Comments Add Comment

आफ्नै सरकारसँग डराउँछन् इराकमा बस्ने नेपाली

१० असार, काठमाडौं । इराकमा अभर परेका नेपालीहरुलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले चासो देखाउँदै टोल फ्री नम्बर सार्वजनिक गरेको छ । पीडितको फोन रिसिभ गर्न १६६००१००१८६ नम्बरमा मन्त्रालयले राजु केसी र सुरेशकुमार यादव नाम गरेका दुईजना कर्मचारीसमेत खटाएको छ । तर, यादव र केसीलाई कसैले पनि इराकमा रहेका नेपालीको यथार्थ विवरण टिपाउन मानेका छैनन् ।

इराकमा काम गर्ने नेपालीको बैधानिकता नभएकाले मन्त्रालयमा ती व्यक्तिबारे जानकारी दिँदा कतै नेपाल सरकारले नै उनीहरुलाई अवैधानिक भन्दै अध्यागमनमै समात्ने त होइन ? यही डरले गर्दा इराकमा रहेका नेपालीका आफन्तहरुले आफ्नो परिवारका सदस्यको विवरण परारष्ट्रलाई दिन हिच्किचाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘टोल फ्री नम्बरमा फोन गरेर आफन्तहरुले इराकको स्थितिबारे मात्रै सोध्छन्, तर आफ्नो मान्छे इराकको कुन ठाउँमा काम गर्दैछ भन्ने विवरण चाहिँ टिपाउन मान्दैनन्’ परराष्ट्रका एक कर्मचारीले अनलाइनखबरसँग भने- ‘इराकमा इलिगल बसेको हुनाले नेपाल सरकारलाई सबै विवरण बुझाउँदा पछि अध्यागमनले समात्ने उनीहरुलाई डर लागेको हुन सक्छ ।’

नेपाली युवाहरुको रोजगारीको महत्वपूर्ण गन्तव्य बनेको इराकमा नेपाल सरकारले बैधानिकता नदिँदा र त्यहाँ नेपाली दूतावाससमेत नहुँदा यो अवस्था आएको हो । तर, अवैधानिक, वैधानिक जुनसुकै अवस्थामा बसेका भए पनि त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएकाले इल्लिगल बसेकै भए पनि समयमै आफ्ना परिवारका सदस्यहरुको सही विवरण मन्त्रालयमा टिपाउन डर मान्नु नपर्ने परराष्ट्रका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस्

इराकको टिक्रिट शहरमा पाँच नेपाली संकटमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment