Comments Add Comment

खाद्यन्न उत्पादन ९ प्रतिशत बढ्यो, ३० जिल्लामा अझै अपुग

नविन अर्याल

६ साउन, काठमाडौं । मनसुनले साथ दिएपछि खाद्यन्न उत्पादनमा उत्साहजक वृद्धि भएको छ । कृषि विकास मन्त्रालले आर्थिक वर्ष २०७०/७१ ९५ लाख ६२ हजार ७ सय १८ मेट्रिक टन खाद्यन्न उत्पादन भएको अनुमान गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.४३ प्रतिशत अर्थात ८ लाख २४ हजार ३ सय ३६ मेट्रिक टनले बढी हो ।

यस अवधिमा धान ५० लाख ४७ हजार,  मकै २२ लाख ८३ हजार, कोदो ३ लाख ४ हजार गहुँ १८ लाख ८३ हजार, जौं ३४ हजार र फापर १० हजार मेट्रिक टन उत्पादन भएको अनुमान मन्त्रालयको छ । कुल उत्पादन ९५ लाख ६२ हजार मेट्रिक टन भएपनि उपभोग्य परिमाण भने भने ६० लाख ८५ हजार ७ सय ७६ मेट्रिक टन रहेको अनुमान गरिएको छ ।

उत्पादन भएको सबै खाद्यन्न उपभोगका लागि उपलब्ध हुँदैन । केही परिमाण विउका लागि छुट्टाउनुपर्ने हुन्छ भने केही परिमाण प्रशोधन अगाडी र पछाडी नोक्सान हुन्छ, केही परिमाण भुषमा जान्छ भने गाईंभैंसीका लागि पनि छुट्टाउनुपर्ने हुन्छ ।

Food Deficit districts_2(2)

३० जिल्लामा खाद्यन्न अपुग

गत आ.ब.मा आन्तरिक खाद्यान्न उत्पादनबाट आवश्यकता परिपूर्ति हुन नसकेका जिल्लाहरु ३३ रहेका थिए भने यस वर्ष पूर्वाञ्चलका उच्च पहाडी जिल्ला आन्तरिक खाद्यान्न आत्मनिर्भर छ भने पहाडी जिल्लामा धनकुटा र उदयपुर त्यस्तै तराईका सप्तरी र सिराहा जिल्लामा आन्तरिक उत्पादनबाट उपभोग्य खाद्यान्न आपूर्ति हुन नसकेको प्रारम्भिक अनुमान छ ।

उत्पादन वृद्धि भएपछि समीक्षा वर्षमा खाद्यन्न अभाव हुने जिल्लाहरु घटेका छन् । अघिल्लो आर्थिक वर्षमा ३३ जिल्लाहरुमा उपभोग्य खाद्यन्न अभाव रहेको थियो भने यस वर्ष ३० जिल्लाहरुमा मात्र उपभोग्य खाद्यन्न अभाव रहेको अनुमान गरिएको छ । यस वर्ष पूर्वाञ्चलका उच्च पहाडी जिल्लाहरु आन्तरिक खाद्यान्नमा आत्मनिर्भर भएका छन् ।

पूर्वाञ्चलमा धनकुटा, उदयपुर, सप्तरी, सिराहा जिल्लाहरुमा आन्तरिक उत्पादनबाट उपभोग्य खाद्यान्न आपूर्ति हुन नसकेको अनुमान छ । त्यस्तै, मध्यमाञ्चलका दोलखा, रसुवा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर, महोत्तरी, सर्लाही, रौटहट र चितवनमा आन्तरिक उत्पादन अपुग भएको मन्त्रालयले बताएको छ ।

प्रमुख बालीको क्षेत्रगत उत्पादन, अावश्यकता र बचत (मेट्रिक टनमा)

क्षेत्र चामल मकै कोदो फापर गहुँ जाैं अवश्यकता बचत
पूर्वाञ्चल ७७९७६२ ४६८५०७ ७३१५१ २१८९ १९७१९४ ४७७ १११७१७८ ४०४१०२
मध्यमाञ्चल ७२२२३७ ४२५३९३ ५६०७१ १४३५ ४६४१३८ ७३२ १९८०३०२ -३१०२९५
पश्चिमाञ्चल ६६७८४१ ४५५७९९ ८४६९० २८३५ २८२१९७ १२१९ ९७२६३२ ५२१९४९
मध्य पश्चिम ३७००११ १७५४३७ २१८२४ १८८५ २९३६६५ ४७९७ ७२२८५३ १४४७६६
सुदूर पश्चिम २६८३१० ३२३७१ १३७५५ १११ २१५२८७ २४५६ ५०२९२१ २९३६९
नेपालभरी २८०८१६० १५५७५०७ २४९४९२ ८४५५ १४५२४८२ ९६८० ५२९५८८६ ७८९८९०

पश्चिमाञ्चलका उच्च पहाडी जिल्लामा मनाङ र मुस्ताङ दुवैमा खाद्यन्न उत्पादन न्यून देखिएका छन् । मध्यपश्चिमाञ्चलको उच्च पहाडका चार जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा खाद्यान्न न्यून देखिएको छ भने मुगु जिल्ला खाद्यान्नमा आत्म निर्भर रहेको देखिएको छ । पहाडी जिल्लाहरु रोल्पा, जाजरकोट र प्यूठान जिल्लामा  खाद्यान्न न्यून रहेको अवस्था छ ।

प्रारम्भिक अनुमानमा सुदूरपश्चिमका ३ वटै उच्च पहाडी जिल्लाहरु खाद्यान्न न्यून देखिएको छ भने पहाडी जिल्लामा डोटी बाहेक अछाम, वैतडी र डडेलधुरा जिल्लामा खाद्यान्न न्यून रहेको देखिएको छ ।

प्रतिव्यक्ति कति खाद्यन्न आवश्यक ?

चामल, मकै, कोदो, फापर, गहुँ र जौंको उत्पादन विभिन्न क्षेत्रमा फरक-फरक हुने गर्छ । यी वस्तुहरुमा क्यालोरी पनि फरक फरक हुने हुँदा बेग्ला-बेग्लै क्यालोरीको हिसाव गर्दा भौगोलिक क्षेत्रअनुसार भारित अंकको आधारमा उच्च पहाडमा १९१ किलो, पहाडमा २०१ किलो र तराईमा १८१ किलो उपभोग्य खाद्यन्न प्रतिवर्ष प्रतिव्यक्तिलाई आवश्यकता पर्ने अनुमान मन्त्रालयको छ ।

तीन अार्थिक वर्षमा उपभोग्य खाद्यन्नकाे उत्पादन, अावश्यकता र बचत (मेट्रिक टनमा)

अार्थिक वर्ष उपभोग्य उत्पादन अावश्यकता बचत
२०६८/०६९ ६०,२०,२९५ ५०, ७७,१३४ ९,४३,१६१
२०६९/०७० ५६,४८,२६५ ५२,३९,८२३ ४,०८,४४२
२०७०/०७१ ६०,८५,७७६ ५२,९५,८८६ ७,८९,८९०

यस तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षमा मध्यावधिक जनसंख्या २ करोड ७८ लाख ३६ हजार पुगेको अनुमानमा ५२ लाख ९५ हजार ८ सय ८६ मेट्रिक टन खाद्यन्न आवश्यक परेको प्रारम्भिक अनुमान छ । सो अवधिमा ७ लाख ७९ हजार ८ सय ९० मेट्रिक टन खाद्यन्न बचत रहन पुगेकेा छ ।

आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७७ हजार मेट्रिक टन खाद्यन्न आवश्यकता परेकोमा ६० लाख २० हजार उपभोग्य खाद्यन्न उत्पादन भई ९ लाख ४३ हजार मेट्रिक टन वचत भएको थियो । त्यस्तै, २०६९/७० मा ५२ लाख ४० हजार मेट्रिक टन खाद्यान्न आवश्यक परेकोमा ५६ लाख ४८ हजार मेट्रिक टन उपभोग्य खाद्यन्न उत्पादन भई ४ लाख ८ हजार मेट्रिक टन बचत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment