Comments Add Comment

बेहुलाको अपहरण गरेर जबर्जस्ती बिहे, बेहुली पक्राउ !

१५ जेठ, काठमाडौं । बेहुलालाई अपहरण गरेर उसैसँग जबर्जस्ती बिहे ! बेहुलीको एकतर्फी प्रेमको यो हदले आम सर्बसाधारणलाई आश्चर्यचकित बनाएको छ ।

घटना हो भारत बिहारको मुजफ्फरपुर जिल्लाको । त्यहाँ केटी पक्षले केटालाई अपहरण गरेर जबर्जस्ती बिहे गराइदिएको घटना सार्बजनिक भएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ ।

मुजफ्फरपुरको मैठी गाउँको कुनकुन सिंहको छोरा अभिनवको बिहे गायघाट गाउँको पछियारी टोलका नन्दकिशोर सिंहकी छोरी जुली सिंहसँग हुँदै थियो । यसबीच केटा अपहरण परेको सूचना सार्बजनिक भएपछि प्रहरीले बेहुलीको घरमा छापा मार्‍यो । सो क्रममा बेहुली पक्ष र प्रहरीबीच झडप भयो ।

प्रहरीले बेहुली जुली, उनकी बहिनीसमेत गरी बेहुली पक्षका चार जनालाई पक्राउ गरेको छ । जुली हाल प्रहरीको न्यायिक हिरासतमा छिन् र मुजफ्फरपुर जिल्लाको सदर अस्पतालमा उनको उपचार भइरहेको छ ।

बीबीसीसँग कुराकानी गर्दै जुलीले बिहेको बेला बेहुला पक्षका कोही पनि त्यहाँ उपस्थित नभएको स्वीकार गरेकी छन् । यद्यपी उनले बेहुलालाई अपहरण गरेर बिहे गराएको भन्ने आरोपको भने खण्डन गरेकी छन् ।

उनले भनिन्, ‘बेहुला आफै आफ्नै मर्जीले बिहे गर्न आएका थिए । उनले बिहेपछि आफ्ना घरका सदस्यहरुलाई यो कुराको जानकारी दिनेवाला थिए ।’

जुलीले यो आरोप पनि लगाएकी छन् कि, ‘२५ तारिखको राति प्रहरीले हाम्रो कुनै कुरा सुनेन र निर्ममतापूर्वक हामीलाई कुटपिट पनि गर्‍यो ।’

जुलीका अनुसार उनको बिहे भएको आधा घण्टापछि प्रहरी टोली आइपुगेको थियो तर, कारबाहीको क्रममा महिला प्रहरी थिएनन् ।

गत बिहीबारको यो घटना स्थानीय सन्चारमाध्यमहरुमा निकै चर्चामा छ ।

घटनाबारे मुजफ्फरपुर जिल्लाका वरिष्ठ एसपी विवेक कुमार भन्छन्, ‘प्रहरी अनुसन्धानको क्रममा केटाको अपहरण गरेर जबर्जस्ती बिहे गराएको भन्ने कुरा सही पाइएको छ ।’

उनले भनेका छन् प्रहरी कारबाहीको क्रममा नियन्त्रित तरिकाले बल प्रयोग नगरेकाले गायघाटका थानाका प्रहरी प्रमुखलाई निलम्बित गरिएको छ ।

यसबारे बेहुला पक्षका परिवारका सदस्यहरुको प्रतिक्रिया आएको छैन ।

बिहारमा हरेक वर्ष बिहेको लागि केटाको अपहरण भएका सयौं घटनाहरु सार्बजनिक हुने गर्दछन् । बिहार प्रहरीको तथ्यांक अनुसार सन् २०१६ मा यस्ता तीन हजारभन्दा बढी उजुरी परेका छन् । सन् २०१७ को मार्च महिनामामात्रै यस्ता घटनाका ८३० उजुरी दर्ता भएका छन् ।

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment