Comments Add Comment

शुक्लाफाँटामा खुल्यो एक करोड लगानीमा जंगल कटेज

SuklaPhata-Jungle-Cottege-2
नविन अर्याल/भरतबन्धु थापा

२० असार, शुक्लाफाँटा (कञ्चनपुर) । सुदूरपरिश्चममा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पहिलोपटक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । तीन विगाहा क्षेत्रफलमा फैलिएको ‘शुक्लाफाँटा जंगल कटेज’ करिव एक करोड लगानीमा सञ्चालनमा आएको हो ।

शुक्लाफाँटा राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएपनि अहिलेसम्म होटल तथा रिसोर्ट खुलेका थिएनन् । शु्क्लाफाँटाकोे मुख्य प्रवेशद्धार नजीकै रहेको यस रिसोर्टले त्यहाँ पुग्ने पर्यटकहरुलाई सेवा पुर्‍याउने अपेक्षा गरिएको छ । वर्षेनी हजरौं स्वदेशी तथा विदेशी पर्यटक शुक्लाफाँटा बन्यजन्तु आरक्ष घुम्न पुग्ने गर्छन् ।

आरक्षको जग्गा २० वर्षका लागि लिजमा लिएर परमानन्द भण्डारी र हेमराज जोशीले रिसोर्ट सञ्चालन गरेका हुन् । रिसोर्ट करिव एक महिना अगाडीदेखि सञ्चालनमा आइसकेको छ । ‘पर्यटकको आकर्षणका रुपमा रहेको शुक्लाफाँटामा अहिलेसम्म खाने बस्न होटलहरु थिएनन्, यहाँ घुम्न आउने पर्यटक खान बस्नका लागि महेन्द्रनगर फर्किनुपथ्र्यौ’ सञ्चालक भण्डारीले भने- ‘यहि अवसरलाई सदुपयोग गर्दै रिसोर्ट सञ्चालन गरेका हौं ।’

शुक्लाफाँटाको सबैभन्दा ठूलो आकर्षण दुर्लभ हुँदै गइरहेको १२ सिंगे जनावर अवलोकन गर्न पाउनु हो । एउटै हुलमा हजार/बाह्र सय १२ सिंगेको हुल शुक्लाफाँटामा देखिने भण्डारीले अनलाइनखबरसँग बताए । यति धेरै संख्यामा देखिने १२ सिंगेको हुल एशियामै शुक्लाफाँटामा मात्र हो । साथै, शुक्लाफाँटा एशियाकै सबैभन्दा ठूलो घाँसे मैदान भएको ठाउँ पनि हो । त्यहाँ बाघ, भालु, अजिंगर, गोडी, हात्ती लगायतका जनाबरहरु समेत हेर्न पाइन्छ ।

‘होम स्टे’ टाइपमा रहेको शुक्लाफाँटा जंगल कटेजमा १० वटा रुमहरु रहेका छन् । जसमध्ये ३ वटा एसी र ७ वटा ननएसी रुम हुन् । रिसोर्टमा सय जना क्षमताको सेमिनार हलसमेत रहेको छ । सुदूरपश्चिम क्षेत्रमा पुग्ने एनजिओ र आइएनजीलाई लक्षित गरि सेमिनार हल निर्माण गरिएको सञ्चालक भण्डारीको भनाई छ ।

रिसोर्टमा पुग्नको लागि महेन्द्रनगरबाट ५ किलोमिटर र धनगढीबाट ५५ किलोमिटरको बाटो तय गर्नुपर्छ । जंगलको छेउमा शान्त र रमणिय स्थानमा रहेको रिसोर्ट एकान्त प्रेमीहरुका लागि उत्कृष्ट रहेको भण्डारीले बताए ।

10154515_1412692802345896_8831296699585104800_n

‘स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हौं’ भण्डारीले भने- ‘हाम्रा मूख्य ग्राहक भनेका नेपाली र भारतीय पर्यटक नै हुन् । शुक्लाफाँटामा भारतको राजधानी नयाँ दिल्ली, हरिद्धार, बद्रीकेदार, उत्तराखण्डको नैनी तालबाट पर्यटक भित्राउन सकिने सम्भावना रहेको छ । त्यहाँबाट नयाँ दिल्ली ३ सय किलोमिटरको दुरीमा रहेको छ ।

रिसोर्ट सञ्चालनमा आएपछि शुक्लाफाँटामा पर्यटकको संख्या बढ्ने सञ्चालकहरुको दाबी छ । ‘पहिला खाने बस्ने सुविधा थिएन, पर्यटक आउन हिचकिचाउँथे’ भण्डारीले भने- ‘अब यहाँ आउने पर्यटकहरुले ढुक्कसँग शान्त र रमणिय वातावरणमा खान बस्न पाउनेछन् ।’ उनले अब भारतीय बजारमा प्रचार-प्रसार गरेर भारतीय पर्यटक शुक्लाफाँटामा तान्ने बताए ।

शुक्लाफाँटा घुम्न जाने पर्यटकहरुलाई लक्षित गरेर प्याकेज समेत बनाइएको छ । ‘वान नाइट टु डेज’ प्याकेजमा पर्यटकहरुले ४ हजार तिरेर एसी रुममा र ३५ सय तिरेर ननएसी रुममा खान बस्न पाउनेछन् । होटलमा एसी रुमको २ हजार र ननएसी रुमको १२ सय रुपैयाँ तोकिएको छ । शुक्लाफाँटा महाकाली नदिसँग जोडिएको क्षेत्र हो । रिसोर्टबाट ५ किलोमिटरको दुरीमा एशियाकै सबैभन्दा लामो झोलङ्गे पुल चाँदनी दोधारा पुग्न सकिन्छ । यो पुलको लम्बाई १ हजार ४ सय ९८ मिटर लामो छ ।

रिसोर्टले धार्मीक पर्यटकहरुलाई प्याकेज बनाएर घुमाउने जनाएको छ । नेपालीहरुलाई विभिन्न प्याकेजहरु बनाएर भारतको हरिद्धार, नैनीताल, बद्री केदार दर्शन गराउन लैजाने सञ्चालक भण्डारीले बताए । रिसोर्टले छिट्टै स्वीमिङ पुल समेत बनाउने जनाएको छ ।

यसका साथै रिसोर्टमा पुग्ने पर्यटकहरुलाई जीपबाट शुक्लाफाँटा शिकार आरक्षको भ्रमण, फिसिङ, हात्ती सफारी, हाइकिङ गराउने बताइएको छ । शुक्लाफाँटा चरन क्षेत्र रिसोर्टबाट २४ किलोमिटरको दुरीमा पर्ने भएकाले १२ सिंगे र बाघ हेर्नका लागि जीपबाट जानुपर्ने भण्डारीको भनाई छ ।

suklaphata-ka-barasinga-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment