Comments Add Comment

युरोप सपना: आकाशको फल

मैले खाडी मुलुकहरुमा दस वर्ष गुजारेँ । त्यस क्रममा साउदी, कतार लगायत मुलुकहरुमा कम्प्युटर इञ्जिनियरको रुपमा काम गरेँ । पछिल्लो समय खाडी हुँदै युरोपका गल्लीमा सुनौलो भोलिको खोजीमा भौंतारिरहेको छु । मेरो यो हालतमा आफैं स्तब्ध छु ।

साहुबाट वर्षिने गालीहरुमा मैले परिवारको सुनौलो भविष्य खोजिरहेको छु । तर, वर्तमान यस्तो छ, बाआमाको घर छाउने खरबारीलाई चैतको डढेलोले जलाए झैं अवस्था छ ।

यी सबै कुरा केमिकलले खाएका हातहरु लेख्न मान्दैनन् । लेखे पनि मेरो लिभाइजको पाइन्ट र नाइक सुजसँगै पार्किङमा रोकिएका गाडीका तस्बिरहरु हेरेर मेरो कथामा धेरैले विश्वास पनि नगर्लान् ।

दश वर्षदेखि खाडी मुलुकका ठूला कम्पनीमा काम गरेकोलेले युरोप घुम्नु मेरा लागि नौलो कुरा थिएन । म केही समय घुम्थेँ र फर्किन्थेँ । तर, खाडी मुलुकहरुमा केही वर्षयता तेलको मूल्यमा आएको उतारचढावका कारण मैले काम गर्ने कम्पनीमा राम्रो भविष्य देखिनँ । मेरो सपनाको देश युरोप बन्न पुग्यो ।

खाडी मुलुकमा काम गरिरहँदा अन्तिम समयसम्म पनिमेरो भित्री मनमा थियो, नेपाल नै फर्केर केही गर्ने । तर,सोचाइले अर्कै मोड लियो । सबैलाई पलायन गराएको योतरशब्दले मलाई पनि छाडेन देश फर्कने चाहने मलाई यही तर ले युरोपमा ल्याएर पछारिदियो ।

राजनीतिक अस्थिरता, भ्रष्टाचारले ग्रस्त र समग्र क्षेत्रमा अन्यौल भरिएको नेपाल फर्केर केही गर्न सकूँला भन्ने नै लागेन । खाडीमा छँदै सामाजिक कामहरुमा पनि सक्रिय रहेकोले युरोपमा मेरो सम्बन्ध बलियो थियो । त्यसैले मलाई जीवनमा नयाँ संघर्षसँगै बाँच्ने आधार खोज्न यता डोर्‍यायो ।

फ्रान्स हुँदै बार्सिलोना टेकेपछि सुरु भए मेरो जीवनको नौला कहानी । ती कठिन पलहरु कल्पना गर्दा पनि जिउमा काँडा उम्रिन्छन् ।

युरोपको राम्रो पाटो भनेकै सपनाको सुन्दर संसार रहेछ । त्यस्तै सपना देखेर संघर्ष गर्नेहरुको जीवनबाट प्रेरणा मिल्ने र धेरै सिक्न सकिने रहेछ । उदाहरणका लागि केही एनआरएन अभियन्ताहरुको व्यावसायिक सफलताको कथा नै पर्याप्त छ । मिहिनेत गरे असम्भव के रहेछ र !

तर, एकथरी पात्रहरुको सफल उदाहरण प्रस्तुत गरिरहँदा अर्को अँध्यारो पाटो पनि चर्चा गर्नु आवश्यक हुन्छ । घरबार नै बन्धकी राखेर युरोप छिरेका हजारौं युवाको व्यथा निकै दर्दनाक छ ।

दलाललाई लाखौं रकम बुझाएर केही सय युरोका लागिपोर्चुगलको खेतीमा संघर्ष गरिरहेका नेपालीहरुको व्यथा पढ्दा मन भक्कानिन्छ । बेलायत, डेनमार्क पढ्न आएका विद्यार्थी पढाइ टुङ्गिएर पनि यत्तिकै भौंतारिएको देख्दा अत्यास लाग्छ । बेल्जियम, जर्मनी, नेदरल्याण्डमा लुकिछिपी काम गरेका नेपालीहरुको पीडा सुन्दा पनि भावविह्वल भइन्छ । तर, यति देख्दादेख्दै र सुन्दासुन्दै पनि युरोपमा संघर्षको सामना गर्दै म आफ्नो सफलताको कथा बुन्ने प्रयास गरिरहेको छु ।

म यतै छु, त्यसैले व्यथा पनि यतैको पोख्छु । केही वर्षदेखि आर्थिक मन्दी खेपिरहेको स्पेनमा हामी संघर्षपूर्ण जीवन बिताइरहेका छौं । यहाँको अवैधानिक बसाइ झनै असहज रहेछ ।

सुरुको तीन वर्षको अवधिमा अवैधानिक भएर बस्दा संघर्षका कथाहरु अचाक्ली नै बन्ने रहेछन् । यो अवधिमा दुःख मज्जाले गर, तर एक्लै बाँच भने जस्तै । जतिसुकै मिहिनेत गरे पनि आफ्नो एक्लो जीवन जिउनका लागि मात्र । कमाउने सपना देखेका नेपालीका लागि तीन वर्षको अवधि बिर्सन लायक नै हुन्छ ।

जब अवैधानिकबाट वैधानिक बन्ने प्रक्रियामा पुगिन्छ, झनै ठूलो संकट देखा पर्छ । नेपालबाट युरोप छिर्दाको ऋण आफ्नै ठाउँमा हुन्छ, यता वैधानिक बन्ने प्रक्रियामा दस लाख रुपैयाँसम्मको खर्च लाग्‍छ । धेरै नेपालीले यसरी नै रकम बुझाउँदै रेसिडेन्सी बनाएका छन् । एकाध उदाहरण मात्र पाइन्छ, आफैंले काम गरेको ठाउँबाट कन्ट्राक्ट उपलब्ध भएर नि:शुल्क रुपमा पेपर बनेका । यस्ता भाग्यमानीहरु पनि सीमित संख्यामा छन् ।

अवैधानिक रुपमा तीन वर्षसम्म रहँदा दस लाख रुपैयाँ बचाएर राख्नु त झन् फलामको चिउरा चपाउनु जस्तै हो । पैसा नपुगेपछि उल्टो घरबाट ऋण मगाएर युरोपको कार्ड भिर्नुपर्ने बाध्यता आइपर्छ ।

विडम्बना नै मान्नुपर्छ, नेपाली समुदायका व्यापारीहरु पनि पेपर बनाउने क्रममा कठोर बन्दा रहेछन् । एउटा नेपालीले कन्ट्राक्ट बेच्दा भारतीय  र पाकिस्तानीहरु सरह नै नेपालीहरुसँग रकम असुल्छन् । अझ केही युरो बढी नै माग्लान् । सरकारलाई कर वापत रकम बुझाउनुपर्ने भएकोले रकम लिनु स्वाभाविक नै भए पनि कतिसम्म लिने भन्ने प्रश्न हो ।

कन्ट्राक्ट किन्ने नेपालीलाई यति मात्र गर्व लागोस्, भारतीय र पाकिस्तानीको भन्दा मैले केही सस्तोमा पाएँ । किनकि कन्ट्राक्ट बेच्ने नेपाली थियो ।  तर, यस्तो नेपालीपनकोभावना यहाँ पाइँदैन ।

नेपालीहरु सहयोगी हुन्छन्, समाज सेवामा अग्रसर हुन्छन् भनिन्छ । तर, खादा ओढेर ठूलाठूला भाषण गर्दा मात्र त्यो सेवा भावनाको बयान गर्छन् । एउटा नेपालीलाई परेको बेला व्यवहारमै सहयोग गर्नु पो लाख हुन्छ ।

भर्खर स्पेन छिरेको नेपालीले आफूभन्दा अग्रजबाट यस्तैयस्तै विषयमा अपेक्षा राखेका हुन्छन् । स-साना कुरामा सहयोगको याचना गरेका हुन्छन् । नयाँ आएका नेपालीलाई कसरी पार्देनोमेन्तो (दर्ता) गराउन सकिन्छ, कसरी सस्तो भाडामा दिएर घरमा राख्न सकिन्छ, नयाँ सीप सिकाउने वाभाषा सिकाउने ठाउँमा कसरी पुर्‍याउन सकिन्छ, नयाँ काम कसरी दिलाउन सकिन्छ ? यी सबै कुराको अभाव छन् ।

बरु आज घरमा ल्याएर एउटा कोठामा दुई-तीन जनालाई राख्छु, त्यहीबाट नै घरको भाडा उठाएर दुईचार पैसा फाइदा गर्छु भन्ने मानसिकता देखिन्छ । यो त सहयोग गर्नुभन्दा पनि कमाउनेको भाँडो मात्र हो ।

अब यताका कुरा पनि यहीँ रोकूँ । सपना देखेर आएपछि जीवनलाई संघर्षबाट बदल्ने कोसिस त जारी नै छ । समय अनुसार आफूलाई बदल्न सक्नुपर्ने पाठलाई पनि मजैले सिकेको छु ।

सामान्यतया हामीमध्ये धेरैले युरोप छिरिसकेपछि अब त जीवन सुरक्षित भो भन्ने सोचाइ राख्छौं । अब त सक्किगो नि भनेर ढुक्क हुन्छौं । तर, आज सुन्दा, देख्दा र आफैंले भोगेपछि त्यो सोचाइ शतप्रतिशत गलत हो भन्ने बुझेँ । यही कुरा भन्न यति लेखेँ । अझै पनि ऋणपान गरी लाखौं रकम खर्च गरेर युरोप आउने सपना देखेका नेपाली दाजुभाइहरु हुनुहुन्छ । उहाँहरुलाई विनम्र आग्रह गर्छु, युरोप छिरेर कार्ड बनाएर महल खडा गराउँछु भन्ने सपना देख्नुस् ।

(लेखक हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment