Comments Add Comment

अशेष स्मृति: शंकर दाइको मर्ने उमेर भएकै छैन !

पत्रकार किशोर नेपाल

हाम्रा क्षणिक दृष्टिका क्षेत्रहरुमा उसको आत्मा व्यापक परिवेशबाट ओर्लेर आएको छ ।

ऊ अमर प्रदेशको एउटा व्यक्ति ! 

(महायोगी अरविन्द: ‘सावित्री’ कविताबाट)

– ए, थाहा पाइस् ?

– के हँ ?

– शंकर लामिछाने खत्तम !

– खत्तम ? के खत्तम ??

– ‘डेथ’ भएछ ।

साथी सुनाउँछ । म सुन्छु । मलाई यस्तो लाग्छ: यो झुट हो । अरु जे भए पनि शंकर दाइको मर्ने उमेर भएकै छैन ।

रत्नपार्कको बस स्टपमा उभिएर बस कुर्छु, एउटा केटो कराउँदै आउँछ- ‘आजको गोरखापत्र ! आजको … …’

एक जना यात्री गोरखापत्र किन्छन्, उनी पहिलो पाना हेर्न थाल्छन् । अनायास पछिल्लो पातामा मेरा आँखा पुग्छन् । ‘डबल हेडलाइन’मा पहिलो पृष्ठको बाँकी समाचार दिइएको छ- ‘शंकर लामिछानेको देहावसान ।’

एकैछिन, लाग्छ, दुनियाँ टक्क अडियो । तर, दुनियाँ अडिँदैन; शंकर लामिछाने मर्‍यो त मर्‍यो- दुनियाँले आफ्नो गति अवरोध किन गरोस् ? दिमागमा ‘गोधूलि संसार’ रङमिङन्छ । शंकर दाइ रङमङिन्छ । अन्तर्वार्ता रङमङिन्छ । यस्तो लाग्छ- शंकर दाइ मरेको छैन, मरेको होइन, केही दिनपछि उसको एउटा लेख निक्लनेछ गोरखापत्र वा रुप-रेखाको पृष्ठमा, ‘मृत्युसँग एकैछिन… …’

शंकर दाइ ! आफूभन्दा २३ वर्ष जेठो त्यस मानिससँग कहिल्यै ‘खुल्न’ सकिएन । उसको प्रौढ विचार चिन्तनले गर्दा व्यक्तिगत रुपमा सधैं आदरको रेखा बीचमा रह्यो । उसका रचनाहरुसँग, तर जुन आत्मीयता स्थापित भयो, त्यो संभवत: विवरणमा पर्न सक्दैन ।

Shankar Lamichhane‘… … हलो !’

‘त्यहाँ शंकर दाइ हुनुहुन्छ ?’

‘यहाँ को ?’

‘… … हलो !’

‘नमस्कार शंकर दाइ, एक पटक भेट्नु थियो ।’

‘आउनुहोस् न !’

‘कहिले ? भोलि बिहान फुर्सद … ?’

‘हुन्छ, म पर्खन्छु है त !’

 

– एउटा लेख चाहियो ।

– छैन, लैख्नै छोडिसकेँ ।

– नभई भएन शंकर दाइ ।

– लेख्न सकेँ भने ।

– कुमुदिनीको लेख पढ्नुभो ?

– हेरेँ ।

– कस्तो लाग्यो त ?

– नेपाली साहित्यमा पनि गम्भीर पाठक पाइन थाल्यो, खुसीको कुरा हो ।

– जीवन के हो शंकर दाइ ?

– दृष्टि, मात्र दृष्टि । तपाईं हेर्न के चाहनुहुन्छ ? दृष्टिको उपयोग तपाईं कसरी गर्न चाहनुहुन्छ ।

शंकर दाइले जे भन्यो, त्यही बाँच्यो । उसको जस्तो विविधतापूर्ण जीवन थोरै मात्र बाँच्न सक्छन् । उसको जस्तो क्रियाशील जीवन थोरै मात्र बाँच्न सक्छन् । शंकर दाइले नेपाली साहित्यको तीन दशकलाई ढाक्यो । यो तीन दशकमा नेपाली साहित्यले थोरैमा पनि तीन वटा मजबुत घर बनायो- शंकर दाइले लगाएर गएको त्यो ऋणबाट हामी कहिले मुक्त हुने ?

शंकर दाइ सामयिक विश्व दर्शनको प्रखर चिन्तक थियो- अत्यन्त चेतन र स्व-अस्तित्वकोफ ज्ञाता: संभवत: यसैले गर्दा उसलाई धेरैले गर्विलो मानिस देखे । तर, ऊ भित्र अर्को मानिस थियो- त्यो मान्छे जो सार्वकालिक सन्दर्भका वरिपरि फन्को लगाइरहन्छ ।

शंकर दाइ मर्‍यो !

समयभन्दा पनि बलवान् वस्तु ‘रोग’ हो । म स्वीकार गर्छु- मेनिनजाइटिसले शंकर दाइको मृत्युको समयलाई १५/२० वर्ष अघि ल्यायो । मृत्युको त्यो अप्रत्याशित आगमन… मृत्यु एक सय पाइला फड्केर आयो, मृत्युले थाहै नपाई फड्को मार्‍यो !

दुःख छ- शंकर दाइले मृत्यु देख्न पाएन । नत्र ऊ मृत्युलाई प्रयोगको कुन नयाँ शैलीमा ढाल्थ्यो होला !

स्मृति अशेष छन्; तर के मात्र सम्झनु ? शंकर दाइ कति सम्झनु ? ऊ, सायद, त्यो स्मृति हो- जसको कुनै शेष रहँदैन, अशेष, अशेष ।

सीमाहीन विचार– जहाँ  सम्पूर्ण विश्व अट्छ

उत्कट शान्तिको मीठो र

प्रचण्ड मुटु

मानव धर्तीमा एउटा

स्वर्गीय बीज

(महायोगी अरविन्द: सावित्री कविताबाट)

(०३२ माघ २४ गते प्रकाशित गोरखापत्र शनिवासरीय परिशिष्टाङ्कबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment