Comments Add Comment

हेटौंडा कपडा उद्योगमा सरकार र सुरक्षा निकायको समान लगानी

बुटवल धागो र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई दिने तयारी

११ कात्तिक, काठमाडौं । सरकार र तीन सुरक्षा निकायको समान लगानीमा हेटौंडा कपडा उद्योग पुनः सञ्चालमा आउने भएको छ । यसअघि सरकारले १६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Hetauda-Kapada-Udhyog
हेटौंडा कपडा उद्योगको एक भवन

नेपाल सरकार, नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समान २५/२५ प्रतिशत शेयर लगानी गरेर हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

‘उद्योग सञ्चालनको लागि सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले पनि सहमति जनाइसकेका छन्’ मन्त्री जोशीले भने, ‘आर्थिक स्रोतको व्यवस्थापन भने कल्याणकारी कोषबाट गर्ने तयारी भएको छ ।’

निजीलाई पनि शेयर

उद्योग राजनैतिक हस्तक्षेप र घाटामा सञ्चालन भएको भन्दै २०५७ सालदेखि पूर्णरुपमा बन्द छ । उद्योग नै देश विकासको पहिलो आधार रहेको भन्दै सरकारले बन्द रहेको उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

पहिलो चरणमा करिव १० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्ने र त्यसपछि निजी क्षेत्रलाई समेत प्रस्ताव गरेर उद्योग सञ्चालनमा शेयर दिने तयारी भएको मन्त्री जोशीले बताए । तर, मन्त्रालयले उद्योग सञ्चालनको कार्ययोजना भने १५ दिनपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ । उद्योग सञ्चालन गर्दै जाँदा उद्योगको कोषमा भने २५ करोड रुपैयाँसम्म बनाउने मन्त्री जोशीले जानकारी दिए ।

सबै क्षेत्रले कल्याणकारी कोषबाट रकम व्यवस्थापन गर्न सहज रहेपनि सेनाको विषयमा केही असहज परिस्थति रहेकाले यस विषयमा पुनः सेनासँग छलफल गरिने मन्त्री जोशीले बताए ।

पहिलो चरणमा विद्यालय र फौजी पोशाक उत्पादन

उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने तयारी भएको छ ।

साथै मन्त्रालयले अहिले बजारमा उपलब्ध हुने मूल्यभन्दा केही महंगो पर्न गएपनि गुणस्तरीय उत्पादन हुने जनाएको छ ।

सरकारी तथा फौजीको पोशाक उत्पादनपछि मात्रै अन्य कपडा उत्पादन गरिने भएको छ ।

कपडा उत्पादनकालागि सेना तथा अरु निकायसँग रहेका अनुभव तथा विज्ञको परिचालन गर्दै आवश्यकताअनुसार अन्य विज्ञ पनि नियुक्ति गरिने मन्त्रालयले जनाएको छ ।

उद्योग सञ्चालन भएपछि लगानी गर्न चाहने निजी क्षेत्रलाई समेत बराबरी हुने गरी शेयर बिक्री गरिने मन्त्रालयले जनाएको छ ।

कपडा उद्योगमा रहेको औजार तथा उपकरणमध्ये ४० प्रतिशत अहिले नै प्रयोग गर्न सकिने अवस्थामा छन् । तर, ३० प्रतिशत औजार तथा उपकरणको मर्मत र ३० प्रतिशत काम नलाग्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

बुटवल धागो र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई

यसैगरी सरकारले २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना खुल्ला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ ।

त्यस्तै २०६१ सालदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पनि खुल्ला प्रतिस्पर्धाकै माध्यमबाट भाडामा सञ्चालन हुने गरी निजी क्षेत्रलाई नै दिने सरकारको तयारी छ ।

गोरखकाली टायर उद्योग, नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग पनि पीपीपी मोडलमा सञ्चालन गर्न प्रक्रियासमेत थाल्ने सरकारले जनाएको छ ।

उदयपुर र हेटौंडा सिमेन्ट उद्योगबारे कार्यदल गठन

यस्तै सरकारले बन्द रहेको उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन सकिन्छ कि सकिँदैन भने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

उदयपुर सिमेन्टको विषयमा अध्ययन गर्न विजय घिमिरेको नेतृत्वमा र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनको विस्तृत अध्ययन गर्न डाक्टर पुष्कर बज्राचार्यको नेतृत्वमा कार्यदल गठन भएको उद्योग मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment