+
+
Shares

जापानी नदीको छालमा यसरी भेटिए नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते १३:०२

१५ भदौ, काठमाडौं । आखिर कहाँ पुगेका छैनन् नेपालीहरु ? जापानका नदीहरुमा तपाई र्‍याफ्टिङ गर्न पुग्नुभयो भने त्यहाँ गाइडका रुपमा तपाईले आफ्नै नेपाली दाजुभाइहरुलाई नदीको छालसँग खेलिरहेको भेट्नुहुनेछ । जापानीहरुले नेपालीलाई र्‍याफ्टिङ पेशाका लागि भरपर्दो विशेषज्ञ मान्ने गरेका छन् ।

जापानमै रहनुभएका आर.आर. पराजुलीले हालै त्यहाँ र्‍याफ्टिङका क्रममा किशोर श्रेष्ठ र मनध्वज गुरुङलाई भेटेपछि यसरी वर्णन गर्नुभएको छ :

‘हेलो, गुड मर्निङ सर, वेलकम, प्लिज फिल आउट दिस र्फम’ सायद मलाई हेर्दा जापानीजस्तो नलागेरै होला (जापानीहरुसँग उनीहरु जापानी भाषामै कुरा गर्दै थिए) विदेशीजस्तै देखिने एक कर्मचारीले मलाई र्फम भर्न दिए, म भर्न लागें, उनी त्यसरी नै अन्यलाई पनि र्फम भराउन लागे । मैले र्फम भरि सकेपछि जब उनलाई दिएँ, अनि हेरेर भने- ‘आर यु फ्रम नेपाल ?’

 र्‍याफ्टिङ थाल्नुअघि जापानीहरुलाई प्रशिक्षण दिँदै किशोर श्रेष्ठ ।
र्‍याफ्टिङ थाल्नुअघि जापानीहरुलाई प्रशिक्षण दिँदै किशोर श्रेष्ठ ।

यो संवाद केही समय पहिले हामी ८ जना साथीहरु क्योटो, जापानको कामोगावा भन्ने नदीमा र्‍याफ्टिङका लागि एउटा कम्पनीमा जाँदाखेरिको हो । मैले म नेपाली हुँ भनें र सोधें- तपाईको चाहिं ? उनले आफु भारतको उत्तराखण्डबाट आएको जानकारी दिएर भने- ‘यहाँ लगभग सबै तपाईजस्तै नेपालीहरु छन्, जसले तपाईलाई र्‍याफ्टिङ गराउने छन् ।’ मेरो मन त्यसै प्रफुल्लित भएर आयो, मैले उनीहरुलाई भेट्न खोजें तत्कालै । तर, उनीहरु बिहानीको खाजा खाँदैछन् भन्ने थाहा भयो ।

त्यहाँ उनीहरुले संयुक्तरुपमा र्‍याफ्टिङको समयमा आउन सक्ने समस्या र त्यसबेला हामीले अपनाउनु पर्ने केही सुरक्षासम्बन्धी टिप्सहरु दिए । र, प्रत्येकलाई आवश्यक सम्पूर्ण सामान लिएर नदीतर्फ लगे । हामी नदी किनारमा पुग्दा र्‍याफ्टिङ बोट लिएर उभिइरहेका मानिसहरु हेर्दा लगभग सबै नेपाली जस्तै देखें, अनि नेपालीमै सोधें- ‘तपाईहरु सञ्चै ?’ उनीहरुले मुखामुख गर्दै एक अर्कालाई हेरे र भने ‘सञ्चै । तपाई पनि नेपाली ? हामीले यहाँ अहिलेसम्म अन्य नेपालीलाई भेटेका थिएनौं, आज धेरै खुशी लाग्यो ।’

 त्यसबेलाको उनीहरुको प्रफुल्लित मुहार हेर्दा म पनि तरंगित भएँ, चेपेकै किनारामा साथीभाइसँगै खेलेका ती दिन सम्झिएँ, अनि भनें- ‘हो, मैले अघि नै थाहा पाएँ, यहाँ नेपालीहरु हुनुहुन्छ भनेर । तपाईहरुलाई देख्दा खुशी लाग्यो, नेपाली नदीमै गएर रमाएको अनुभव हुने भयो ।’

जापानी नदीमा डुंगा चलाउँदै नेपाली
जापानी नदीमा डुंगा चलाउँदै नेपाली

सामान्य कुराकानीपछि हाम्रो यात्रा शुरु गर्नुअघि र्‍याफ्टिङको समयमा ध्यान दिनुपर्ने कुराहरु फेरि भनियो । हाम्रो टोलीमा जापानी साथै अन्य विदेशी साथीहरु पनि थिए । हाम्रो डुंगामा उनै नेपाली बसेका थिए, गाइडका रुपमा । ‘मेरो नाम किशोर श्रेष्ठ, घर सिन्धुपाल्चोक ।’ मैले नाम सोधें- ‘अनि कहिले जापान आउनुभएको ? ‘म जून महिनामा आएको ।’ कति समयका लागि ?’ उत्तर आयो -‘अब अक्टोबरको अन्तिमतिर जाने ।’

मैले उत्सुक हँुदै सोधें- ‘धेरै नेपालीको चाहना हुन्छ जापान आउने यतै लुक्ने, बस्ने, कमाउने आदि… तपाईलाई त्यस्तो लागेको छैन ?’ जवाफ आयो- ‘हामी यहाँ यसरी आउन थालेको १०/१२ बर्ष भयो, म आफु चाहिं सन् २००८ देखि आउन थालेको हुँ, प्रत्येक बर्ष हामी आउछौं, ३ देखि ६ महिनासम्म बस्छौं र फेरि र्फक्छौं, हामी त्यस्तो सोच्दा पनि सोच्दैनौं । हामी नेपालमै पनि रमाउछौं, परिवार र आफ्ना लागि पुग्ने रकम कमाउँछौं । विदेशमा लुकेर केही बढी रकम कमाइ हुन्छ भन्दैमा लुक्न मनले मान्दैन ।’

हुन पनि सानैदेखि नदीमै रमाउँदै आएका, खेलेको ज्यान, जसलाई आज त्यही नदीले नै पालेको छ, नेपालका प्रायःजसो नदीनाला जहाँ र्‍याफ्टिङ गर्न सकिन्छ त्यहाँ नपुगेको ठाउँ सायद नहोला, त्यसको किनारमा हुर्केका रुख र बगरको बालुवामा पसिनाको गन्ध ताजै होला, बिभिन्न देशका हजारौं पर्यटकलाई मनोरञ्जन दिन्छन्, आफु पनि देश बिदेश घुमेका छन् यही सीप लिएर, उनीहरु नदी बाहिर कसरी पो रमाउन सक्दा हुन् र ! यो काम उनीहरुका लागि मात्रै नभएर देशकै अर्थन्त्रसँग पनि जोडिएको छ ।

यो नदी र्‍याफ्टिङ गराउने जति त्यस्तो ठूलो त कहाँ छ र, कतै कतै कृतिम रुपमा बनाइएका स्पिड प्यानलहरुमा केही र्‍याफ्टिङको जस्तो अनुभुति मिल्ने, अन्यत्र त तालमा डुंगा शयर गरेजस्तै, नेपालका भोटेकोशी, त्रिशुली, कर्णालीहरुमा खेल्दै आएकाहरुलाई यो त असाध्यै सामान्य लाग्छ । तैपनि जापानमा खासै त्यस्ता ठाउँ नभएकाले यो सिजनमा यस्तै नदीले नै भरपुर आन्तरिक पर्यटक पाएकै छन् ।

बीच-बीचमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै यो क्रम चलिरहृयो करिब १ घण्टा । यसै क्रममा डुंगामै केही रमाइला अनि पारिवारिक कुराहरु पनि भए ।

छ जनाको परिवारमा उहाँ बाबुआमाका दुई भाइमध्ये कान्छा छोरा हुनुहुँदोरहेछ । नेपालमै छँदा बिभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सीका लागि काम गर्न उनीहरु जापान आउँदा मासिक डेढ लाखदेखि ३ लाखसम्म रुपैयाँ बचत हुँदोरहेछ ।

वर्षायाममा नेपालका नदीनालामा आउने बाढीका कारण व्यवसाय बन्द हुने हुँदा त्यस समयमा यहाँ आएर नेपालको प्रचार र त्यस्तै काम गरेर बित्दोरहेछ ।

सँगै रहेका गोरखाका मनध्जव गुरुङको जीवन पनि उसैगरी चल्दैछ । उहाँहरुको टोली यस ठाउँमा १२ जनाको रहेछ । उहाँका अनुसार जापानभरि करिब ३ सय ५० देखि ५ सयजना नेपाली यसरी नै प्रत्येक बर्ष आउने र जाने गर्छन् । यस हिसाबले हेर्दा जापानको र्‍याफ्टिङ व्यवसाय नेपालीले नै धानिदिएका रहेछन् ।

जापानमात्रै नभएर विश्वका धेरै देशमा नेपाली पर्यटन उद्योगले धेरै सहयोग गरिरहेको रहेछ । यसरी नै, जसले गर्दा आफ्नो व्यवसायका केही कर्मचारीको आर्थिक पाटो मात्रै होइन, पर्यटक बढाउन पनि सहयोग गरेकै छ ।

जापानमा अन्य यस्तै काम गर्न नेपालीहरु आउन चाहेमा कसरी आउन सक्छन् त ? यस्तो प्रश्न गर्दा उहाँले भन्नुभयो- ‘त्यस्ता कुनै एजेन्सीहरु छैनन् यहाँ नितान्त व्यक्तिगत सम्बन्धका आधारमा आउने हो, नेपाल गएका पर्यटकहरुले आफ्नो देशमा आफूलाई पनि यस्तै मानिस चाहियो भन्छन्, अनि उनीहरुसँगकै सम्पर्कका आधारमा शुरु हुन्छ विदेश यात्रा । अहिले जापानमा र्‍याफ्टिङ पेशामा धेरै नेपालीहरु आउन थालिसकेकाले अब चाहि नेपालीहरुकै व्यक्तिगत सम्पर्कले पनि मद्दत गर्न सक्छ । यस्तै कुराहरु गर्दै जापानी नदीमा नेपाली र्‍याफ्टिङ गरेर फेरि छिट्टै नै नेपालको कुनै नदीमा संगै र्‍याफ्टिङ गरौंला भन्दै छुट्टएिँ ।

नेपालको पर्यटन व्यवसाय वास्तवमै नेपालको आर्थिक मेरुदण्डको रुपमा छ । नेपालीहरु विदेश पुग्नासाथ शरणार्थी बन्नसमेत ज्यान फालेर लाग्छन् भन्ने सोच हाम्रो समाजमा छ । तर, विदेशमा केही समय बसेर यही क्षेत्रमा रमाउँदै देशको पर्यटन विकासमा टेवा दिने किशोर र मनध्वजहरुको जस्तै कथा बोक्ने सबै नेपाली दाजुभाइहरुलाई हार्दिक धन्यबाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?