Comments Add Comment

डेढ महिनापछि नेप्से परिसूचक पुनः १३८२ मा, ‘घाटा समायोजनमा लगानीकर्ता’

६ चैत, काठमाडौं । डेढ महिनापछि नेप्से पुनः १३८२ बिन्दुमा आइपुगेको छ । यसबीच ३ पटक १२५० देखि १३०० बिन्दुको न्युनत्तम बिन्दु छुँदै उकालो लाग्ने प्रयासमा रहेको नेप्से आइतबार करिब २५ अंकले बढेर डेढ महिनायताको नयाँ उचाईमा आइपुगेको हो ।

बजार सरोकारवालाहरु नेप्से परिसूचक लामो समयसम्म स्थिर देखिएकोले केही वृद्धिको क्रम देखिएको बताउछन् । ‘अहिले लगानीकर्ताहरुले यसअघिको घाटा समायोजनाको लागि सस्तोमा पाएको सेयर उठाउन थालेकोले पनि बजार बढेको हो,’ ब्रोकर अन्जन पौड्यालले भने । महंगोमा किनेको सेयर पुन: सस्तो भएपछि किनेर कुल खरिद लागत घटाउने एउटा विधिको घाटा समायोजन ।

उनका अनुसार यो क्रममा अहिले कतिपय लगानीकर्ताले बैंकको कर्जा आफैले तिरेर पनि पुनः बजारमा लगानी गर्न थालेका हुन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेश नदेखिएपनि पुरानाले नै खरिददारी बढाइरहेको बुझिएको छ । हुनतः अहिलेपनि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा कर्जा भने लगानी नभएको बजार सरोकारवालाहरु बताउछन् ।

अहिले पनि प्राथमिक बजारमा हकप्रद, एफपीओ आउने क्रम जारी रहेपनि कतिपयले भने प्राथमिक बजारमाभन्दा सेयरको दोस्रो बजारमा बढि नाफा हुने देखिएपनि यता लगानी बढाइरहेको पनि देखिन्छ । बजारले डेढ महिनायता दुई पटकसम्म न्युन बिन्दु छुँदै फकर्दा लगानीकर्ताले कतिपय सेयरमा दुवैपटक सम्म २० प्रतिशत हाराहारीमा मुनाफा पाएको देखिन्थ्यो ।

नेप्सेले यसबीचमा उल्टो हेड एण्ड सोल्जर (उल्टो तर्फ दुई कुम र एक शीर जस्तो देखिने आकृती, यसमा शीरको भाग कुमभन्दा केही तल हुन्छ) आकृतीको समेत निर्माण गरेको छ । नेप्सेको रेखा चित्रमा बनेको यो प्यार्टनले बजार कही समय बढ्न सक्ने संकेत गर्छ ।

यता, बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउँने समय नजिकिदै जाँदा पनि लगानीकर्ताहरु आशावादी देखिएका छन् । बैंकहरुले चालु आव अन्त्य (२०७४ असार)मा नै प्रस्ताव गर्न सकिने बोनस सेयरको मिलान गरेर चुक्ता पुँजी पुर्याएको देखाउन सकिने गरि राष्ट्र बैंकले सहुलियत दिएको छ । यही कारण पनि लगानीकर्ताहरु लाभांशको आशामा रहेका देखिन्छन् । हालैको लघुवित्त सम्मेलनमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले यो अवधिमा पुँजी वृद्धि गर्न नसक्नेलाई बाध्यकारी रुपमा मर्जरमा लैजाने बताएका थिए । यसले पनि सबैबाट लाभाँश पान्छ भन्न सकिने अवस्था भने रहँदैन् । यसबाहेक कतिपयले यसअघि सार्वजनिक गरेको पुँजी वृद्धि योजनाभन्दा अलगै तरिकाबाट पनि पुँजी वृद्धि गरिरहेकाले त्यस योजनामा पूर्ण भर पर्न सकिने अवस्था भने छैन् ।

यद्यपी, कतिपय मर्जरमा जाने दुवै संस्थाले पनि पहिले लाभांश दिने परिपाटी रहेकोले यसबाट भने फाइदा हुन सक्छ । तर संस्था छनौटमा भने ध्यान दिन जरुरी हुन्छ । यसदिन बजारमा ६८ करोड रुपैयाँको कारोबार हुनुले बजारमा फेरी लगानी बढ्न थालेको भने संकेत गर्छ । यसदिन सबै समूहको परिसूचकमा पनि वृद्धि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment