Comments Add Comment

द्वन्द्वपीडितले जेठ ५ गतेसम्म सत्य निरुपण आयोगमा उजुरी दिन पाउने

९ चैत, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगले उजुरी दिन छुटेका द्वन्द्वपीडितहरुलाई उजुरीको मौका दिने भएको छ । अध्यक्ष सुर्यकिरण गुरुङको अनुपस्थितिमा बुधबार बसेको आयोगको बैठकले वैशाख ५ देखि जेठ ४ गतेसम्म छुट उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले आयोगको नयाँ कार्ययोजना पारित गरेको छ । कार्ययोजनामा बैशाख ५ देखि जेठ ४ गतेसम्म छुट उजुरी आह्वान गर्ने, बैशाख १५ सम्म अनुसन्धान टोली गठन र नियुक्ति गरिसक्ने तथा असोजसम्म उजुरीहरुमा प्रारम्भिक अनुसन्धान गर्ने उल्लेख छ ।

आयोगका सदस्यहरुबीचको विवादका कारण गत माघ २० गतेयता आयोगको बैठक बस्न सकेको थिएन । बुधबार ५० औं दिनमा आयोगका अध्यक्ष र सचिवको अनुपस्थितिमा वरिष्ठ सदस्य लिला उदासीको अध्यक्षतामा बैठक बसेको हो ।

१० वर्षे सशस्त्र द्वन्द्वका घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत तथा परिपुरणको सिफारिस गर्न सरकारले दुई वर्ष अघि आयोग गठन गरेको थियो । तर, दुई वर्षे कार्यकाल उजुरी आह्वानमै गुजारेको आयोगको म्याद  गत माघ २७ गते एक वर्ष थप गरेको थियो ।

सदस्यहरुबीच विवादका कारण आयोगका अध्यक्ष गुरुङ कार्यालय आउन छाडेपछि आयोगमा परेका करिब ५८ हजार उजुरी अलपत्र परेका थिए ।

द्वन्द्वकालीन समयका घटनाको सत्य तथ्य छानबिन गर्न उदासिनता देखाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीलाई सामूहिक राजीनामा दिन या काम सुरु गर्न एकहप्ते अल्टिमेटम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment