हाम्रा क्षणिक दृष्टिका क्षेत्रहरुमा उसको आत्मा व्यापक परिवेशबाट ओर्लेर आएको छ ।
ऊ अमर प्रदेशको एउटा व्यक्ति !
(महायोगी अरविन्द: ‘सावित्री’ कविताबाट)
– ए, थाहा पाइस् ?
– के हँ ?
– शंकर लामिछाने खत्तम !
– खत्तम ? के खत्तम ??
– ‘डेथ’ भएछ ।
साथी सुनाउँछ । म सुन्छु । मलाई यस्तो लाग्छ: यो झुट हो । अरु जे भए पनि शंकर दाइको मर्ने उमेर भएकै छैन ।
रत्नपार्कको बस स्टपमा उभिएर बस कुर्छु, एउटा केटो कराउँदै आउँछ- ‘आजको गोरखापत्र ! आजको … …’
एक जना यात्री गोरखापत्र किन्छन्, उनी पहिलो पाना हेर्न थाल्छन् । अनायास पछिल्लो पातामा मेरा आँखा पुग्छन् । ‘डबल हेडलाइन’मा पहिलो पृष्ठको बाँकी समाचार दिइएको छ- ‘शंकर लामिछानेको देहावसान ।’
एकैछिन, लाग्छ, दुनियाँ टक्क अडियो । तर, दुनियाँ अडिँदैन; शंकर लामिछाने मर्यो त मर्यो- दुनियाँले आफ्नो गति अवरोध किन गरोस् ? दिमागमा ‘गोधूलि संसार’ रङमिङन्छ । शंकर दाइ रङमङिन्छ । अन्तर्वार्ता रङमङिन्छ । यस्तो लाग्छ- शंकर दाइ मरेको छैन, मरेको होइन, केही दिनपछि उसको एउटा लेख निक्लनेछ गोरखापत्र वा रुप-रेखाको पृष्ठमा, ‘मृत्युसँग एकैछिन… …’
शंकर दाइ ! आफूभन्दा २३ वर्ष जेठो त्यस मानिससँग कहिल्यै ‘खुल्न’ सकिएन । उसको प्रौढ विचार चिन्तनले गर्दा व्यक्तिगत रुपमा सधैं आदरको रेखा बीचमा रह्यो । उसका रचनाहरुसँग, तर जुन आत्मीयता स्थापित भयो, त्यो संभवत: विवरणमा पर्न सक्दैन ।
‘त्यहाँ शंकर दाइ हुनुहुन्छ ?’
‘यहाँ को ?’
‘… … हलो !’
‘नमस्कार शंकर दाइ, एक पटक भेट्नु थियो ।’
‘आउनुहोस् न !’
‘कहिले ? भोलि बिहान फुर्सद … ?’
‘हुन्छ, म पर्खन्छु है त !’
– एउटा लेख चाहियो ।
– छैन, लैख्नै छोडिसकेँ ।
– नभई भएन शंकर दाइ ।
– लेख्न सकेँ भने ।
– कुमुदिनीको लेख पढ्नुभो ?
– हेरेँ ।
– कस्तो लाग्यो त ?
– नेपाली साहित्यमा पनि गम्भीर पाठक पाइन थाल्यो, खुसीको कुरा हो ।
– जीवन के हो शंकर दाइ ?
– दृष्टि, मात्र दृष्टि । तपाईं हेर्न के चाहनुहुन्छ ? दृष्टिको उपयोग तपाईं कसरी गर्न चाहनुहुन्छ ।
शंकर दाइले जे भन्यो, त्यही बाँच्यो । उसको जस्तो विविधतापूर्ण जीवन थोरै मात्र बाँच्न सक्छन् । उसको जस्तो क्रियाशील जीवन थोरै मात्र बाँच्न सक्छन् । शंकर दाइले नेपाली साहित्यको तीन दशकलाई ढाक्यो । यो तीन दशकमा नेपाली साहित्यले थोरैमा पनि तीन वटा मजबुत घर बनायो- शंकर दाइले लगाएर गएको त्यो ऋणबाट हामी कहिले मुक्त हुने ?
शंकर दाइ सामयिक विश्व दर्शनको प्रखर चिन्तक थियो- अत्यन्त चेतन र स्व-अस्तित्वकोफ ज्ञाता: संभवत: यसैले गर्दा उसलाई धेरैले गर्विलो मानिस देखे । तर, ऊ भित्र अर्को मानिस थियो- त्यो मान्छे जो सार्वकालिक सन्दर्भका वरिपरि फन्को लगाइरहन्छ ।
शंकर दाइ मर्यो !
समयभन्दा पनि बलवान् वस्तु ‘रोग’ हो । म स्वीकार गर्छु- मेनिनजाइटिसले शंकर दाइको मृत्युको समयलाई १५/२० वर्ष अघि ल्यायो । मृत्युको त्यो अप्रत्याशित आगमन… मृत्यु एक सय पाइला फड्केर आयो, मृत्युले थाहै नपाई फड्को मार्यो !
दुःख छ- शंकर दाइले मृत्यु देख्न पाएन । नत्र ऊ मृत्युलाई प्रयोगको कुन नयाँ शैलीमा ढाल्थ्यो होला !
स्मृति अशेष छन्; तर के मात्र सम्झनु ? शंकर दाइ कति सम्झनु ? ऊ, सायद, त्यो स्मृति हो- जसको कुनै शेष रहँदैन, अशेष, अशेष ।
सीमाहीन विचार– जहाँ सम्पूर्ण विश्व अट्छ
उत्कट शान्तिको मीठो र
प्रचण्ड मुटु
मानव धर्तीमा एउटा
स्वर्गीय बीज
(महायोगी अरविन्द: सावित्री कविताबाट)
(०३२ माघ २४ गते प्रकाशित गोरखापत्र शनिवासरीय परिशिष्टाङ्कबाट)