Comments Add Comment

इलामका पर्यटकीयस्थलमा पर्यटक खचाखच

ilam tea baga
७ कात्तिक, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् ।

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक छन् ।

सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडामा पनि पर्यटकको बाक्लै उपस्थिति छ । हेटौँडाबाट आउनुभएकी अस्मिता खड्काले अन्तुडाडाँबाट सूर्योदयको दृश्यावलोकन राम्रो भएको बताए ।

तराई र पश्चिमी जिल्लाका साथै विदेशी पर्यटक यतिबेला कन्यामसँगै माईपोखरी, टोड्के झर्ना हुँदै छिन्टापु, सन्दकपुरसम्म जाने पर्यटक धेरै भएको पर्यटन व्यवसायीसमेत रहनुभएका पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताए।

गत वर्षमा विदेशी पर्यटकको आवागमन पनि कम रहेको इलाममा यो वर्ष भने निक्कै बाक्लो उपस्थिति देख्दा पर्यटन व्यवसायी हर्षित छन् ।

“यहाँ दैनिक चार÷पाँच सयको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन्”, कन्याम इनका होटल सञ्चालक टीका ओडारी भन्छन्, “कहिलेकाहिँ त पर्यटकका सवारीसाधनले मेची राजमार्ग नै अवरूद्ध हुने गरेको छ ।” कन्याम आउने पर्यटकले हरियाली कन्याम, कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्ने गरेका छन् भने घोडामा चढेर हरियाली क्षेत्रको अवलोकन गर्ने गरेका छन् ।

कन्याम आइपुगेका पर्यटक फिक्कल हुँदै पशुपतिनगरबाट भारततर्फ जाने भएकाले धेरै पर्यटक सदरमुकामतिर भने आउँदैनन् ।

पर्यटकीयस्थल सन्दकपुरमा पनि दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । यहाँबाट सूर्याेदय, सूर्यास्त, कञ्चनजङ्घा हिमाल, पाँचथर, ताप्लेजुङ तथा भारतको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment