Comments Add Comment

कमल थापाको नेतृत्व अब कता ?

लोक कार्की

राप्रपा नेपाल चौथो शक्ति भएयता विद्यमान राजनीतिक तरंगको विपरीत ध्रुवबाट उठेको सो दलको चर्चा शिखरमा पुगेको थियो । अब बन्ने संविधानमा राप्रपा नेपालले उठाएको मुद्दा थोरबहुत रुपमा भए पनि समावेश हुनैपर्नेदेखि लिएर राप्रपा नेपाल नयाँ शक्ति बन्न सक्छ कि भन्ने अड्कलबाजीको आरम्भ भएको थियो ।

संविधानसभामा चौथो ठूलो राजनीतिक दलको रुपमा राप्रपा नेपालको उदय हुनुका पछाडि आधारहरु थिए । अविचलित निष्ठा, राजनीतिक अडान र सैद्धान्तिक इमान्दारिता राप्रपा नेपालको सबैभन्दा दर्बिलो पक्ष हो, यसबाट समर्थक, सुभेच्छुकको मात्र नभएर प्रतिपक्षीको समेत सम्मान राप्रपा नेपाललाई प्राप्त भयो ।

Kamal-thapa-1यसबाहेक पहिलो संविधानसभाबाट संविधान नबन्नु नै राप्रपा नेपालको लागि संजीवनी बुटी सावित भयो । किनभने ०६४ सालमा गठन भएको संविधानसभाले नयाँ संविधान बनाउँदो हो त राप्रपा नेपालको विपरीत धारको मुद्दा धुमिल हुने थियो । स्वभाविकरुपमा त्यसैले मुलुकको विकसित घटनाक्रम, राजनीतिक अकर्मण्यता र दिशाहीनता राप्रपा नेपालका लागि फलदायी सावित भयो ।

प्रमुख दलहरुबाट नयाँ संविधान, नयाँ नेपालको जुन आशा गरिएको थियो, त्यो पूरा नहँुदा जनताबाट विकल्पको खोजी हुन थाल्यो । राप्रपा नेपालले ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ काठमाडौंमा पाएको अप्रत्याशित मत त्यसै आकर्षण र चाहनाको नतिजा थियो, किनभने मतदानको ट्रेन्ड हेर्ने हो भने काठमाडौंका मतदाताले नेगेटिभ भोटिङमा उत्रने सक्ने संभावना राख्दै आएका छन् । यही कारण पनि राप्रपा नेपालले समानुपातिकतर्फ काठमाडौंमा पहिलो नम्बरको मत हात पार्‍यो । काठमाडौ जिल्ला त उदाहरण मात्र हो, यो पार्टीले काठमाडौंमा जस्तै सचेत मतदाता भएका निर्वाचन क्षेत्रहरुमा बढी मत पाएको थियो । ललितपुर जिल्लामा देशभरिकै तुलनामा सबैभन्दा धेरै मत प्राप्त भएको थियो ।

यस्ता संभावनालाई दृष्टिगत गर्दा रणनीतिक एवं कार्यनीतिक तालमेल मिलेको भए राप्रपा नेपालले अझ धेरै सफलता प्राप्त गर्न सक्ने अवस्था थियो । यद्यपि गल्ती कमजोरी नेतृत्व तहबाटै भयो । एक सीट पनि प्रत्यक्ष नजित्नु पार्टीको लागि अभिशाप भयो । जबकि राप्रपा र नेमकिपाजस्ता दलले प्रत्यक्षमा पनि सीट जिते ।

थापाकै जिल्लामा दुर्दशा

अध्यक्ष कमल थापाकै गृहजिल्लामा समष्टिमा राम्रो नतिजा हात लागेन जसपछाडि निश्चित कारणहरु थिए । पहिलो कुरा, तामाङ बाहुल्य रहेको क्षेत्रमा धर्मपरिवर्तन विरोधी र हिन्दु पक्षपाती नाराले सफलता पाउने सवालै थिएन ।

तर, मकवानपुरमा कम मत प्राप्त हुनुमा त्यो मात्र कारण थिएन । जगजाहेर छ, ०६४ सालको संविधानसभा निर्वाचनमा जस्तै मकवानपुर १ र काठमाडौं ५ बाट थापा उम्मेद्वार बन्ने चर्चा थियो र कार्यकर्ता पंक्तिबीच त्यसैअनुरुप तयारी अघि बढेको थियो । निर्वाचनको मिति नजिकिँदै जँादा कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा कमल थापाका लागि भोट माग्दै मकवानपुरका गाउँगाउँ पसिसकेका थिए । राप्रपा नेपालले शीर्षस्थ नेतृत्वपंक्ति प्रत्यक्ष निर्वाचन लड्नुपर्छ भन्ने निर्णयहरु गरेका कारण अध्यक्ष थापा लगायतका नेताहरु चुनाव लड्छन् भन्ने कुरामा समर्थक, कार्यकर्ताहरु विश्वस्त थिए ।

जब थापाले अन्तिम समयमा आएर चुनाव नलड्ने बरु समानुपातिकमा सुरक्षित बस्ने र मकवानपुरमा पत्नीलाई टिकट दिने अप्रत्यासित निर्णय गरे, त्यसलाई कार्यकर्ताले निको मानेनन् । यसले पार्टी पंक्तिमा शिथिलता एवम् नैराश्यता निम्त्यायो ।

जोश नभएका कार्यकर्ता कुनै पनि निर्वाचन अभियानका लागि अभिशाप हुन्छ । यसबाहेक मकवानपुर १ बाट अध्यक्षकी धर्मपत्नी प्रलिता थापालाई चुनावमा उतार्ने जब निश्चित भयो, त्यसबाट सकारात्मक सन्देश प्रवाह भएन ।

मकवानपुर १ मा अरुलाई टिकट दिएको भए राजनीतिक निर्णय हुन्थ्यो । कार्यकर्तालाई विश्वास गरे उपयुक्त हुन्थ्यो । फलस्वरुप समानुपातिकको सुची तयार भएपछि सबैभन्दा पहिले मकवानपुरमै पार्टी अफिस तोडफोड र विरोध भयो ।

पद्मसुन्दर लावती र केशरबहादुर विष्टले समानुपातिक सीटको ग्यारेन्टी छँदाछँदै प्रत्यक्ष चुनाव लडेर राजनीतिक इमान्दारिता प्रदर्शन गरे । तर, अध्यक्ष स्वयमले चुनाव नलडेका कारण अन्य नेता कार्यकर्तालाई समानुपातिकको सजिलो बाटो तय गर्न बाटो खुल्यो, जसको प्रत्यक्ष असर देशव्यापीरुपमा चुनावी अभियान र चुनावी नतिजामा परेको थियो । प्रत्यक्षतर्फको प्रदर्शन फितलो रहृयो ।

समानुपातिकमा गडबडी

चुनावमा मात्रै होइन, २४ सभासद छान्ने क्रममा पनि राप्रपा नेपाल नेतृत्वपंक्ति चुक्यो । विवादको असर अझै साम्य भएको छैन । आर्थिक सौदाबाजी र सभासद सीट किनबेचको लाञ्छनाबाट मुक्त हुन सकेन । पुरानाले सभासद नपाएर नवप्रवेशी र व्यापारीलाई छानियो भन्ने आरोप लाग्यो ।

महाधिवशेनमा अर्को कमजोरी

महाधिवेशनमा पनि कमजोरीहरु देखा परे । महाधिवेशनको कुनै पनि सन्दर्भमा संस्थापकमध्येका नेता पूर्वअध्यक्ष रवीन्द्रनाथ शर्माको स्मरण र सम्मान गर्न राप्रपा नेपालले आवश्यक ठानेन । यस्तो गल्ती चौथो शक्ति भएको दललाई शोभा दिँदैनथ्यो ।

कमल थापा नजरबन्दमा रहेका बेला र प्रत्यक्ष राजनीतिबाट टाढा रहेको बखतमा सम्पूर्ण जोखिम मोलेर रवीन्द्र दौडाहामा निस्केका थिए । जसक्रममा पोखरा, काठमाडौं र बिर्तामोडमा उनी भौतिक आक्रमणको तारो बनेका थिए । त्यस्तो जोखिम त्यसपछिका अध्यक्षले व्यहोर्न परेको छैन । अवस्था केही सहज भएपछि कमल थापाले नेतृत्व सम्हालेका हुन् ।

थापाको नेतृत्वमा चुनौती

पार्टीको जिम्मेवारी आफूले लिएपछि थापा जुन गति दिन सफल भए, त्यसको सफलतामा धेरै टिक्न सक्छन् कि सक्दैनन् भन्ने चुनौति खडा भएको छ । राप्रपा नेपालको मूल शक्ति उसको अविचलित राजनीतिक निष्ठा र सैद्धान्तिक निरन्तरतामा अडेको छ । तर, महाधिवेशनपछि अध्यक्ष थापाले संवैधानिक राजतन्त्रको पुरानो अडानको स्थानमा गणतन्त्र पक्षधरजस्तै बेबी किङ र आलंकारिक राजतन्त्रको वकालत गरे, जसको चर्चा गिरिजाप्रसाद कोइरालाबाट भएको इतिहास छ ।
मोदीले पारेको ओझेल
पछिल्लो समय राप्रपा नेपालले नेतृत्व बढी महत्व दिएको हिन्दु राष्ट्रको मुद्दा पनि नरेन्द्र मोदीको भ्रमणपछि ओझेलमा परेको हो कि जस्तो सन्दर्भ छ । त्यसैले राप्रपा नेपालले अब विरासत त्याग्छ कि कुन दिशा ताक्छ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment