Comments Add Comment

काभ्रेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिन प्रमाणीकरण सुरु

१४ फागुन, बनेपा । पुनर्निर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ ।

पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय, धुलिखेलले जनाएको छ ।

दोस्रो किस्ता रकम वितरणको निर्देशिका जिल्लामा आएपछि प्रमाणीकरणको काम सुरु गरेका छौँ अब केही दिनपछि वितरण हुन्छ सो कार्यालयका प्रमुख अष्टलाल सुवालले बताए ।

उनले जिल्लामा अहिलेसम्म १४५ जना भूकम्पपीडितको प्रमाणीकरण भएको जानकारी दिँदै १२ जना भूकम्पपीडितले भूकम्प प्रतिरोधी भवन संहिताभन्दा बाहिर रहेर पुनःनिर्माण गरेकाले प्रमाणीकरण गर्न समस्या भएको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेश गरेका लाभग्राहीमध्ये एक हजार ११ जनाले आफैँले घर निर्माण गरेका छन् ।

भूकम्पबाट क्षति भएका घरमध्ये अहिलेसम्म दुई हजार ४७९ घर पुनःनिर्माणको काम सुरु भइसकेको छ । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि रु ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ ।

सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले छ हजार ६३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको रु ५० हजार पाउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment