२० भदौ, पोखरा । दोस्रो विश्वयुद्धका योद्धा क्याप्टेन बखानसिंह दुराको ९९ वर्षको उमेरमा पोखरामा निधन भएको छ । उहाँ तत्कालीन बि्रटिस इन्डियाको तर्फबाट बर्मा, इटली, मलेशियालगायतका मुलुकहरूमा दोस्रो विश्वयुद्धमा सहभागी हुनुभएको थियो ।
सैनिक सेवाबाट निवृत्त भएपछि क्याप्टेन बखानसिंह दुरा समाजसेवामा होम्मिनुभयो । दुरा सेवा समाजका संरक्षकसमेत रहनुभएका उहाँ विसं ०२५ सालमा लमजुङ तत्कालीन रत्नदेवी गाउँ पञ्चायतको कार्यवहाक प्रधानपञ्च बनेर समाजसेवामा संलग्न हुनुभएको थियो । उहाँ स्वच्छ छवि भएको निस्वार्थी समाजसेवीको रूपमा परिचित हुनुहुन्थ्यो ।
शाहवंशीय राजसंस्था स्थापना भएको ऐतिहासिकस्थल सिंदुरे ढुङ्गाको उत्थान तथा विकास एवम् त्यहाँस्थित फूटबल मैदान निर्माणमा क्याप्टेन बखानसिंह दुराको महत्वपूर्ण भूमिका रहेको थियो ।
लमजुङ जिल्ला सिंदुरे गाविस-५, भाँगु, दुराडाँडा घर भएका क्याप्टेन बखानसिंह दुरा कमजोर स्वास्थ्यका कारण श्रीमती तथा छोरी-बुहारीका साथमा विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा बस्दै आउनुभएको थियो ।
दुरा समुदायको छाता संगठन दुरा सेवा समाजले उहाँको निधनमा गहिरो शोक प्रकट गर्दै उहाँको आत्मको चिरशान्तिको कामना गरेको जनाएको छ ।
प्रतिक्रिया 4