्रीमष्ठाको भराण र मन्दिरहरुमा रहेका शिवजी, गणेशजीका मुर्तिहरुको नियमित पुजापाठ, धुपबत्ती भने श्रीमष्ठो देवताको भराणी/धामीले नियमित रुपमा साझ विहान गर्ने चलन छ । विशेषत कार्तिक शुक्ल एकादशीका दिन वनाइने जातको अवसरमा भराणी/धामी देबता काप्दै भक्तजनको माग सम्बोधन गर्ने, आप्नो क्षेत्रमा सुख, शान्तिको लागि भविष्यबाणि गर्ने गर्दछन् भने युबायुबतीहरुले देउडा खेलेर मनोरञ्जन गर्ने चलन पनि निकै रोचक छ ।
पूजारी चयन: फलेडी निवासी पुजारी हुनयोग्य जोशी परिवारको जेठो सन्तानले पुजारीको जिम्मेवारी पाउने परम्परा छ । पाँच राठका

प्रतिनिधिहरुको सहमतिमा पुजारी छनौट गर्ने प्रचलन रहेको छ ।

भराणी तथा धामी चयन: पाँच राठमध्ये जेठो परिवारको सन्तानका रुपमा रहेको जोशी परिवार मध्येबाट जसलाई देवता आउछ र धामी हुन योग्य छ भनि पाँच राठले स्वीकार गर्दछन त्यस व्यक्तिलाई भराणीको बालो पगरी पहिराई विधिवत रुपमा भराणी चयन गरिन्छ । अन्य धामीहरुको हकमा सम्बन्धित राठ/परिवारको योग्य देवता आएको व्यक्तिलाई पाँच राठकै सहमतिमा चयन गरिन्छ ।

निर्णय प्रकृया: श्रीमष्ठो देवतालाई अछामको थुवाबाट डोटीको छत्रेश्वरमा ल्याउने क्रममा बाटोमा सहयोग गर्ने समूदायको योगदानको मुल्यांकन गर्दै सुरुका चार दशकसम्म श्रीमष्ठो देवता सम्बन्धी निर्णय पाँचपालीबाट गरिने जनश्रुति रहेको छ । पाँचपाली अन्तर्गत अछाम सोकटको-साउन, डोटीे मौराको-जेठारो, भिक्याल-थापा, वायलको-बोगटी, रानागाई-राना, ब्वारको-रावल र फलेडीवासी पर्दछन् । त्यसपछि अन्य जिल्ला तथा टाढाका गाविसहरुवाट पाँचपालीका मरभरलाई फलेडी आई देवता सम्बन्धी निर्णय गर्न निकै कठिन परेको यर्थाथलाई पाँचपाली र देवताका धामीले बुझी भूमिराजमाडौमा बस्ने पाँचपाली मध्येका एक समुदाय फलेडी निवासी व्राम्हण (पाँच राठ)लाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान गरियो । श्रीमष्ठो देवता सम्बन्धी सवै कार्य हाल पाँच राठको सहमतिबाट गरिन्छ । पाँचपाली मध्येका अन्य जिल्ला तथा गाविसवाट आउने सरोकारवालालाई श्रीमष्ठाको पर्वमा फलेडीबासीले सत्कार र धामीहरुले आर्शीवाद दिने प्रचलन भने यथावत रहेको छ ।

श्रीमष्ठो देवताको महत्व र शक्तिः श्रीमष्ठो देवताको क्षेत्र, त्यहाँका नागरिक तथा देवताप्रति विश्वास गर्ने सवै भक्तजनहरुलाई श्रीमष्ठो देवताले संरक्षण गर्छ भन्ने पूर्ण विश्वास छ । श्रीमष्ठो देवताप्रति सच्चा आस्था राख्ने व्यक्तिलाई रोगव्याधी नलाग्ने, उनीहरुको दुःख दरिद्र नास हुने, पुत्र/पुत्रीलाभ हुने, आनामाना (रोजगारी) प्राप्ति हुने, सुख-शान्ति र न्याय मिल्ने मात्र नभई सच्चा मनले सोचेको सवै प्रकारका इच्छा पूरा हुन्छ (बर पाईन्छ) भन्ने आम विश्वास रहेको छ ।

माथि श्रीमष्ठाको उत्पत्तिमा उल्लेख भए बमोजिम सच्चा आस्था र मनले अछामको थुवा मन्दिरमा श्रीमष्ठो देवताको पूजा गर्न जाने क्रममा फलेडीबासी नारीदाङमा झमेलो भाचिन गई सेती नदीमा बगेर मर्न लागेको अवस्था वारे टाढाबाटै धामी कापेर थाहाँ पाई मरभरलाई भन्नु र दैविक शक्तिले नदीबाट सकुशल बचाएको एउटा ऐतिहासिक र प्रतिनिधिमूलक उद्दाहरण/भनाईले श्रीमष्ठो देवताको शक्ति र दुरदृष्टि वारे सहज अनुमान गर्न सकिन्छ ।

श्रीमष्ठो देवताको भराणमा रहने मुख्य साम्रगीहरु: डोटी जिल्लाको भूमिराजमाडौं-९ स्थित श्रीमष्ठो देवताको भराणभित्र सुन, चांदी, तामाका प्रतिमा, जोवर, कलश, रुपाज्वाला, रुपाछरी, गाजको पतिउ, छत्र, गाजेलौरो, गजुर, करुवा, शिवलिङ्ग, शालिकराम, संकघण्ट, रुद्राक्षको माला, भोक्कर, ठूलो घाट, लुवालठ्ठी, चमर, आशागुर्जा, शिव र गणेशका मूर्ति, चेटो दाइनो, दमाहा, भानु र नरसिंहा जस्ता साम्रगी छन् । यसका साथै भक्तजनहरुले पर्व विशेषमा खुशीले चढाएका विविध साम्रगीहरु पनि यस भराणमा राखिन्छन् ।

श्रीमष्ठो देवताका विशेष पर्वहरु: बैशाख शुक्ल एकादशी, भाद्र अनन्त चर्तुदशी, कार्तिक शुक्ल पक्ष (नवमी-दशमी-एकादशी) र माघको श्रीपञ्चमी मुख्य पर्व हुन । यस मध्ये कार्तिक शुक्ल एकादशीका दिन श्रीमष्ठो देवताको भव्य रुपमा जात मनाईन्छ । यस दिन छिमेकी जिल्ला तथा गाउँ विकास समितिहरुबाट ठूलो संख्यामा भक्तजनहरु आई श्रीमष्ठो देवताको दर्शन तथा पूजाआजा गर्दछन ।

श्रीमष्ठो देवताकाका मुख्य धामीहरुको जिम्मेवारीः यसका मुख्य धामी तथा तीनको जिम्मेवारी यस प्रकार रहेको छ । श्रीमष्ठोको धामीले मष्टाको मन्दिर दैनिक पूजापाठ गर्नु र भराणको संरक्षण गर्नु हो । मटृेको धामी आफ्नो क्षेत्रभित्रको माटोको रेखदेख गर्ने, आफ्नो क्षेत्रमा रितिथीति कायम गराई सुख शान्ति कायम गराउने हो । साथै बेरसिमे, गोदारी, लाटो, गङरी र खडायतको धामीहरु श्रीमष्ठो देवताका संरक्षकको रुपमा कार्य गर्दछन् ।

अन्तमा, श्रीमष्ठो देवतासँग अपार शक्ति र जन आस्था छ । उक्त आस्था र शक्तिलाई दिगो बनाई राख्न यसका पूजारी, धामी एवं भक्तजनहरु पूर्ण निष्ठावान, आचरणयुक्त र नियमित बन्नुपर्छ । जीवन निर्वाहको समस्यामा रहेका पुजारी तथा धामी श्रीमष्ठो देवताको शक्ति र जनआस्था कायमका लागि स्व-उत्प्रेरित भएर जिम्मेवारी पूरा गर्नु कठिन छ । विधिवत रुपमा पूजा गर्ने पुजारी र व्यक्तिगत जीवनलाई सधैव सार्वजनिक जीवनमा समर्पण गर्ने यसका पुजारी, भराणी र मुख्य धामीहरुलाई जीवन निर्वाह गर्न सक्ने अवसर सिर्जना गर्नु अपरिहार्य छ । पुजारी, भराणी र मुख्य धामीको जीवन निर्वाह गराई देवताको शक्तिलाई दिगो बनाउन श्रीमष्ठो देवताको आफ्नो आन्तरिक आय (गुठी) बलियो हुनु पर्छ ।

आन्तरिक गुठी मजबुद बनाउन देवताको शक्ति, यस क्षेत्रको स्वच्छ वातावरण र यसको ऐतिहासिक पृष्ठभूमिवारे भक्तजन एवं धार्मिक पर्यटकहरुलाई उपयुक्त माध्यमद्वारा जानकारी गराई पूजा तथा पर्व विशेषमा आकर्षक गर्ने रणनीति लागु गरिनुपर्छ । निश्चित रकमभन्दा बढी सुनचादी, नगद, जग्गा र आनामान प्रदान गर्ने व्यक्तिको नाम शिलालेखमा उल्लेख गरी प्रसंशापत्र प्रदान गर्ने असल परम्पराको सुरुवात गर्नु जरुरी छ ।

प्राप्त श्रोतबाट पारदर्शी तवरले भराणी तथा तोकिएका धामीलाई जीवन निर्वाहको अवसर प्रदान गर्नु उपयुक्त हुन्छ । आन्तरिक श्रोतको उत्पादनशिल क्षेत्रमा लगानी गरिनु पर्छ । साथै मुख्य मन्दिर क्षेत्र नजिक रहेको छत्रेश्वर परिसरदेखि बगरसम्मको क्षेत्र विकास गर्न
श्रीमष्ठो परिसरको गुरु योजना तयार गरी सार्वजनिक निजी साझेदारीमा सो क्षेत्रमा भक्तजनको लागि बसोवास गर्ने व्यवस्था, भीउ टावर, सडक, खानेपानी, विजुली र मनोरञ्जन र वनभोजनका लागि पार्क जस्ता आन्तरिक वित्तीय श्रोत परिचालन गर्ने पूर्वाधारहरुको विकास गरिनु पर्छ । यसका लागि सक्षम र इमान्दार स्थानीय समुदाय, सशक्त स्थानीय सरकार तथा सहयोगी केन्द्रीय निकाय र उद्यमशील गैरसकारी क्षेत्र वीच उचित तालमेल हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment