Comments Add Comment

अमेरिकी डलर भन्दै छाडा कागजको पोको दिएर ठगी

गोपाल दाहाल

२४ भदौ, धरान । ठगी गर्ने नटवरलालका हजार दाऊ हुन्छन् । धनकुटाका दुई युवालाई धरानमा बोलाएर आइतबार दुईजना ठगले अमेरिकी डलर भन्दै छाडा कुरा एवं व्यंग्यात्मक उखान लेखिएको कागजको पोको थमाएर करिब ४ लाख रुपैयाँ चप्काएका छन् ।

आइतबार दिउँसो धरान १४ स्थित हात्तीसार छेउमा ३ लाख ७० हजार नगद, सुनको औंठी र मोबाइलसँग डलर भनेर साटिएको पोकोमा कागजमात्रै भेटिएपछि धनकुटा बजारका तेजबहादुर थापा र योगेन्द्र राईले ठगहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय धरानको शरणमा पुगेका छन् । उनीहरुले डलर भनेर लिएको पोको खोलेर हेर्दा कापीका पानाहरुमात्रै थिए, जसमा अशुद्ध रुपमा लेखिएको थियो- ‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी ।’

Dublicate-dollar

धनकुटा नगरपालिकाका कर्मचारी थापा र राई डलर साटेर २ लाख कमाउने लोभमा धरान झरेका थिए । धनकुटामा होटल सावेद एण्ड लज सञ्चालन गर्ने थापाका अनुसार होटलमा बस्न आएका एक युवकले केही समयअघि उनको भिजिटिङ कार्ड लिएर गएका थिए । सोही आधारमा उनले फोन गरेर आफूसँग १७ हजार अमेरिकी डलर रहेको तर साट्न अप्ठ्यारो भएको भन्दै अनुरोध गरेर लोभ देखाएको थापाले बताए ।

पीडित थापा भन्छन्- ‘यो साट्दा १२ लाख हुन्छ, हामीलाई १० लाख दिनु २ लाख तपाईलाई नाफा भनेपछि हामी लोभियौं ।’ लोभमा परेपछि उनीहरुले धरान आएर होटलमा बोलाए । तर, ठगहरुले हात्तीसारमा आउन आग्रह गरे ।

हात्तीसार पुगेर थापा र राईले उनीहरुलाई पैसा, औंठी र मोबाईलसमेत दिएर बाँकी पैसा डलर साटेर एक घण्टापछि दिने सहमति गरी फर्किए । थापा र र राईले उनीहरुका सामु पोको खोलेनन् । तर, अलि तल आएपछि पोको खोलेर हेर्दा अमेरिकी डलर भनिएको पोकोमा त पैसाजस्तै पारेर राखिएका कागजका टुक्रामात्रै पो रहेछन् ।कागजमात्रै भए त हुन्थ्यो, त्यसमा व्यंग्य गर्दै चोक्टा खान आएको, झोलमा डुबेर मरिस् भन्ने व्यंग्यसमेत लेखिएको ‘तँलाई ……. को डलर’ भन्ने अश्लील वाक्य लेखिएको भेटेपछि डलर साटेर पैसा कमाउने दाऊमा धरान आएका थापा र राई छाँगाबाट खसेजस्तै भए ।

राई भन्छन्- ‘तीन मिनेटमै ठगिएको थाहा पायौं, तर उनीहरु भागिसकेका थिए । ‘ पैसा ठग्नेहरुलाई फोन गर्दा ‘दाइ तपाईको भाग्य यस्तै रहेछ’ भनेर जिस्क्याउने गरेको थापा बताउँछन् । साँझमा फोन गर्दा ठगले दाइ तपाई जस्ता धेरै मान्छे हामीलाई चाहिएको छ, धन्यवाद म सप्तरी पुगिसकें भनेको थापाले बताए ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी टेकबहादुर तामाङका अनुसार ठगहरुको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment