Comments Add Comment

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव हुने


५ असार, पोखरा । पोखरामा यस वर्षपनि रोपाइँ महोत्सव हुने भएको छ । पर्यटन परिषदले वर्षेनी आयोजना गर्दै आएको असारे रोपाई महोत्सवलाई यस वर्षपनि निरन्तरता दिने भएको हो ।

‘सबै मौसमका लागि पोखरा’ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले असार १५ गते पोखराको अर्मलामा १४ औं रोपाइँ महोत्सव आयोजना गरिने आयोजक पर्यटन परिषदले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महोत्सव अर्मलाको पक्कीपुल नजिकै ठूलीफाँटस्थित गोविन्दबहाुदर खड्काको ८ रोपनी क्षेत्रफलमा हुने महोत्सवका संयोजक नवराज अधिकारीले जानकारी दिए । महोत्सवमा आन्तरिक ३० हजार र विदेशी पर्यटक ५ सयको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।

महोत्सवमा माछा समात्ने प्रतियोगिता, रस्साकस्सी, हिलोमा महिला, पुरुष, पत्रकार, विदेशी महिला र पुरुष दौड, साउने प्रतियोगिता आयोजना गरिने परिषदका अध्यक्ष केदार शर्माले जानकारी दिए । महोत्सवमा उत्कृष्ट किसानलाई सम्मान गरिने उनले बताए ।

साउने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३ हजार, २ हजार, १ हजार र सान्त्वनालाई ५ सय प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने छ ।

रोपाइँ तथा असारे गीत गाउने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र सान्त्वनालाई १ हजार प्रदान गरिने छ । दौड प्रतियोगितामा विजयी हुनेलाई ट्रफी प्रदान गरिने आयोजक पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए ।

महोत्सव गर्न १४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल पार्न १८ वटा उपसमिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment