१४ चैत, काठमाडौं । स्थानीय चुनावको तयारीमा होमिएको नेपाली कांग्रेसमा टिकट कसले दिने भन्ने बहस सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले आ-आफ्नो मत राखिरहेका छन् । तर, बहसमा पार्टी संस्थापन पक्ष (शेरबहादुर देउवा), रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहको धारणा प्रतिबिम्बित हुने गरेको छ ।
७४४ स्थानीय तह बनिसकेको छ । तर, त्यसअनुसार पार्टीको संरचना बनिसकेको छैन ।
यसका साथै कांग्रेसको विधानमा पनि समस्या देखिएको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसको विधानले क्षेत्र र जिल्ला दुबैलाई नगरको टिकट दिने अधिकार दिएको छ । जिल्लामा केन्द्रमा जस्तै पदाधिकारीहरु चयन नहुनुले पनि अर्को समस्या देखिएको छ ।
अब पछि विधान संशोधन गर्ने गरी नयाँ निर्णय गर्नु पर्ने अवस्था आएको छ ।
बैठकमा बोल्ने सभापति शेरबहादुर देउवा पक्षले अब केन्द्रले नै स्थानीय तहको टिकट दिनु पर्ने मत राखेको छ । खासगरी उनीहरुको चासो गाउँपालिका भन्दा पनि नगर, उपमहानगर र महानगरमा देखिएको थियो ।
रामचन्द्र पौडेल समूहले भने मौजुदा समितिहरुलाई नै यो अधिकार दिनु पर्ने मत राखेका छन् । एक नेताका अनुसार उम्मेदवारहरुको नाम सिफारिस कसले गर्छ भन्दा पनि निर्णय कसले गर्ने भन्नेमा फरक मत देखिएको छ ।
सिटौलाको छुट्टै प्रस्ताव
बैठकमा नेता कृष्ण सिटौलाले भने क्षेत्र र जिल्लामा नयाँ संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।
उनले क्षेत्रीय सभापतिको संयोजकत्वमा निकटतम प्रतिद्वन्द्वी, निवर्तमान सभापति, उक्त क्षेत्रका सांसद र केन्द्रीय सदस्यको सिफारिस कमिटी बनाउने प्रस्ताव राखे । साथै जिल्लामा सभापतिको नेतृत्वमा प्रतिद्वन्द्वी, निवर्तमान सभापति, जिल्लाका सांसद र केन्द्रीय सदस्य रहेको अर्को संयन्त्र बन्नेछ ।
यसले नै झण्डै ९० प्रतिशत उम्मेदवार छान्ने र बाँकी केन्द्रले निर्णय गर्ने उनको प्रस्ताव छ । सांसदका लागि तीन जनाको नाम सिफारिस गरेर पठाऊ भन्दा त ८/१० जनाको नाम आउने गरेको स्मरण गर्दै सिटौलाले भने, ‘जिल्लाले मात्र छान्ने भन्यो भने पनि हुँदैन, केन्द्रले मात्र गर्ने भन्यो भने सम्भव छैन ।’
यो पनि पढ्नुहोस्