+
+
Shares

सैनिक कल्याणकारी कोषमा २५ अर्ब जम्मा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते १५:३०

१३ भदौ, काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा सार मसान्तसम्ममा २५ अर्ब २३ करोड २ लाख रकम रहेको जानकारी दिएको छ ।

विसं २०३२ मा रु एक करोड २४ लाख १ हजारबाट कोषको सञ्चालन सुरु भएको थियो । सैनिक ऐन २०६३ तथा नियमावली २०६५ अनुरुप कोष सञ्चालित रहेको छ । शान्ति सेनामा भाग लिएवापत, बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप गरिएका रकमबाट प्राप्त भएका ब्याज, पेट्रोल पम्पबाट प्राप्त आर्थिक सहयोग, परिवार आवास भाडा, वीरेन्द्र सैनिक अस्पतालबाट विभिन्न शीर्षकमा प्राप्त रकम नै कोषको आयस्रोत रहेको छ ।

कोषका निर्देशक सहायक रथी धनिदास कार्कीले कोषबाट औषधोपचार, शिक्षा, निवृत्तिभरण, आर्थिक सहयोग, परिवार आवासगृह, प्राकृतिक प्रकोप राहत, सैनिक सेवा केन्द्र स्थापनालगायतका कार्यक्रमहरु सञ्चालन भइराखेको जानकारी दिनुभयो । अगामी वर्ष कल्याणकारी सेवा सुविधालाई “नो प्रोफिट नो लस” को अवधारणाबाट सञ्चालन गर्ने नीति लिइएको छ । नीतिलाई कार्यान्वयन गर्न सैनिक कल्याणकारी बोर्ड स्थापना गर्ने योजना अगाडि सारिएको छ । पत्रकार सम्मेलनमा सहायक रथी कार्कीले सेना स्वास्थ्य विज्ञान संस्थानलाई पूर्ण कार्यान्वयनमा ल्याउने, वीरेन्द्र अस्पतालको शय्या बढाउने, शिक्षाको गुणस्तरमा वृद्धि गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कोषबाट आगामी वर्ष प्रशोधित पिउने पानी प्लान्टको स्थापना गर्ने, अक्सिजन प्लान्टको व्यावसायिक उत्पादन सुरु गरी बिक्री वितरण सुरु गर्ने, विकास निर्माणमा प्रयोग हुने विष्फोटक पदार्थ उत्पादन गर्ने वाटर जेल प्लान्ट स्थापनाका लागि कार्य अगाडि बढाउने जानकारी दिइयो ।

बहालवाला तथा अवकाशप्राप्त सैनिकका श्रीमान्/श्रीमतीका लागि वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुन नसक्ने गरी रोग लागेमा प्रतिव्यक्ति १० लाखको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, ७० वर्ष उमेर नाघेका अवकाश प्राप्त सैनिक तथा तिनका श्रीमतीलाई जेष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण कोषको सुरुवात गर्न लागिएको छ । हाल कल्याणकारी कोषद्वारा सञ्चालित सात सैनिक महाविद्यालय र एक सैनिक विद्यालय सञ्चालित रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?