+
+

बर्डफ्लूले किसानको ७ अर्ब नोक्सानी

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते ५:२८

२३ भदौ, चितवन । राजधानीलगायत देशका विभिन्न क्षेत्रमा देखिएको बर्डफ्लूका कारण व्यवसायीले सात अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नु परेको बताएका छन् ।

bird-flu

जसका कारण ठूला साना हजारौं व्यवसायी व्यवसायबाटै हात धुने अवस्थामा पुगेका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशतको योगदान पुर्‍याउँदै आएको पोल्ट्री क्षेत्रमा यस वर्ष पुगेको क्षतिले देशको अर्थतन्त्रमा ठूलै धक्का लागेको उहाँहरूको भनाइ छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार यसवर्ष नेपालमा देखिएको बर्डफ्लू अघिल्ला वर्षको भन्दा फरक छ । यसवर्ष बर्डफ्लूले महामारीको रुप लिएका कारण क्षति ठूलो भएको श्रेष्ठले बताउनुभयो ।

अकस्मात् रुपमा देखापरेको यो रोग नियन्त्रणका लागि सरकारले उपयुक्त प्रयास गर्ननसकेको व्यवसायीको गुनासो छ ।

बर्डफ्लूको महामारीले कृषकले वर्षौं लगाएर गरेको मेहनत खेरगएको अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी बताउनुहुन्छ ।

उहाँले बर्डफ्लूका कारण नेपालको पोल्ट्री व्यवसाय ४० वर्ष पछाडिको अवस्थामा पुगेको बताउनुभयो । बर्डफ्लूका कारण कुखुरा मारेर भएको क्षति भन्दा सयौँ गुणा बढी यसको हल्लाका कारण उपभोगमा कमी आउँदा भएको अध्यक्ष केसीको भनाइ छ ।

“सर्वसाधारणमा कुखुराको मासु खानै हुँदैन भन्ने सन्देश अत्यन्तै नराम्रो ढङ्गले प्रवाह भएको छ,” उहाँले भन्नुभयो-“हामी केही दिन अघिसम्म राम्रोसँग पकाएर खाँदा केही असर गर्दैन भनेर हिंड्यौँ, अहिले बर्डफ्लू नियन्त्रणमा आइसक्यो ढुक्कसँग खाँदा फरक पर्दैन भनेर हिंडिरहेका छौँ, तर पनि हाम्रो कुरामा सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् ।”

व्यवसायी मञ्चले बर्डफ्लूका कारण यसवर्ष देसभरमा सात अर्बको क्षति भएको अनुमान गरेको छ । चितवनमा मात्रै एक अर्ब भन्दा बढीको क्षति भएको मञ्चले जनाएको छ ।

देशभरमा १८० पटकभन्दा बढी बर्डफ्लू फैलिएको छ । नियन्त्रण गर्ने क्रममा करिब ६ लाख पंक्षी, १० लाखभन्दा बढी अण्डा, करिब एक लाख किलो दाना नष्ट गरिएको मञ्चको तथ्याङ्कमा उल्लेख छ ।

त्यसबापत सरकारले सात करोड ८२ लाख ४६ हजार ६ सय ८७ क्षतिपूर्ति सम्बन्धित कृषकलाई उपलब्ध गराएको मञ्चले जनाएको छ ।

चितवनमा दुई जनामा बर्डफ्लूको आशङ्का गरिएको हल्लाले देशभर कुखुराको कारोबार प्रभावित बनेको नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष शङ्कर कँडेलले बताउनुभयो ।

दैनिक १५ देखि २० टन कुखुरा र आठ हजार पेटीभन्दा बढी अण्डा चितवनबाट मात्रै राजधानी निर्यात हुँदै आएकोमा हाल ठप्प हुँदा बाहिरको उत्पादनले बजार पाउन नसकेको अध्यक्ष कँडेलले बताउनुभयो ।

चार हजार पेटीको हाराहारीमा त्रिशुली हँुदै राजधानी बाहिरबाट काठमाण्डौं अण्डा भित्रिएपनि मासु भने ठप्प भएको उहाँले बताउनुभयो ।

पोल्ट्री व्यवसायी मञ्चका अनुसार नेपालमा पोल्ट्री क्षेत्रमा ५० अर्ब बढी लगानी छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाले २५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

कुल लगानीको ५० प्रतिशत चितवनमा छ । चितवनको पोल्ट्री क्षेत्रमा २५ अर्ब लगानी रहेकोमा बैंक तथा वित्तीय संस्थाको मात्र करिब रु चार अर्ब लगानी छ । चितवनमा बोइलर चल्ला एक अर्ब ५६ करोड, लेयर्स चल्ला एक अर्ब ४५ करोड, अण्डा दुई अर्ब चार करोड, मासु एक अर्ब ४६ करोड र दाना तीन अर्ब २८ करोड गरी वाषिर्क रुपमा करिब १० अर्बको कारोबार हुने गरेको तथ्याङ्क कुखुरा व्यवसायी मञ्चसँग छ ।

तर, यस वर्षको बर्डफ्लूुले वाषिर्क कारोबारको यो तथ्याङ्कमा गम्भीर धक्का लाग्ने पोल्ट्री व्यवसायीसमेत रहनुभएका उद्योग वाणिज्यसङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो ।

उहाँले यसको असर देशको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा पर्ने भन्दै राज्यले समयमै राहतका प्याकेज ल्याउन नसके व्यवसाय धारासायी हुने बताउनुभयो ।

नेपाल हृयाचरी उद्योगसङ्घ चितवनका अध्यक्ष ऋषि पौडेलले पछिल्लो समय चितवनलगायतका जिल्लाको उत्पादन राजधानी भित्रिन नपाउँदा थप नोक्सानी भएको बताउनुभयो ।

चितवनमा उत्पादन भएका कुखुराजन्य वस्तुको ६० प्रतिशत बजार काठमाडौँ उपत्यका हो । तर, काठमाडौँ उपत्यकामा कुखुरा निषेध गरिँदा संवेदनशील बस्तु बिगि्रन थालेका छन् । मुख्य बजारनै समस्यामा परेपछि व्यवसायी उत्पादित बस्तुस्टक राख्न बाध्य भएका छन् ।

“धेरै समय स्टक राख्दा बिग्रने समस्या हुन्छ” मञ्चका पूर्व अध्यक्ष एवम् उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराइले भन्नुभयो- “अण्डा, चल्लालगायतका संवेदनशील बस्तुसमेत स्टक राख्न कृषक बाध्य छन् ।

केही कृषकले भने सस्तो मूल्यमा भारत पठाउने गरेका मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीले पछिल्लोपटक मन्त्रीपरिषद्का अध्यक्षलाई भेट गरी पुर्नस्थापना प्याकेज ल्याउन आग्रह गरेको बताएका छन् । सरकारले समयमै व्यवसायीलाई सम्बोधन गर्नसके सुधार हुने नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेल बताउनुहुन्छ ।

व्यवसायीले हालको व्याज मिनाहा, र सहुलियत दरमा थप ऋणको व्यवस्था गर्नसके आत्मनिर्भर पोल्ट्री व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन सकिने बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?